काठमाडौं । विपद् पूर्वतयारीलाई मजबुत बनाउन सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
‘द ब्याम्बो सिरिज’को छैटौं इभेन्टमा ‘विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका लागि संस्थागत सामाजिक उत्तरदायित्व : नेपालमा विपद् जोखिम न्यूनीकरणमा निजी क्षेत्रलाई संलग्न गराउने अवसर’ विषयक छलफलमा सरोकारवालाले उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुसाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लीलाधर अधिकारी, त्रिभुवन विश्वविद्यालयका सामाजिक उत्तरदायित्व विज्ञ तथा अनुसन्धाता डा. बलराम चापागाईं, चौधरी फाउन्डेसनकी चिफ अपरेटिङ अफिसर मेरिना रञ्जित, डीसीए नेपालका कन्ट्री डाइरेक्टर डा. सम्झना विष्ट र नेपाल बिजनेस इनिसिएटिभ (एनबीआई)का अध्यक्ष कुशकुमार जोशी वक्ताका रूपमा रहेका थिए ।
सामाजिक उत्तरदायित्व विज्ञ डा. चापागाईंले व्यवसायले आफ्ना भ्यालु चेनमा सरोकारवालाप्रति जवाफदेही हुनुपर्ने र दिगो अभ्यासलाई आफ्नो मोडेल, उत्पादन र सेवामा एकीकृत गर्नुपर्नेमा जोड दिए ।
चौधरी फाउन्डेसनकी रञ्जितले नेपालको कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशत रहेको र ८० प्रतिशतभन्दा बढी श्रमशक्तिलाई रोजगारी दिएको उल्लेख गर्दै विपद् सचेतनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइन् ।
गृह मन्त्रालयका सहसचिव भुसालले छात्रवृत्तिलगायत कमजोर समुदायलाई सहयोग गर्न व्यवसायीलाई आग्रह गरे । उनले विपद्को समयमा सरकारले भन्दा निजी क्षेत्रले बढी काम गर्ने भएकाले सामाजिक उत्तरदायित्व परोपकारभन्दा माथि उठ्नुपर्नेमा जोड दिए ।
एनबीआई नेपालका अध्यक्ष जोशीले विपद् प्रतिकार्यमा निजी क्षेत्रको लगानीको जवाफदेहीताबारे चिन्ता व्यक्त गर्दै कोष वितरणको प्रभावकारिता र पारदर्शितामाथि प्रश्न उठाएका थिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लीलाधर अधिकारीले विपद् पूर्वतयारीलाई मजबुत बनाउन सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य हुनुपर्नेमा जोड दिँदै आपूर्ति शृङ्खलाको लचिलोपन, अग्रगामी कार्य र समुदायस्तरको पूर्वतयारीको महत्वमा जोड दिए ।
उक्त कार्यक्रम नेट कन्सोर्टियम (राष्ट्रिय विपद् जोखिम न्यूनीकरण केन्द्र (एनडिआरसी) नेपाल, इन्टरप्राइज फर म्यानेजमेन्ट, इकोनोमिक रिफर्म एण्ड जेन्डर इक्वेलिटी (इमर्ज) र ट्यान्जेन्ट वेभ्स)ले आयोजना गरेको हो ।