काठमाडौं । वर्षायाम शुरू भएसँगै बाढीपहिरोका कारण राष्ट्रिय राजमार्ग, सहायक राजमार्गदेखि जिल्लाका साना सडकसमेत अवरुद्ध हुन थालिसकेका छन् । सडक विभागले कुनकुन राजमार्गका कुनकुन खण्डमा पहिरो खसेर सडक अवरुद्ध भयो र कति क्षति भयो भन्ने तथ्यांकसमेत प्रत्यक्ष ‘अपडेट’ गर्न थालिसकेको छ ।
सडक विभागले वर्षा लागेसँगै दैनिक कुन राजमार्ग वा सडकको कुन खण्ड अवरुद्ध छ भनेर तत्काल अपडेट गर्छ । असार २ गते आइतवारदेखि ६ गते बिहीवारसम्म मुलुकका विभिन्न नौओटा सडक/राजमार्गका ३२ स्थान अवरुद्ध भइसकेका छन् । अवरुद्ध कतिपय खण्ड खुलिसकेका छन् । कतिपय एकतर्फी रूपमा सञ्चालनमा छन् । विभागका अनुसार यस अवधिमा ३७ करोड ५० लाख रुपैयाँ बराबर क्षति भइसकेको प्रारम्भिक अनुमान छ । साथै निर्माणाधीन/निर्माण सम्पन्न भएका पुल, पुलको पहुँच सडकमा प्रारम्भिक क्षति २६ करोड ८० लाख रुपैयाँ छ । विभागको तथ्यांक हेर्दा यो अवधिमै सडक र पुलमा गरेर ६४ करोड ३० लाख रुपैयाँ बराबर क्षति भएको प्रारम्भिक अनुमान छ ।
यस्तो समस्या यो वर्ष थप चर्कने खतरा छ । साउथ एशियन क्लाइमेट आउटलुक फोरमले गत अप्रिलमा विज्ञप्ति जारी गरेर नेपाललगायत दक्षिण एशियामा यस वर्ष सामान्यभन्दा बढी वर्षा हुने बताएको छ । यो जलवायुसम्बधी काम गर्ने दक्षिण एशियाली सरकारी संस्थाहरूको साझा संस्था हो । सरकारी अधिकारीहरू विगत वर्षको वर्षायाममा जस्तै यस वर्ष पनि पहिरो हटाउन विगतमा पहिरो गएको स्थानमा मेशिन, उपकरण तयारी अवस्थामा राखिएको बताउँछन् ।
सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माले सडक विभागको क्षेत्राधिकार भएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा विगत वर्ष पहिरो गएका स्थानकै आधारमा मेशिन उपकरण तयारी अवस्थामा राखिएको बताए । नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोको दृष्टिले ज्यादै जोखिमयुक्त रहेको विभागले बताउँदै आएको छ । सडक डिभिजन कार्यालय, भरतपुरले नारायणगढ–मुग्लिन सडक खण्डमा साना–ठूला गरेर २५ ओटा स्थानलाई पहिरोको जोखिममा रहेको भनी पहिचान गरेको छ ।
यो खण्डमा पर्ने ३ नम्बर पुल, नाम्सीखोला पुल, केराबारी र कालीखोला पुल पहिरोको उच्च जोखिममा रहेका स्थान हुन् । कार्यालयका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलले पहिरो पन्छाउन मेशिन, उपकरण तयारी अवस्थामा राखिएको बताए । ‘यो खण्डमा पहिरोबाट अवरुद्ध हुने सडक खुलाउन दुईओटा लोडर, एउटा स्काभेटर र दुईओटा टिपर तयारी अवस्थामा राखिएको छ,’ पौडेलले भने, ‘पहिरोको अवस्था हेरेर उपकरण थप्न सकिन्छ ।’ यो खण्डमा वर्षेनि पहिरोले सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।
