काठमाडौं । अन्य देशमा निर्यात गर्दा मूल्य धेरै पाउने भए पनि नेपालको अधिकांश अर्थोडक्स चिया भारतमै निर्यात हुने गरेको छ । जसका कारण तेस्रो मुलकमा निर्यातबाट पाइने आर्थिक लाभ नेपालले उठाउन सकेको देखिँदैन ।
नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार अग्र्यानिक सर्टिफाइड चियामध्ये ६३ प्रतिशत भारत निर्यात हुने गरेको छ भने २२ प्रतिशत भारतबाहेक तेस्रो मुलुक र १५ दशमलव ४३ प्रतिशत स्वदेशमै खपत हुने गरेको छ । कोशी प्रदेशका २१ ओटा यस्ता उद्योगमा सर्वेक्षण गरी यो तथ्यांक निकालिएको राष्ट्र बैंकले बताएको छ । सोही प्रदेशमा अग्र्यानिक अनसर्टिफाइड चिया उत्पादन गर्ने ६९ उद्योगको विश्लेषण गरी आन्तरिक र बाह्य बजार अंश पनि निकालिएको छ । तर, यस्तो चिया उत्पादनको ८९ प्रतिशत निर्यात हुने गरेको प्रतिवेदनमा उल्लेख गरे पनि भारत र अन्य देशमा कतिकति बजार छ स्पष्ट पारिएको छैन ।
कोशी प्रदेशमा अर्थोडक्स चियाले पुर्याएको योगदान सम्बन्धमा गरिएको यो अध्ययनले आर्थिक वर्ष (आव) २०७९/८० मा भएको विक्रीलाई आधार मानेको छ ।
भारतमा अत्यधिक निर्यात भए पनि त्यहाँ यस्तो चियाको मूल्य सबैभन्दा कम छ । अध्ययन प्रतिवेदनअनुसार यस्तो चियाको बजार मूल्य भारतमा प्रतिकिलो औसत ५८४ रुपैयाँ ८० पैसा छ, जबकि तेस्रो मुलुकमा औसत प्रतिकिलो १ हजार ४३२ रुपैयाँ १० पैसा मूल्य छ । नेपालमै पनि प्रतिकिलो औसत ९४१ रुपैयाँ ६० पैसा मूल्य छ ।
सबै खाले चियाको औसत हिसाब गर्दा र भारतमा प्रतिकेजी निर्यात मूल्य २८१ रुपैयाँ मात्रै छ । तर, रुसमा प्रतिकेजी निर्यात मूल्य ५३८ छ । त्यसैगरी नेदरल्यान्ड्समा प्रतिकेजी १ हजार ३९६, जर्मनीमा १ हजार ५४१ र अमेरिकामा १ हजार ८१ रुपैयाँ छ । तर पनि नेपाली चियाको बजार भारत केन्द्रित छ ।
उच्च मूल्य प्राप्त हुने तेस्रो देशमा निर्यात विविधीकरण गर्न सकेको देखिँदैन । अर्थोडक्स र सीटीसी दुवै चियाको बजार अंश हेर्दा पनि भारतले ९५ प्रतिशत हिस्सा ओगट्ने अध्ययनमा देखाइएको छ । यसो हुनुमा गुणस्तर प्रमाणीकरण र मार्केटिङ अभाव मुख्य कारण रहेको चिया व्यवसायी चिरन दाहाल बताउँछन् । उनका अनुसार नेपालले आफ्नो चियाको छुट्टै अन्तरराष्ट्रिय ब्रान्ड स्थापित गर्न नसक्दा भारतबाहेकका मुलुकमा निर्यातका लागि पहुँच बढाउनै सकेको छैन ।
राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालको सबै खाले चिया निर्यातको अवस्था हेर्दा सन् २०२२ मा भारतमा ९५ दशमलव २ प्रतिशत निर्यात भएको छ भने अमेरिकामा शून्य दशमलव ४ प्रतिशत मात्रै निर्यात गर्न सकेको छ । जबकि अमेरिका पाकिस्तानपछि दोस्रो धेरै चिया आयात गर्ने देश हो । अध्ययन प्रतिवेदनअनुसार पाकिस्तानले सन् २०२३ मा ५९ करोड २२ लाख अमेरिकी डलर बराबर र अमेरिकाले ५१ करोड ९८ लाख अमेरिकी डलर बराबरको चिया आयात गरेको थियो । दुबई (संयुक्त अरब इमिरेट्स), रूस, बेलायत, इजिप्ट, जर्मनी, इराक, हङकङ, मोरोक्को आदि देशहरू विश्वमा धेरै चिया आयात गर्नेअन्तर्गत पर्छन् । सोही वर्ष नेपालको कुल चिया निर्यातको २ दशमलव १ प्रतिशत अंश रूसले ओगटेको छ भने शून्य दशमलव ४ प्रतिशत निर्यातको अंश जर्मनीले ओगटेको देखिएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता डा. दीपक खनालका अनुसार तेस्रो मुलुकमा चिया निर्यात गर्दा ती मुलुकले स्वास्थ्य परीक्षण रिपोर्ट खोज्छन् । त्यसका लागि नेपालले अझै पर्याप्त मात्रामा काम गर्न सकेको छैन । नेपाली चिया बजारमा भारतको एकाधिकार तोड्न नेपालले चिनियाँ बजारमा निर्यात गर्न खोजे पनि सफल हुन नसकेको उनले बताए ।
अहिले चीन सरकारको जनरल एडमिनिस्ट्रेशन अफ चाइना कस्टम (जीएसीसी) ले आयात गर्नुपर्ने वस्तुको सूचीमा नेपाली चिया पनि राखेको छ । तर, आयात गर्न आयातकर्ताले चीन सरकारसँग अनुमतिपत्र लिनुपर्ने हुन्छ । उक्त अनुमतिपत्र प्राप्त गर्न निकै झन्झटिलो भएका कारण समस्या छ । यसका लागि कूटनीतिक पहल हुनुपर्ने खनालको भनाइ छ । नेपाली चिया भारतका स्थानीय बजारमा विक्री हुने र सोही चियालाई भारतीय व्यापारीले आफ्नै ब्रान्डका रूपमा तेस्रो मुलुकमा निर्यात गर्ने गरेकाले यसले नेपाली चिया बजारलाई नराम्रो असर गरिरहेको सरोकारवाला बताउँछन् ।
चिया व्यवसायी दाहालका अनुसार तेस्रो मुलुकमा नेपाली चियाले आफ्नो बजार पर्याप्त मात्रामा विस्तार गर्न नसक्दा चिया उत्पादक किसान र व्यवसायीले उचित मूल्य पाउन सकेका छैनन् । भारतीय बजारमा भन्दा नेपाली चियाको मूल्य रूस, नेदरल्यान्ड्स, जर्मनी, अमेरिका लगायत देशमा धेरै भएको राष्ट्र बैंकको अध्ययनले पनि देखाएको छ । ‘नेपाली चिया भारत निर्यात हुँदा नेपाली व्यवसायीले भुक्तानी छिटो पाउँछन् । यस्तो अवस्थामा सामान्यतया १५ दिनभित्र किसानले भुक्तानी पाउँछन् । तर, अन्य देशमा बेच्दा भुक्तानी पाउन लामो समय पर्खिनुपर्ने हुन्छ,’ दाहालले भने । ‘मुख्य कुरा त नेपाली चिया तेस्रो मुलुकमा निर्यातका लागि सरकारले नै नीतिगत प्रयास गरेको छैन ।’