काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८०/८१ मा सडक पूर्वाधार विस्तारको प्रगति न्यून रहेको छ । विनियोजन भएको बजेट पनि गत आर्थिक वर्षको दायित्व सकार्न ठिक्क हुँदा यो वर्ष सडक पूर्वाधारको प्रगति न्यून देखिएको हो ।
राष्ट्रिय गौरवका सडकका विभिन्न आयोजनादेखि थप नयाँ सडक विस्तार विगत ४ वर्षयताकै कम देखिएको आर्थिक सर्वेक्षण २०८०/८१ मा उल्लेख छ । आइतवार सार्वजनिक भएको चालू आवको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा नयाँ सडक २८ किलोमिटर (किमी) मात्र निर्माण भएको छ । गत आवमा नयाँ सडक २४३ किमी निर्माण भएको थियो ।
पुलदेखि कालोपत्र सडकमा स्तरोन्नति, सडक मर्मतजस्ता कार्य विगत वर्षको तुलनामा निकै कम देखिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा ८२० किमी सडक कालोपत्र हुँदा चालू आवको फागुनसम्ममा १८९ किमी सडक कालोपत्र भएको छ । गौरवको सडक आयोजना १३ किमी मात्र कालोपत्र भएको छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामहरि पोखरेलले पर्याप्त बजेट नै नभएकाले काम नै गर्न नसकिएको बताए । ‘अर्बाैं रुपैयाँ भुक्तानी गर्न बाँकी छ,’ पोखरेलले भने, ‘अरू वर्ष आर्थिक वर्षको अन्तिममा पैसाको अभाव हुन्थ्यो, यस वर्ष शुरूदेखि नै पैसाको अभाव भयो ।’ यसले गर्दा लक्ष्य प्राप्तिमा समस्या भएको उनको दाबी छ । चैत मसान्तसम्मको हिसाब गरेर १६ अर्ब रुपैयाँ माग गरिएको भन्दै पोखरेलले भने, ‘त्यसमध्ये २ अर्ब ८२ करोड रुपैयाँ प्राप्त भयो । भुक्तानी कति, कहाँ दिनु छ भनेर विवरण संकलन गर्दै छौं । अब थप २० अर्ब रुपैयाँ आवश्यक छ ।’
सडक विभागका अनुसार समयमै भुक्तानी दिन नसक्दा, म्याद थप भएका योजनाको व्यवस्थापन र चालू आवमा विनियोजन भएको बजेट पनि गत आर्थिक वर्षको दायित्व सकार्न ठिक्क हुँदा यो वर्ष सडक पूर्वाधारको प्रगति न्यून देखिएको छ ।
मध्यपहाडी (पुष्पलाल) राजमार्गका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) रत्नलक्ष्मी वज्राचार्यले पोहोरकै दायित्व भुक्तानीमा रकम परिचालन हुँदा चालू आर्थिक वर्षको काममा बजेट अभाव भएको बताइन् । वज्राचार्यले भनिन्, ‘बजेट आउने सुनिश्चितता नहुँदा निर्माण व्यवसायीले काम गर्न पाएनन्, जसले गर्दा वार्षिक लक्ष्य भेट्टाउन समस्या भएको हो ।’ उनका अनुसार यो आयोजनाले वार्षिक १०० किमी सडक कालोपत्रमा स्तरोन्नति गर्ने लक्ष्य राखेको थियो । वैशाखसम्ममा यो आयोजनामा ३० किमी सडक कालोपत्र भएको छ ।
करीब ४ अर्ब रुपैयाँ बजेट विनियोजन भएको मध्यपहाडी राजमार्गमा पुरानो दायित्व मात्र २५ करोड रुपैयाँ भुक्तानी गरिएको थियो । ‘जसले गर्दा रकम विभाजित भयो, पर्वत र रामेछाप योजना कार्यालयअन्तर्गत छुट्ट्याइएको बजेट तेस्रो चौमासिक अवधि नसकिँदै खर्च भइसकेकाले काम हुन पाएन,’ वज्राचार्यले भनिन् । अर्काेतर्फ, बाँकी रहेको बजेटले १०० किमी सडक कालोपत्र गर्न सक्ने अवस्था नभएको उनले बताइन् ।
