करीब २ महीनाअघि झापाको बिर्तामोडस्थित एक बैंकको शाखा कार्यालयमा एक जना ग्राहकले आफ्नो १ करोड १० लाख ४३ हजार रुपैयाँ बैंकले ठगी गरेको बेहोरा सार्वजनिक गरेको समाचार सञ्चार माध्यमहरूमा पनि व्याप्त भयो । पछि बैंकले अन्तरिक छानबिन गरी ठगी भएको भनिएको रकम आधिकारिक रूपमा बैंकमा जम्मा नभएको, जम्मा गरिएको भनी पेश गरिएको भौचर पनि नक्कली रहेको तथा मुद्दती निक्षेपको प्रमाणपत्र तथा मौज्दातको प्रमाणपत्रसमेत बैंकले आधिकारिक नभएको बतायो । ग्राहक र बैंक जसको कुरा सत्य भए पनि आखिर त्यहाँ ठगी–कर्म भने भएको नै मान्न सकिन्छ ।
अहिले देशैभरि सहकारी ठगीका समस्या उजागर भएका छन् । कतिपय सहकारी परिस्थितिवश संकटमा परेका छन् भने कतिपयमा भने सञ्चालकहरूको ठगीको शिकार भएर संकटग्रस्त भएका छन् । यसरी सहकारीमा ठगी गर्नेहरूमध्ये कतिपय अहिले कारागारमा छन्, कतिपय धरौटीमा छुटेका छन्, कतिपय विदेश पलायन भएका छन् त कतिपय छानबिनको दायरामा छन् ।
कुनै पनि प्रकारको ठगी गर्नका लागि अवसर, दबाब तथा औचित्य पुष्टिजस्ता तीनओटा मनोवैज्ञानिक तत्त्वले प्रेरित गरिरहेको हुन्छ भनिन्छ । यसलाई ‘ठगीको त्रिभुज’ पनि भनिन्छ । विश्वभर हुने ठगीका घटना यही ‘त्रिभुज’ को सेरोफेरोमा भएको देखिन्छ ।
हालै मात्र प्रहरीका उच्च पदस्थ व्यक्तिहरू समेत ठगीको आरोपमा छानबिनको दायरामा आएका समाचारहरू सार्वजनिक भएका छन् । कोही अन्तरराष्ट्रिय आतंकवादसँग जोडिएका छन् त कोही सेवाग्राहीलाई सेवामा सहजता गरिदिने प्रलोभनमा ठगी कर्ममा लिप्त भएका घटना सार्वजनिक भएका छन् । उपहार, चिट्ठा आदिको प्रलोभनमा पारी बैंक खातामा रकम जम्मा गर्न लगाएर ठगी गर्नेहरूको जमात त अझ धेरै वर्ष पहिलेदेखि नै उल्लेख्य रहेकै थियो ।
समग्रमा भन्ने हो भने भिन्नभिन्न स्वरूपमा ठगीका घटना समाजमा व्याप्त छन् र वित्तीय क्षेत्रलाई संलग्न गराई हुने वित्तीय अपराधको प्रमुख अपराधका रूपमा पनि ठगीले छुट्टै पहिचान बनाएको छ । यो सानो आलेखमा किन यस्ता ठगीका घटना हुन्छन्, ठगी गर्न मानिसलाई कुन तत्त्वहरूले प्रेरित गरेको हुन्छ र ठगीजस्तो वित्तीय अपराधले परिवार, समाज अनि देशलाई नै कसरी नकारात्मक रूपमा प्रभावित गरेको हुन्छ भन्ने कुरा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ । तर, त्यो भन्दा पहिला ठगी भनेको के हो भन्नेबारेमा जानकारी लिनु सान्दर्भिक होला ।
केलाई ठगी मान्ने ?