यो खण्डको पहिरो दीर्घकालीन रोकथामका लागि यो वर्ष परामर्शदाताबाट अध्ययन गराइएको उनले बताए । ‘यस्तो अध्ययन तीन स्थान–– ३ नम्बर पुल, कालीखोला र नाम्सी पुलतर्फ डिभिजन कार्यालयले गराएको छ,’ पौडेलले भने, ‘केराबारीको पहिरो रोकथामका लागि भने विश्व बैंकले अध्ययन गरेको प्रतिवेदन दिएको छ ।’ वर्षायामपछि रोकथामका लागि काम हुने उनले बताए । यी तीन स्थानको पहिरो रोकथामका लागि ५३ करोड रुपैयाँ अनुमानित लागत लाग्ने देखिएको उनले बताए ।
उच्च जोखिम भएका स्थानमा पहिरो रोक्ने काम भइरहँदा नयाँ ठाउँमा पहिरो जान थालेका पनि छन् । नारायणगढ–मुग्लिन खण्ड, पृथ्वी राजमार्गमा सधैं उस्तै समस्या छ । कर्णाली राजमार्ग तथा पहाडी भेगसँग जोडिने राजमार्ग, कान्ती लोकपथमा समेत एउटै समस्या दोहोरिने गरेको विभागका अधिकारी बताउँछन् । ‘यातायात सुचारू गर्न ठूला उपकरण तयारी अवस्थामा राखिएको छ भने निजीक्षेत्रका अपरेटरहरू पनि परिचालन गरिनेछ,’ सडक विभागका महानिर्देशक रामहरि पोखरेलले भने ।
सडक खुलाउन ठूला उपकरण परिचालन गर्नेबाहेक दीर्घकालीन समाधानका लागि काम खासै हुन नसकेको विभागकै अधिकारीहरू बताउँछन् । ‘हरेक वर्षायाममा बाढीपहिरो तथा यस्तै कारणले सडक अवरुद्ध हुँदा तत्काल ठूला उपकरण प्रयोग गरेर बाटो खुलाउने र यातायात सुचारू गर्ने काम हुन्छ, त्यसका लागि मात्रै १५ करोड रुपैयाँसम्म विनियोजन गरिएको हुन्छ,’ महानिर्देशक पोखरेलले भने, ‘दीर्घकालीन तयारीका लागि बजेट नै अपुग हुने गरेको छ ।’
उनका अनुसार यो बजेट इन्धन खरीद, बेलिब्रिज ढुवानी, डोजर परिचालनमा खर्च गरिन्छ । ‘छिटोभन्दा छिटो सडक खोलेर यातायात सुचारू गर्ने प्राथमिक दायित्व हुन्छ,’ उनले भने । दीर्घकालीन समाधानको एउटा बाधकका रूपमा पहाडमा जथाभावी बाटो खन्ने परिपाटी रहेको छ । स्थानीय तहमा विनाअध्ययन पहुँच मार्ग बनाउने होड छ । ‘गाँउगाउँमा डोजर चलाएर स्थानीय सडक बनाइएका छन्,’ सडक विभागको नेतृत्वसमेत गरेका पूर्वसचिव अर्जुनजँग थापाले भने, ‘ती सडकबाट बगाएर ल्याउने माटो, ढुंगा, बालुवा, पहिरो नियन्त्रण नगर्दासम्म जति ठूलो खर्च, योजना बनाए पनि राजमार्गमा पहिरोबाट हुने सास्ती रोकिँदैन ।’
धेरै पहाडी भूभाग रहेको नेपालका जथाभावी सडक खन्दा भूक्षय भई राष्ट्रिय राजमार्ग नै धरापमा पर्ने गरेको छ । २०७१ सालमा सिन्धुपाल्चोकको जुरेको सडकमा गएको ठूलो पहिरोको परी १५६ जनाले ज्यान गुमाएका थिए भने पहिरोले सुनकोशी नदी नै थुनिएर ३ किलोमीटर लामो र ३३० मीटरदेखि ३ सय ५० मीटर चौडा ताल बनेको वातावरणको क्षेत्रमा काम गर्ने संस्था इसिमोडले जानकारी दिएको छ ।जथाभावी सडक नबनाउनेबारे संघीय, प्रादेशिक र स्थानीय तहबीच समन्वय हुनुपर्नेमा त्यो नदेखिएको सरोकारवाला बताउँछन् ।
