काठमाडौं । २०८१ सालको अन्तिम दिन नेप्से परिसूचक ८ दशमलव ८४ अंकले घटेर बन्द भएको छ । यो दिन नेप्से परिसूचक २ हजार ६६१ दशमलव ८६ विन्दुमा बन्द भएको हो ।
यस दिन नेप्से परिसूचक २ हजार ६५७ दशमलव ३२ विन्दुसम्म झरेको थियो भने २ हजार ६७६ दशमलव ७० विन्दुसम्म पुगेको थियो । २०८१ सालको बजारलाई हेर्दा अधिकतम ३ हजार ३६ विन्दुसम्म पुगेको देखिन्छ । २०८१ साउन ३१ गतेको कारोबारमा नेप्से परिसूचक उक्त वर्षको सबैभन्दा उच्च विन्दुमा पुगेको हो । त्यस दिन नेप्से परिसूचक १ दशमलव ४५ प्रतिशत अर्थात ४३ दशमलव शून्य ५ अंकले बढेको थियो । सो दिन २ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको ७ करोड २२ लाख ३७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।
२०८१ सालको अन्तिम कारोबार दिन ८८ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने १५७ कम्पनीको धितोपत्र मूल्य घटेको छ । सालको अन्तिम दिनको कारोबारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर मूल्य भने स्थिर रहेको देखिन्छ ।
सामान्य अंकले घटेको बजारमा १२ प्रतिशत ब्याजदर रहेको गुडवील फाइनान्सको ऋणपत्रको मूल्य र नेपाल माइक्रो इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यो दिन क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य भने ९ दशमलव ९८ प्रतिशत बढेको छ । पछिल्लो समय दोस्रो बजारमा थपिएको नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ४० रुपैयाँ २० पैसाले बढेर अन्तिम मूल्य ४४२ रुपैयाँ ४० पैसाले बढेको हो भने क्रेस्ट माइक्रो लाइफको शेयर मूल्य प्रतिकित्ता ३३ रुपैयाँ २० पैसाले बढेर अन्तिम मूल्य ३६५ रुपैयाँ ९० पैसा कायम भएको हो ।
२०८१ सालको अन्तिम दिन र २०८१ सालको अन्तिम दिनको नेप्से परिसूचक तुलना गर्ने हो भने यो वर्ष बजार ३१ दशमलव ४० प्रतिशत उकालो लागेको देखिन्छ । नेप्सेका अनुसार २०८० चैत मसान्तमा नेप्से परिसूचक २ हजार २५ दशमलव ७० विन्दुमा बन्द भएको थियो ।
वर्षको अन्तिम दिनको कारोबारमा नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ६३ करोड ७९ लाख रुपैयाँभन्दा बढीको १ करोड १३ लाख ८४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो दिन ६ अर्ब २८ करोड २ लाख रुपैयाँभन्दा बढीको १ करोड ३१ लाख ८९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
यो दिन सिईडिबि हाइड्रोपावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यस कम्पनीको ४५ करोड ३२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयर मूल्य पनि प्रतिकित्ता ९५ रुपैयाँ ९५ पैसाले बढेर अन्तिम मूल्य २ हजार ५५७ रुपैयाँ कायम भएको छ ।
यस वर्षको अन्तिम दिन कुल बजार पूँजीकरण ४४ खर्ब २५ अर्ब ४० करोड १० लाख रुपैयाँ कायम भएको छ । २०८० सालको अन्तिम कारोबार दिनभन्दा कुल बजार पूँजीकरण १२ खर्ब १३ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको हो । २०८० सालको चैत मसान्तसम्म कुल बजार पूँजीकरण ३२ खर्ब १२ अर्ब ८० लाख रुपैयाँ थियो ।
२०८१ सालको अन्तिम दिन लगानी समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिन्छ । यो दिन लगानी समूहको परिसूचक १ दशमलव ६८ प्रतिशत बढेको हो । त्यस्तै होटल तथा पर्यटनको शून्य दशमलव १४ प्रतिशत, म्यचुअल फण्डको शून्य दशमलव २६ प्रतिशत र निर्जीवन बीमा समूहको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको हो । यो दिन व्यापारिक समूहको परिसूचक सर्वाधिक १ दशमलव ४० प्रतिशत घटेको छ । त्यस्तै अन्यको शून्य दशमलव ८० प्रतिशत, लघुवित्तको शून्य दशमलव २६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ८४ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ६१ प्रतिशत, जलविद्युतको शून्य दशमलव ४५ प्रतिशत, वित्तको शून्य दशमलव ८८ प्रतिशत, विकास बैंकको शून्य दशमलव ७७ प्रतिशत र बैंकिङको शून्य दशमलव २१ प्रतिशत परिसूचक घटेको छ ।