सामान्य तथा सोझो अर्थमा भन्ने हो भने आफ्नो हक नभएको अर्काको सम्पत्तिलाई ललाइफकाई वा अनेक प्रलोभन प्रपञ्चसहित किर्ते गरी झुक्काई धोखा दिएर आफ्नो बनाउने कर्मलाई ठगी भनेर बुझ्न सकिन्छ । यसमा ठगिने व्यक्तिलाई झुक्याइने, फसाइने भएकाले चोरीमा जस्तो ठगीमा ठगिने व्यक्ति त्यसका बारेमा जानकार नै नहुने अवस्था रहँदैन । त्यसैले ठगीका लागि ठगिने व्यक्तिको सचेतनाको अभावले प्रमुख भूमिका निर्वाह गरेको हुन्छ । यदि ऊ सचेत र जागरुक हुने हो भने ठगीको शिकार हुने सम्भावना अत्यन्त न्यून हुन्छ ।
यिनै कुरालाई समेटेर मुलुकी अपराधसंहितामा ठगीलाई ‘कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा त्यसबमोजिम नगरी वा फकाइझुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा काम गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानिनोक्सानी वा क्षति पुर्याएमा वा आफ्नो वा अरू कसैका लागि कुनै लाभ प्राप्त गरेमा निजले ठगी गरेको मानिनेछ’ भनी परिभाषित गरिएको छ ।
प्रकारहरू
परम्परागत तरीकाले ठगी गर्ने प्रकारका अतिरिक्त अहिले प्रविधिको विकासले ठगी गर्ने तरीकामा समेत व्यापक विस्तार भएको छ । साथै ठगीको दायरासमेत निकै फराकिलो हुँदै गएको छ । व्यत्ति व्यक्ति बीचको ठगी आम रूपमा देखिएको ठगीको प्रकार हो, जहाँ कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई प्रलोभन, झूटो आश्वासन, बखान आदिका माध्यमबाट ठगी गरेको हुन्छ ।
अर्को प्रचलित ठगी बैंकिङ ठगी हो । यस प्रकारको ठगीमा नभएको निक्षेपमा चेक काटिदिने, कमसल वा नक्कली धितोमा कर्जा उपभोग गर्ने, धितोको अस्वाभाविक मूल्यांकन गर्ने गराउने, डेबिट तथा क्रेडिट कार्डमार्फत विभिन्न उपायद्वारा रकम चोरी गर्ने, बैंक खातामा अनधिकृत पहुँच कायम गरी रकम स्थानान्तरण गर्ने, साइबर ठगीका फिसिङजस्ता सामाजिक इन्जिनीयरिङका माध्यमबाट बैंकिङ ठगी गर्ने आदि पर्छन् । खास गरी यसै प्रकारका ठगीलाई वित्तीय अपराधको कोटिमा राखिन्छ ।
बैंकिङ ठगीअन्तर्गत नै पहिचानको ठगीदेखि लिएर विभिन्न चन्दा, दान आदिको माध्यमबाट समेत ठगीका अपराधहरू भइरहेका हुन्छन् । अझ अहिले प्रविधिको विकासले त फोन कलदेखि लिएर इमेल, ह्वाट्सएप, भाइबर, फेसबुक जस्ता सामाजिक सञ्जाललाई समेत ठगीका लागि औजार बनाइएको देखिन्छ ।
वित्तीय अपराधकै रूपमा बीमासम्बन्धी ठगीलाई पनि लिन सकिन्छ । वास्तविक तथ्य लुकाएर सम्पत्ति एवं जीवनको बीमा गर्ने, क्षतिभन्दा बढी दाबी गर्ने र भुक्तानी गर्ने, नक्कली बीमा गर्नेजस्ता उपायहरू बीमाको ठगीमा प्रचलित उपायहरू रहिआएका छन् ।
नेपालको सन्दर्भमा त वैदेशिक रोजगारीको नाममा समेत कयौं व्यक्तिहरू ठगिएका छन् । एउटा भनेर अर्कै काममा लगाउनेदेखि लिएर अनेक शुल्कको नाममा वैदेशिक रोजगारीमा जानेहरू उल्लेख्य रकमको ठगीमा परेका उदाहरण प्रशस्त देख्न सकिन्छ । वैदेशिक रोजगार विभागका अनुसार ५ वर्षमा १५ हजार ९०४ यस्ता वैदेशिक रोजगारीमा भएका ठगीसम्बन्धी उजुरी दर्ता भएका छन् । यसरी भिन्नभिन्न स्वरूपमा ठगीका घटना सतहमा आएको देखिन्छ ।
किन बढिरहेको छ ?
