वीरगञ्ज । नेपालबाट सस्तो मूल्यमा प्रशोधित तेल आयात हुँदा व्यवसायमा मार परेको भन्दै भारतीय उद्योगीले नियन्त्रणका लागि त्यहाँको सरकारलाई आग्रह गरेपछि नेपालका उद्योगीहरू सशंकित भएका छन् ।
नेपालका उद्यमीले इन्डोनेसिया, मलेसिया लगायतका देशबाट कच्चा तेल आयात गरी प्रशोधनपछि साफ्टा सहुलियतमा निकै सस्तो दरमा भारत निकासी गरेको भन्दै त्यहाँका उद्यमीले नियन्त्रणको माग गरेका हुन् ।
साफ्टा सहुलियतमा शून्यदेखि ५ प्रतिशत महशुलमा भारतमा निकासी हुन्छ । नेपालका उद्यमीले अहिले भटमास र सूर्यमुखीको प्रशोधित तेल निकासी गर्दै आएका छन् । यो नेपालबाट निकासी हुने मुख्य वस्तुमा पर्छ ।
भारतीय उद्यमीले नेपालबाट भइरहेको आयातलाई रोक्न पहल गर्दै आएपछि अहिले त्यसको खासै प्रभाव नदेखिएको स्वदेशी उद्यमीले बताएका छन् । तर, भारतका उद्यमीले निरन्तर यस्तो माग गरिरहँदा यताका उद्योगीले दबाब महसुस गरिरहेको नारायणी आयल रिफाइनरीका सञ्चालक निखिल चाचान बताउँछन् ।
तेस्रो मुलुकबाट आयात भएको कच्चा तेल यहाँ प्रशोधन गरी ३० प्रतिशत मूल्य अभिवृद्धिमा भारत निकासी गर्न सकिने प्रावधान छ । यो तहको मूल्य योग भएपछि साफ्टा सहुलियतमा भारतीय बजारमा निकासी गर्न पाइन्छ ।
भारतमा अन्य देशबाट भित्रिने तेलमा उच्च दरको सीमा शुल्क तोकिएको छ । नेपालबाट हुने निकासीमा दिइएको साफ्टा महशुल सहुलियतको लाभ यहाँका उद्यमीले लिएका हुन् ।
ओसीबी फुडका सञ्चालक सुरेश रुंगटाले नेपालबाट तेल निकासी हुनेबित्तिकै भारतीय उद्यमीले नियन्त्रणको ‘लबिङ’ थालेको दाबी गरे । ‘विगतमा पनि यस्तो काम हुने गरकै हो । २ वर्षअघि पनि त्यहाँका उद्यमीको आग्रहमा भारतले नेपालबाट हुने पाम तेलको आयातमा कोटा लगाइदिएको थियो,’ रुंगटाको भनाइ छ ।
भारतीय वनस्पति तेल उत्पादक संघले भारत सरकारसँग नेपालबाट हुने प्रशोधित तेलको आयातमा परिमाणात्मक बन्देज लगाउनुपर्ने, कृषि पूर्वाधार र विकास शुल्कलाई १० देखि १५ प्रतिशत बनाइनुपर्नेलगायतका माग राखेको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अन्नपूर्ण भेजिटेबल प्रडक्टका सञ्चालक प्रभुदयाल अग्रवालले जीटुजी समन्वयमार्फत् नेपाली उत्पादनको निकासी निश्चित गरिनुपर्ने माग गरेका छन् । ‘भारतको ठूलो बजारमा नेपालबाट हुने निकासीको परिमाण निकै कम हुने भएकाले नेपाल सरकारले यो तथ्यमा भारतीय सरकार र त्यहाँका निकायहरूलाई सहमत तुल्याउनु पर्दछ,’ अग्रवालको भनाइ छ ।
विगत ६ महीनायता नेपालबाट तेल निकासी पुनः शुरू भएको हो । त्यसअघि भारतले शून्य सीमा शुल्कमा आयातको नीति लिएपछि नेपालबाट निकासी ठप्पजस्तै थियो । ६ महीनाअघि शुल्क बढाए पनि कच्चा पदार्थ भित्र्याएर प्रशोधित तेल पठाउन स्वदेशका उद्योगलाई थप ३ महीना लागेको थियो । बितेको ३ महीनामा नेपालबाट करीब ३ लाख टन भटमास र सूर्यमुखी तेल भारततर्फ गएको अनुमान उद्यमीहरूको छ ।
पाम तेल भने निकासी हुन सकेको छैन । आयातकर्ताले कच्चा पदार्थ घोषणा गरी ल्याएको पाम तेललाई भन्सारले प्रशोधितमा वर्गीकरण गरिदिएपछि यस्तो आयात रोकिएको हो । विगतमा सबैभन्दा बढी निकासी हुनेमा पाम तेल नै थियो ।
भन्सारले तयारी तेलमा वर्गीकरण गरेपछि पाम निकासी गर्न मिल्दैन । यो समस्याका कारण व्यवसायीले तेस्रो मुलुकबाट ल्याएको ४ अर्ब रुपैयाँ बराबरको २४ हजार टनभन्दा बढी यस्तो तेल भारतको कोलकाता बन्दरगाहमा रोकेर राखेका छन् ।