काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित गुण्डुमा ६ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा ६० ओटा भिल्ला रिसोर्टसहितको अन्तर्राष्ट्रिय ब्रान्डेड पाँचतारे होटल बन्ने भएको छ ।
गैरआवासीय नेपाली शेष घलेसँगै अमृतरत्न शाक्य लगायतको लगानीमा रिसोर्टसहितको होटल बन्न लागेको हो । उक्त रिसोर्टमा घलेको अष्ट्रेलियास्थित एस एण्ड जेजी होल्डिङ्स र शाक्यको क्वालिटी इम्प्लिेमेन्टिङ एक्सपर्ट्स ग्रुप (आईईजी)को संयुक्त लगानी रहने छ ।
एस एण्ड जेजी होल्डिङ्समा शेषसँगै जमुना घलेको पनि लगानी छ । यस्तै, आईईजीमा अमृतरत्नसँगै सुवर्ण कृष्ण श्रेष्ठको पनि लगानी रहेको स्वनिगः रिसोर्ट प्रालिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
टाइम शेयर मोडलमा निर्माण गरिन लागिएको उक्त परियोजनामा ६० ओटा भिल्ला रिसोर्टसहितको अन्तर्राष्ट्रिय ब्रान्डेड पाँचतारे होटल रहने छ । उक्त परियोजना सन् २०२७ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको विज्ञप्तिमा उल्लेख छ ।
पाइलट बाबाको आश्रम छेउमा बन्न लागेको उक्त रिसोर्ट परम्परागत शिल्पकौशल, कला, संस्कृति झल्काइने गरी बनाइने बताइएको छ । रिसोर्टमार्फत स्थानीय समुदायको उत्थान गरी स्थानीय सम्पदाको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
रिसोर्ट स्वदेशीसँगै विदेशी पर्यटकका लागि लक्षित गरि बनाइएको विज्ञप्तिमा उल्लेख छ ।
उक्त रिसोर्टमा लगानी रहेको एस एण्ड जेजी होल्डिङ्सले आफ्नो भगिनी कम्पनी एमआईटी ग्रुप होल्डिङ्समार्फत काठमाडौंको कान्तिपथमा पाँचतारे होटल निर्माण गरिरहेको छ, जुन यसै वर्षको अन्त्यमा आउने अपेक्षा गरिएको छ । यस्तै, आईईजीले समीट होटल, एयरपोर्ट होटललगायतमा लगानी गरेको छ ।
यसैबीच, स्वनिगः रिसोर्ट प्रालिले आज गुण्डुमा भूमि पूजासमेत गरेको छ ।