कुनै पनि प्रकारको ठगी गर्नका लागि अवसर, दबाब तथा औचित्य पुष्टिजस्ता तीनओटा मनोवैज्ञानिक तत्त्वले प्रेरित गरिरहेको हुन्छ भनिन्छ । यसलाई ‘ठगीको त्रिभुज’ पनि भनिन्छ । विश्वभर हुने ठगीका घटना पनि यही ‘त्रिभुज’ को सेरोफेरोमा रुमलिएको देखिए पनि नेपालको सन्दर्भमा भने कतिपय अवस्थामा ‘दबाब’ र धेरैजसो अवस्थामा ‘अवसर’ तत्त्वले ठगीका लागि बढी नै प्रेरित गरेको देखिन्छ । तापनि ठगीका कारणहरूका बारेमा चर्चा गर्दा अन्य मनोवैज्ञानिक कारणहरूका बारेमा पनि छलफल गर्नु सान्दर्भिक हुन्छ ।
ठगीको त्रिभुजमा रहेको ‘दबाब’बाट चर्चा शुरू गरौं । यस्तो दबाबको स्रोत कहिले आन्तरिक त कहिले बाह्य हुने गर्छ । आफ्नै कुलत तथा खराब आचरणदेखि लिएर साथीभाइको सङ्गत, आधुनिक ग्याजेटप्रतिको तीव्र मोह पूर्ति गर्न असमर्थ हुने सीमित आम्दानीले उत्पन्न गर्ने आन्तरिक दबाबदेखि लिएर प्रतिकूल आर्थिक अवस्थाजस्ता बाह्य दबाबका कारण पनि कुनै व्यक्तिले ठगी गर्ने विश्वास गरिन्छ । साथै बढ्दो बेरोजगारी, आर्थिक संकट, बढ्दो पारिवारिक आर्थिक दायित्वजस्ता कारणले समेत व्यक्तिले बाह्य दबाब महसूस गरेको हुनसक्छ । जस्तोसुकै भए पनि यस्तै विभिन्न दबाबका कारण कुनै पनि व्यक्ति ठगी गर्न मनोवैज्ञानिक रूपमा प्रेरित हुन्छ भनिन्छ ।
बैंकिङ ठगीहरूबाट बैंक तथा वित्तीय संस्थालाई मुक्त बनाउन प्रभावकारी संस्थागत सुशासन, बलियो जोखिम नियन्त्रण प्रणालीको स्थापना र समयसापेक्ष प्रविधिको समुचित उपयोग गर्नुपर्ने हुन्छ । समाज र देशमा नै ठगीलाई नियन्त्रण गर्ने हो भने दण्डहीनताको अन्त्य हुनु जरुरी छ ।
‘औचित्य–पुष्टि’को कुरा गर्दा भने अलिक चनाखो हुनुपर्छ । आफूले गरेको कसुर पुष्टि गर्ने क्रममा कसुरदार व्यक्तिले मनमा जम्मा गर्ने जबर्जस्ती सकारात्मक तर्कहरूलाई ‘औचित्य पुष्टि’ भनेर बुझ्न सकिन्छ । औचित्य पुष्टिलाई नितान्त मनोवैज्ञानिक कुतर्क मात्र मान्न सकिन्छ र यसले कुनै पनि अर्थमा ठगीको औचित्य पुष्टि गर्न सक्दैन ।नेपालमा मौलाइरहेको ठगीका लागि भने त्रिभुजको ‘अवसर’ तत्त्वले पनि अहं भूमिका खेलेको मान्न सकिन्छ ।
हाम्रो जस्तो देशमा त दण्डहीनता अथवा विद्यमान न्यूनतम कानूनी दण्ड पनि बढ्दो ठगीका लागि जिम्मेवार रहेको देखिन्छ । जतिसुकै ठूलो कसुर गरे पनि ४–५ वर्षपछि समाजमा सजिलै स्वीकार्य हुने र कानूनी दण्डबाट पनि उन्मुक्ति पाउने विद्यमान कानूनी व्यवस्थाका कारण पनि बैंकिङलगायत अन्य ठगीका घटना बढिरहेको अनुमान गर्न सकिन्छ ।
