काठमाडौं । धितोपत्र दोस्रो बजारमा वाणिज्य क्षेत्रका १९ कम्पनी सूचीकृत रहेका छन् ।
बैंक तथा वित्तीय क्षेत्रका कम्पनीहरूमध्ये वाणिज्य समूहका कम्पनीको शेयर मूल्यमा आउने उतारचढावले समग्र बजारलाई बढी प्रभाव पार्ने गरेको देखिन्छ । पूँजीका हिसाबमा बलिया मानिने वाणिज्य बैंक समूहका कम्पनीहरूको २०८१ सालमा एक कम्पनीबाहेक सबैको शेयर मूल्य वृद्धि भएको देखिन्छ ।
२०८० चैत मसान्तसम्मको शेयर मूल्यसँग २०८१ चैत मसान्तसम्मको शेयर मूल्य तुलना गर्दा एनआईसी एशिया बैंकको प्रतिकित्ता १९ रुपैयाँ ५० पैसाले शेयर मूल्य घटेको देखिन्छ भने अन्य १८ कम्पनीको शेयर मूल्य बढेको देखिन्छ । २०८० चैत मसान्तसम्म प्रतिकित्ता ३९५ रुपैयाँ रहेको एनआईसी एशिया बैंकको शेयर मूल्य २०८१ चैत मसान्तसम्ममा प्रतिकित्ता ३७५ रुपैयाँ ५० पैसा कायम भएको हो ।
यो वर्ष नेपाल एसबिआई बैंकको शेयर मूल्य प्रतिकित्ता १३६ रुपैयाँ ५० पैसाले सर्वाधिक बढेको छ । २०८० चैत मसान्तसम्म प्रतिकित्ता २८४ रुपैयाँ ५० पैसा रहेको नेपाल एसबिआई बैंकको शेयर मूल्य २०८१ चैत मसान्तसम्म प्रतिकित्ता ४२१ रुपैयाँ कायम भएको हो ।
मूल्यका हिसाबमा हेर्ने हो भने ५०० रुपैयाँभन्दा बढी मूल्य भएका वाणिज्य बैंकहरू दुईओटा मात्र छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिकित्ता ६२९ रुपैयाँ १० पैसा र एभरेष्ट बैंकको प्रतिकित्ता ६०६ रुपैयाँ ३० पैसा शेयर मूल्य कायम भएको छ । त्यस्तै ४०० रुपैयाँभन्दा बढी मूल्य भएको कम्पनी दुई ओटा र ३०० रुपैयाँभन्दा माथि शेयर मूल्य भएका कम्पनी पनि दुईओटा नै छन् । ४०० रुपैयाँभन्दा बढी मूल्य हुने कम्पनीहरूमा नबिल बैक र नेपाल एसबिआई बैंक छन् भने ३०० रुपैयाँभन्दा बढी मूल्य भएका कम्पनीहरूमा भने एनआईसी एशिया बैंक र सानिमा बैंक छन् ।
नबिल बैंकको शेयर मूल्य प्रतिकित्ता ४८७ रुपैयाँ १० पैसा र नेपाल एसबिआई बैंकको शेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ कायम भएको हो । यीबाहेक बाँकी वाणिज्य बैंकहरूको शेयर मूल्य भने ३०० रुपैयाँभन्दा तल र २०० रुपैयाँभन्दा माथि छ ।
२०८१ सालको अन्तिम दिन र २०८१ सालको अन्तिम दिनको नेप्से परिसूचक तुलना गर्ने हो भने यो वर्ष बजार ३१ दशमलव ४० प्रतिशत उकालो लागेको देखिन्छ । नेप्सेका अनुसार २०८० चैत मसान्तमा नेप्से परिसूचक २ हजार २५ दशमलव ७० विन्दुमा बन्द भएको थियो भने २०८१ चैत मसान्तसम्म नेप्से परिसूचक २ हजार ६६२ दशमलव शून्य ८ विन्दुमा बन्द भएको हो । बढेको बजारमा यो वर्ष वाणिज्य बैंकका लगानीकर्ताको सम्पत्ति मूल्य पनि बढेको हो ।
कम्पनीको नाम | २०८१ चैत मसान्तसम्मको शेयर मूल्य रु. | २०८० चैत मसान्तसम्मको शेयर मूल्य रु. | फरक मूल्य रु |
नेपाल एसबिआई बैंक | 421 | 284.5 | 136.5 |
स्ट्यान्डर्ड चार्टर्ड बैंक | 629.1 | 524.9 | 104.2 |
एभरेष्ट बैंक | 606.3 | 505 | 101.3 |
एनएमबि बैंक | 251 | 177.1 | 73.9 |
कृषि विकास बैंक | 298 | 227 | 71 |
कुमारी बैंक | 205.7 | 137.7 | 68 |
लक्ष्मी सन्राइज बैंक | 218 | 152.2 | 65.8 |
प्रभु बैंक | 207.2 | 142 | 65.2 |
सानिमा बैंक | 301 | 237.9 | 63.1 |
सिद्धार्थ बैंक | 284.5 | 224 | 60.5 |
प्राइम कमर्सियल बैंक | 249.4 | 190 | 59.4 |
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक | 211.1 | 156.2 | 54.9 |
सिटिजन्स बैंक | 210 | 159 | 51 |
माछापुच्छ्रे बैंक | 226 | 175.1 | 50.9 |
नबिल बैंक | 487.1 | 438 | 49.1 |
हिमालयन बैंक | 230 | 184 | 46 |
नेपाल बैंक | 250 | 212.5 | 37.5 |
ग्लोबल आइएमई बैंक | 218.6 | 182 | 36.6 |
एनआईसी एशिया बैंक | 375.5 | 395 | -19.5 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)