काठमाडौं । धितोपत्र बजारको विकास र विस्तारका लागि सरकारले वस्तु विनिमय बजार सञ्चालनमा जोड दिएको छ । आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी वर्ष वस्तु विनिमय बजार सञ्चालनका लागि आवश्यक कानुन निर्माण गरिने जानकारी दिएका हुन् ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डको क्षमता विकासलाई समेत बजेटमा प्राथमिकतामा राखेको सरकारले धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र धितोपत्र राफसाफ कर्ता सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को पुन:संरचनालाई समेत दोहोर्याएको छ ।
सरकारले बजेटमा विगतका दिनमा समेत प्राथमिकतामा राखेको वस्तु विनिमय बजार सञ्चालनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले भने दुईओटा वस्तु विनिमय बजार सञ्चालनका लागि २०८० असोजमै लाइसेन्स वितरण गर्ने तयारी स्वरूपमा आवेदन खुला गरेको थियो ।
कमोडिटीज एक्सचेञ्ज सञ्चालनका लागि बोर्डले मल्टी डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, मल्टी एसेटस् एण्ड डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेञ्ज र नेपाल मल्टी कमोडिटीज एक्सचेञ्ज लिमिटेडबाट आवेदन प्राप्त गरिसकेको छ ।