त्यसमाथि सामाजिक रूपमा पनि जसरी आर्जन गरेको भए पनि स्वीकार्य हुने परिपाटीले पनि ठगी गर्नेलाई अवसर नै प्रदान गरेको देखिन्छ । बैंकिङ ठगी नियन्त्रणका लागि उचित प्रबन्ध नहुनु, प्रविधिगत ठगीको पहिचान र नियन्त्रणका लागि समुचित संयन्त्र नहुनु, आम रूपमा वित्तीय तथा प्रविधिगत साक्षरताको कमी हुनुजस्ता विद्यमान कारणले ठगहरूका लागि उपयुक्त ‘अवसर’ प्रदान गरेको छ । एकातर्फ प्रविधि स्वयं अपर्याप्त हुनु तथा अर्कोतर्फ उपलब्ध प्रविधिको पनि प्रभावकारी प्रयोग नहुनु ठगहरूका लागि अर्को समुचित अवसर हुन सक्छ ।
संस्थागत रूपमा हेर्दा कुनै कर्मचारीको जिम्मेवारी स्पष्ट रूपमा परिभाषित नहुनु तथा त्यसमाथि पर्याप्त मात्रामा अनुगमन तथा निरीक्षण पनि नहुनु, कमजोर आन्तरिक नियन्त्रण प्रणालीको सहारा लिनु तथा स्पष्ट नीतिनियम तथा कार्यप्रणालीको अभावले पनि संस्थागत रूपमा हुने ठगीका लागि अवसर प्रदान गरेको छ ।
बहु–आयामिक प्रभाव, नियन्त्रण जरुरी
ठगीले व्यक्तिगत रूपमा ठगिने व्यक्तिलाई बेफाइदा हुने त छँदै छ, स्वयं ठगलाई समेत कालान्तरमा नकारात्मक प्रभाव नै पार्ने गर्छ । ठगीजन्य आर्जनको दिगोपनामाथि प्रशस्त प्रश्न खडा हुन सक्छन् । ठगी गरेर आर्जन गरे पछि सन्ततिहरूले पनि सोही कुरा सिक्ने र उनीहरूको भविष्य पनि ठगकै रूपमा विकसित हुने जोखिम रहन्छ । विश्व कुख्यात अपराधी ‘पाब्लो एस्कोबार’ आफ्नै आमाको प्रोत्साहनले अपराधी भएको कुरा उनको जीवनीको अध्ययन गर्दा स्पष्ट हुन्छ ।
सम्बद्ध व्यक्तिका अलावा समाजले पनि ठगीबाट धेरै प्रकारका सास्तीहरू भोग्नुपर्ने हुन्छ । ठगीजन्य आर्जनलाई मान्यता दिने हो भने नैतिकता, सदाचारजस्ता मूल्यहरू हराउँदै गई समाज नै भ्रष्ट हुने अवश्यम्भावी छ । यस्तो अवस्थाले समाज मात्र होइन, समग्र राष्ट्र नै कलुषित बन्न सक्छ ।
मूल्यमान्यता आफ्नो ठाउँमा छ– ठगीजस्ता वित्तीय अपराधले मौलाउने अवसर प्राप्त गर्यो भने राज्यप्रतिको विश्वासमा कमी आउँछ । फलत: अनौपचारिक क्षेत्रले विकसित हुने मौका पाउँछ । अनौपचारिक क्षेत्रमा हुने विस्तारले राज्यको राजस्वमाथि गम्भीर धक्का दिन्छ । न्यून राजस्वका नकारात्मक प्रभावहरूका बारेमा विहंगम दृष्टिकोणका साथ ठगीजस्तो वित्तीय अपराधलाई नियन्त्रण गर्नु जरुरी हुन्छ ।
त्यसका लागि बैंकिङ ठगीहरूबाट बैङ्क तथा वित्तीय संस्थालाई मुक्त बनाउन प्रभावकारी संस्थागत सुशासन, बलियो जोखिम नियन्त्रण प्रणालीको स्थापना र समयसापेक्ष प्रविधिको समुचित उपयोग गर्नुपर्ने हुन्छ । समाज र देशमा नै ठगीलाई नियन्त्रण गर्ने हो भने दण्डहीनताको अन्त्य हुनु जरुरी छ । साथै अप्रभावकारी दण्ड व्यवस्था गरिएका कानूनहरूलाई संशोधन गरी ठगीमा शून्य सहनशीलताको अवधारणालाई सम्बद्ध सबै पक्षले प्रभावकारी रूपमा अवलम्बन गर्ने हो भने त्यसले पनि सकारात्मक परिणाम ल्याउने अपेक्षा गर्न सकिन्छ ।
लेखक सम्पत्ति शुद्धीकरण विषयमा विद्यावारिधि प्राप्त बैंकर हुन् ।