सूचनाप्रविधिमाथि सबैभन्दा बढी पहुँच भएका र प्रविधिमा अभ्यस्त १९–२४ वर्ष उमेरसमूहका युवा साइबर ठगीमा संलग्न रहेको पाइएको छ । वित्तीय जानकारी एकाइले सार्वजनिक गरेको स्ट्राटेजिक एनालाइसिस रिपोर्ट, २०२४ ले साइबर वित्तीय अपराधमा युवाको अंश अत्यधिक रहेको देखाएको हो । सूचनाप्रविधिको विस्तारसँगै यसले निम्त्याउने जोखिमलाई यसले संकेत गर्छ । अपराधको नयाँनयाँ प्रविधिअनुसार त्यसको अनुसन्धान गर्न र यस्ता कार्य रोक्न विशेष अभियान आवश्यक पर्ने देखिएको छ । प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र यस्ता ठगीमार्फत प्राप्त सम्पत्तिको शुद्धीकरणमा प्रयोग गरिने पद्धतिको चर्चा गरिएको छ । साथै, ती ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमा समेत विश्लेषण गरिएको छ । शंकास्पद कारोबारमध्ये ६४ प्रतिशत साइबरमा आधारित ठगी हुने गर्छ । सन् २०२४ को मे मसान्तसम्म कुल ५०१ ओटा शंकास्पद कारोबार भएकामा ३१९ ओटा (६३ प्रतिशत) साइबरमा आधारित ठगीसँग सम्बद्ध थिए । ३१९ मध्ये १५१ ओटा नमूना लिँदा युवा र विद्यार्थी नै अग्रपंक्तिमा रहेको तथ्य देखिएको हो ।
सूचनाप्रविधिको प्रयोगकर्ता युवा वर्ग र विद्यार्थी नै बढी हुन् । त्यस्तो यसको जानकारी पनि यिनलाई नै बढी हुन्छ । त्यसैले सूचनाप्रविधिबाट प्राप्त हुने उपलब्धि होस् वा अपराध ती सबैमा युवाकै संलग्नता पाइनु अन्यथा होइन । तर, कलिला मस्तिष्कका युवालाई कसरी साइबर अपराधको जञ्जालबाट जोगाउन सकिन्छ भन्नेमा ध्यान जानुपर्छ । नेपालमा मात्र होइन, विश्वमै पनि हेर्ने हो भने सूचनाप्रविधिको माध्यमबाट बैंकबाट पैसा चोरी गर्ने, डेटा ह्याक गर्ने जस्ता वित्तीय अपराधका घटनामा युवा विद्यार्थीको संलग्नता पाइन्छ । अझ कतिपय अवस्थामा त किशोर वयका विद्यार्थी पनि संलग्न रहेको समाचार आइरहेको पाइन्छ । नेपाल पनि यसको अपवाद हुने कुरा आएन ।
तर, किशोर वा युवाहरू अपराधकै लागि भन्दा पनि नयाँ कुरा जान्ने र प्रयोग गर्ने उत्सुकताका कारण यस्तो अपराधमा लागेका पाइन्छन् । साथीभाइको लहैलहैमा लागेर पनि यस्तो काम भइरहेको छ । प्रविधिको पहुँच भए पनि यसको सम्पूर्ण पक्षको जानकारी नहुँदा सजिलै जोगिन सकिन्छ भन्ने सोचले पनि युवाहरूलाई यस्तो अपराध गर्न उक्साएको हुन सक्छ । अर्को, साइबर अपराध के हो, के गर्नु हुन्छ र हुँदैन भन्ने सामान्य जानकारीको अभावमा पनि युवाहरू यस्तो कार्यमा लागेको पाइन्छ । नेपालमा यस्तो अपराधको अनुसन्धान गर्न र पत्ता लगाउन सक्ने सामथ्र्य छ भन्ने कुरा नजान्दा पनि यस्तो अपराध बढेको देखिन्छ ।
डिजिटल वित्तीय साक्षरताको कमीले गर्दा बैंकिङ एपहरूको प्रयोग कसरी गर्ने, पासवर्डहरू कसरी सुरक्षित राख्ने, स्क्यामहरूबाट कसरी बच्ने जस्ता कुरामा पर्याप्त जानकारी दिन आवश्यक छ । यो काम डिजिटल वित्तीय सेवा दिने कम्पनीहरूले नै यसबारे आफ्ना सम्पूर्ण ग्राहकलाई राम्ररी सिकाउनुपर्छ । पढेलेखकै मान्छेले पनि बैंकबाट फोन आएको भनी पासवर्डलगायत गोप्य जानकारी दिँदा बैंक खाताबाट पैसा गायब भएको छ । त्यसैले यस्ता कुरामा ग्राहक सचेतना बढाउन पनि उत्तिकै जरुरी देखिन्छ ।
साइबर ठगीलाई नियन्त्रण गर्न बैंक, वित्तीय संस्थामा ग्राहक पहिचानलाई कसिलो बनाउन आवश्यक छ । डिजिटल बैंकिङ सेवाका लागि प्रयोग हुने मोबाइल नम्बर ग्राहक वा तिनको परिवारका सदस्यको नाममा दर्ता भएको भन्ने सुनिश्चित गर्न समेत आवश्यक छ । नयाँ खाता खोलेर गरिने अपराध रोक्न खातामा कुलिङ पिरियड तोक्न र निश्चित अवधिका लागि कारोबारमा सीमा लगाउन पनि सकिन्छ । साइबर ठगी नियन्त्रणका लागि सरकारी निकाय, कानून कार्यान्वयन गर्ने निकाय र निजीक्षेत्रबीच सहकार्यको आवश्यकता पनि छ ।