काठमाडौं। एउटा भ्रष्टाचार मुद्दामा दोषी ठहरिएको १ हप्तापछि सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि विशेष अदालतबाट दोषी ठहरिएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र रीतेन्द्र थापाको इजलाशले सोमवार पौडेललाई वर्तमान संवैधानिक र कानूनी व्यवस्थाविपरीत उक्त पदमा नियुक्ति लिएकोमा दोषी ठहर गरेको हो । उनलाई जम्मा १ वर्ष कैद र १० हजार जरीवानाको सजाय भएको विशेष अदालतले बताएको छ ।
नेपालको संविधानको धारा २५१ उपधारा १ मा भनिएको छ– यस संविधानमा अन्यन्त्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएको नेपाली नागरिक यस संविधानबमोजिम निर्वाचन मनोनयन वा नियुक्ति हुने कुनै पदमा निर्वाचित, मनोनीत वा नियुक्तिका लागि योग्य हुँदैनन् । त्यसैगरी सार्वजनकि निकायको पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयसम्बन्धी मापदण्ड २०७३ मा पनि विदेशको स्थायी आवासीय अनुमतिपत्र लिएका सार्वजनिक पदमा नियुक्त हुन योग्य नहुने व्यवस्था गरिएको छ । तर, पौडेल अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र वाहक भए पनि उक्त पदको योग्यता ढाँटी जानीजानी त्यस पदमा बहाल भई कार्यरत भएबाट भ्रष्टाचार निवारण ऐन २०५९ का दफा १६ को उपदफा १ बमोजिम कसुरजन्य कार्य गरेको देखिएको भनी उनलाई दोषी ठहर गरेको हो ।
यसअघि गत मंगलवार सुरक्षण मुद्रण केन्द्रमा अर्को भ्रष्टाचार काण्डमा उनलाई २ वर्ष कैद र २५ करोड ४७ लाख बिगो र त्यति नै जरीवाना असुल्ने फैसला भएको थियो ।