काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार अर्थात नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेको छ । यस दिन परिसूचक २ दशलमव ३५ अंक घटेर २ हजार २३ दशमलव ३५ विन्दुमा कायम भएको हो ।
पछिल्लो समय समग्रमा बजार हेर्दा साइडवेजमा देखिएको छ । नेप्से सूचकसँगै कारोबार रकम पनि औसतमा न्यून रहेको देखिन्छ । यसअघि नयाँ वर्षको पहिलो कारोबार दिन कस्तो होला भन्ने धेरै लगानीकर्तालाई चासो थियो । यद्यपि, यस दिन बजार बढ्न सकेन । वैशाखका लागि बैंकहरुले ब्याजदर थप घटाएका छन् । निक्षेपमा लगातार जसो ब्याजदर घट्दै जाँदा कर्जाको ब्याज पनि घटेको छ ।
समग्रमा बैंकहरुको बेसरेट घट्दै गएको छ । यसले लागत थप कम हुँदै गएको देखाउँछ । निरन्तर ब्याजदर घटे पनि अपेक्षा अनुसार कर्जा विस्तार हुन सकेको छैन । अर्कोतर्फ लगानीकर्ताहरु नितिगत परिर्वतन हुने पर्ने माग गरिरहेका छन् ।
बजार सामान्य अंक घट्दा लगानीकर्ताको आकर्षण वित्त र लघुवित्त समूहको शेयरमा परेको छ । लघुवित्त समूहका कम्पनीहरुको शेयर मूल्य निकै लामो समय देखि घट्दो थियो । यस कारण पनि खरीदकर्ता आकर्षित भएको देखिन्छ । त्यस्तै पछिल्लो समय भने लगानीकर्ताको आकर्षण कम शेयर पूँजी भएका कम्पनीको शेयरमा परेको देखिन्छ । छोटो समयमा राम्रो लाभ लिने सक्ने भएकाले पनि लगानीकर्ताको रोजाईमा कम पूँजी भएका कम्पनीको शेयरमा पर्छन ।
आइतवार ३२० धितोपत्रको ७७ लाख ९५ हजार ३३ कित्ता शेयर ५९ हजार ४२ पटकमा रू. ३ अर्ब ६ करोडभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये श्रृजनशिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू.१ हजार २६२ दशमलव ८० पुगेको छ । त्यस्तै दोस्रोमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य प्रतिकित्ता रू. ६६७ पुगेको हो ।
आइतवार सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. २ हजार १०६ मा झरेको छ । त्यस्तै दोस्रोमा हिमालयन ८० २० को इकाई मूल्य ४ दशमलव ४१ प्रतिशत घटेर रू. ८ दशमलव ६८ कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सानिमा माई हाइड्रोपावर कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. २१ करोड ४७ लाख बराबरको शेयर कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू.३३४ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा पोखरा फाइनान्सको रू. ११ करोड ७ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको हो । सबैभन्दा बडी लघुवित्त समूहको सूचक १ दशमलव ९१ प्रतिशत वृद्धि भएको छ भने घट्नेमा निर्जीवन बीमा समूहको सूचक १ दशमलव ०३ प्रतिशत घटेको हो ।