काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेडले असोज १८ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ । भदौ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय नयाँबानेश्वर, काठमाडौंमा अपराह्न ३ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ भने चालू आर्थिक वर्ष ०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ४ करोड ९४ लाख रुपैयाँको आधारमा १४ दशमलव ७४ प्रतिशत करसमेत नगद लाभांश वितरणको प्रस्ताव पनि कम्पनीले गरेको छ ।
२०७५ साउन २९ गतेदेखि सञ्चालनमा रहेको यस संस्थाले वित्तीय क्षेत्रका कर्मचारीहरू र अन्य सरोकारवालाहरूको क्षमता अभिवृद्धिको क्षेत्रमा काम गर्छ । नेपालको वित्तीय प्रणालीलाई बलियो बनाउने उद्देश्यसहित सञ्चालित यस कम्पनीले वित्तीय क्षेत्रलाई सबल बनाउन अनुसन्धान र परामर्श सञ्चालन गर्ने, विशिष्ट मान्यता प्राप्त पाठ्यक्रमहरू प्रदान गर्ने र डाटा बैंक सिर्जना गर्ने कामसमेत गर्छ ।