वीरगञ्ज । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योग प्रतिष्ठानमा नेपाल विद्युत् प्राधिकरणले गरिरहेको अघोषित लोडशेडिङ र पटकपकटको विद्युत् कटौतीले उद्योगहरूको उत्पादन प्रभावित भएको उद्यमीले बताएका छन् । सरकारले प्राधिकरणको कार्यकारी निर्देशबाट कुलमान घिसिङलाई हटाएलगत्तै केही दिन सुधारिएको आपूर्ति पुनः समस्याग्रस्त भएको उद्यमीले बताएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघले शनिवार विज्ञप्ति निकालेर विद्युत् कटौतीका कारण उत्पादनमा प्रतिकूल असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित औद्योगिक फिडरमा २४ घण्टामा १४–१५ पटकसम्म ट्रिपिङ भइरहेको कारण औद्योगिक उपकरण बिग्रिनुका साथै कच्चापदार्थ नोक्सान भइरहेको उद्योगीले बताएका छन् ।
संघका अध्यक्ष हरि गौतमले उद्योग क्षेत्रमा दैनिक १५ पटकभन्दा बढी विद्युत् ट्रिपिङ भइरहेको बताए । ‘उद्योग प्रतिष्ठानहरूको अक्सिजनकै रूपमा रहेको विद्युत्को नियमित आपूर्ति हुन नसकेकाले कोरिडोरका उद्योगहरू आफ्नो निश्चित क्षमताभन्दा धेरै कममा सञ्चालन भइरहेका छन्,’ उनले भने ।
नेपाल विद्युत् प्राधिकरणले २०७५ सालमा घोषणा गरेको लोडशेडिङमुक्त औद्योगिक क्षेत्र र उज्यालो नेपालको नाराबाट उत्साहित भएका उद्योगी, व्यवसायी तथा सर्वसाधारण पछिल्ला दिनमा बढ्दो विद्युत् कटौती र गुणस्तरीय विद्युत् आपूर्तिको अभावको कारण समस्यामा परेको संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले बताए । उद्योगहरूको उपकरण र कच्चापदार्थ बिग्रिनुका साथै उत्पादन प्रक्रियामा समेत नकारात्मक असर परिरहेको उद्यमीले बताएका छन् ।
पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगहरूले विभिन्न समस्या खेपिरहेकै बखत विद्युत् कटौतीको समस्या झेल्नुपर्दा उद्योगीहरू मर्कामा परेको एक उद्योगीले बताए । ‘विद्युत् कटौतीको बेला डिजी सेटबाट उद्योग सञ्चालन गर्नुपर्दा उत्पादन लागत बढेर उद्योगहरूले प्रतिस्पर्धी क्षमता गुमाउँदै गएका छन् । त्यस्तै साना उद्योगहरूले विद्युत् कटौतीको बेला डिजी सञ्चालन गर्न सक्ने अवस्था नभएकाले उद्योग नै बन्द राख्नुपर्ने अवस्था छ,’ संघको विज्ञप्तिमा भनिएको छ ।
समस्याको समाधानका लागि लोडशेडिङको निश्चित समयावधि नै तोकेर बाँकी समयमा गुणस्तरीय विद्युत् आपूर्ति गर्नुपर्ने माग संघले गरेको छ । हिउँद मौसममा प्रत्येक वर्ष विद्युत् आपूर्तिमा समस्या आइरहेकाले यसको दीर्घकालीन समाधानका लागि आग्रह गरिएको छ ।