राष्ट्रिय राजमार्ग जोगाउने काम संघीय सरकारकै हो भन्ने बुझाइ प्रदेश र स्थानीय तहमा हुँदा थप समस्या भएको संघीय सरकारका अधिकारी बताउँछन् । तीन तहका सरकारबीच आवश्यक समन्वयका अतिरिक्त प्राविधक रूपमा गर्न सकिने काममा धेरै प्रयास नभएको विभागका अधिकारी स्वीकार्छन् । उदाहरणका लागि पहिरो रोकथामका लागि बीपी राजमार्गको बनेपा–बर्दीबास खण्डमा अपनाइएको पद्धति नेपालका अरू क्षेत्रमा पनि गर्न सकिने उनीहरूको भनाइ छ ।
‘बनेपा–बर्दीबास खण्डमा पहिरो रोकथामका लागि अपनाइएका विधिले यहाँ समस्या न्यूनीकरण भएको छ तर अन्य जोखिमयुक्त स्थानमा यो पद्धति अनुसरण गर्न सकिएको छैन,’ विभागका महानिर्देशक पोखरेलले भने । बनेपा–बर्दीबासमा बायो–इन्जिनीयरिङ, रक सेडिङजस्ता प्रविधिहरू अपनाइएको छ । यो नेपालको सबैभन्दा राम्रो वातावरणमैत्री सडक हो । ‘जापानले खर्चिलो प्रविधि अपनाएर बनाएको यो सडकमा अहिले गाउँगाउँ पुगेका सिंहदरबारहरूले जथाभावी सडक निर्माण गर्न थाल्दा पनि पहिरोको जोखिम बढेको छ,’ पूर्वसचिव थापाले भने, ‘त्यसरी निर्माण गरिएका सडकमा पहिरो नियन्त्रणका उपाय अवलम्बन गरिँदैन, त्यसले समस्या पारेको छ ।’ सरकारले यो सडकमा ठूला सीट क्षमता/भारका यातायात सञ्चालनमा रोक लगाएको छ । ‘बायो–इन्जिनीयरिङ, रक सेडिङ जस्ता प्रविधि, सडक फराकिलो पार्ने काम अन्य राजमार्गमा भएको छैन,’ थापाले भने । ‘पहिरो जान्छ भनेर सडक चौडा गरिएको हुँदैन, मुग्लिन–नारायणगढजस्ता सडक साँघुरा बनाएर काम चल्दैन । सडक चौडा गर्नैपर्छ । सडक चौडा हुँदा माथिबाट पहिरो झरे पनि पूरै सडकलाई छोप्दैन ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसहसचिव शिवप्रसाद नेपालले तत्काल सडक खुलाउन पूर्वतयारी हुँदाहुँदै पनि दीर्घकालीन रूपमा राजमार्ग अवरुद्ध नहुने गरी काम हुनुपर्नेमा जोड दिए । राजमार्गलाई हानी नहुने गरी अन्य विकासका काम गर्नुपर्ने आवश्यकता उनले औंल्याए । ‘राजमार्ग नै नहेरी जथाभावी रूपमा ग्रामीण र सहायक सडक खोल्ने/बनाउने गरिएको छ,’ उनले भने, ‘त्यसबाट पानीको निकास व्यवस्थापन नगर्दा पहिरो जाने र सबै गेग्रान बगाएर ल्याउँदा त्यसले पुलमा समेत असर गरेको छ ।’ संघ, प्रदेश र स्थानीय तहबाट सडक सञ्जाल विस्तार १ लाख किलोमीटरभन्दा बढी भएकाले अब दिगो र सुरक्षित सडक बनाउनेतर्फ बजेट केन्द्रित हुनुपर्नेमा नेपालले जोड दिए । ‘यसले दीर्घकालीन रूपमा जोखिम घटाउन, जनधनको क्षति कम गराउन र यातायात खर्च घटाउन मद्दत गर्छ,’ उनले भने ।
विभागको क्षेत्राधिकार भएका राष्ट्रिय राजमार्ग तथा अन्य सहायक राजमार्गमा विगत वर्ष पहिरो गएका स्थानकै आधारमा मेशिन उपकरण तयारी अवस्थामा राखिएका छन् । तत्काल यातायात सुचारु गर्न उपकरणहरू राखिएका छन् भने त्यसको निगरानी गर्न र यातायात तुरुन्तै सूचारू गर्न विभागमै म्यानेजमेन्ट एक्शन टीम बनाइएको छ । टीमले विवरणहरू लिने र प्रत्येक डिभिजन कार्यालयले अद्यावधिक गर्ने काम गरिरहेका छन् ।