यसैगरी हुलाकी राजमार्ग निर्देशनालयका सिडिई माधवप्रसाद अधिकारीले चालू आवको हालसम्म ३६ किमी कालोपत्र भइसकेको जानकारी दिए । वार्षिक लक्ष्य भने १३७ किमी सडक कालोपत्रमा स्तरोन्नति गर्ने रहेको छ । चालू आवमा लक्ष्यअनुसार नै काम गरिने भन्दै उनले काममा ढिलाइ नभएको दाबी गरे ।
अहिले तत्काल बजेट अभाव नभए पनि बुधवारदेखि भने रकम अभाव हुने अधिकारीले बताए । ‘बजेटको सुनिश्चितता भइदिए सजिलो हुने थियो,’ अधिकारीले भने, ‘ढुक्कसँग काम गर्ने अवस्था छैन, अहिले काम गर्दै जानुहोस् भन्ने कुरा छ, यसले काम अघि बढाउन कठिन हुन्छ ।’ चालू आवमा ३ अर्ब ४९ करोड रुपैयाँ बजेट पाएको आयोजनालाई अब थप २ अर्ब रुपैयाँ चाहिने उनको भनाइ छ ।
मदनभण्डारी राजमार्ग आयोजना निर्देशनालयका सिडिई बद्रीप्रसाद शर्माले चालू आवमा वार्षिक लक्ष्यभन्दा बढी काम गरिसकिएको बताए । वार्षिक लक्ष्य २० किलोमिटर सडक कालोपत्र गर्ने भनिए पनि दोस्रो त्रैमासमा लक्ष्य भेटिएको उनले बताए । ‘चालू आवको विनियोजन बजेट नै कम हुँदा वार्षिक लक्ष्य नै कम राखिएको हो,’ शर्माले भने, ‘निर्माण व्यवसायीले असार मसान्तसम्ममा भुक्तानी पाउने आशमा काम गर्दा लक्ष्यभन्दा बढी काम भएको हो ।’
चालू आवमा २ अर्ब ३५ करोड रुपैयाँ बजेट पाएको मदनभण्डारीमा यसबाहेक थप १ अर्ब रुपैयाँभन्दा बढीको काम भइसकेको शर्माले बताए । असारसम्ममा थप बढ्ने देखिएको उनले बताए । ‘यो वर्ष ५ अर्ब आवश्यक थियो भने ८० किमी सडक कालोपत्र गर्ने लक्ष्य थियो,’ उनले भने । यो आयोजना आगामी आवमा सम्पन्न गर्नुपर्ने म्याद छ । आयोजनाले अझै २८६ किमी निर्माणका लागि ठेक्का व्यवस्थापन गर्नै बाँकी छ । शर्माका अनुसार यो राजमार्ग आव २०८४/८५ मा सम्पन्न गर्ने प्रस्ताव गरिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सडक पूर्वाधारमा मात्रै नभई सबै क्षेत्रको प्रगति सुस्त देखिएको टिप्पणी गरे । गतवर्षभन्दा पनि कम प्रगति हुनुमा उनी प्रमुख तीन कारण देख्छन् । ‘पहिलो सरकारले म्याद थपका लागि २०७९ असारमा आदेश जारी गर्यो, त्यो आदेश कार्यान्वयन भएन, जसले निर्माणको गति अघि बढ्न सकेन,’ सिंहले भने ।
निर्माणको सिजनभरि काम गर्न नसकिएको उनले बताए । ‘अर्काे मुख्य कारण सरकारको भुक्तानी गर्ने क्षमता भएन । भुक्तानी गर्न नसक्दा व्यवसायी थप काम गर्ने वातावरण भएन,’ उनले भने । अहिले पनि सरकारले ६० अर्ब रुपैयाँ भुक्तानी दिन सक्ने अवस्था रहेकाले यो रकम प्रवाह गरेमा थप २० प्रतिशत पूँजीगत खर्च बढ्ने उनको आकलन छ ।