काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार बैंकले चालू आवको पहिलो त्रैमास अर्थात् तीन महीनामा रू. १ अर्ब ५१ करोड खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा २३ दशलमव ३६ प्रतिशत बढी हो । गत आवमा बैंकले रू. १ अर्ब २२ करोड नाफा कमाएको थियो ।
चालू आवमा खुद ब्याज आम्दानी घटेपनि इम्पेयरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।
बैंकको इम्पेयरमेन्ट चार्ज चालू आवमा रू. १ अर्ब ७८ करोडबाट घटेर १ अर्ब ७ करोडमा झरेसँगै सञ्चालन मुनाफा १९ दशमलव ४० प्रतिशत बढेको छ, जसका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।
चालू आवमा बैंकको खुद ब्याज आम्दानी १४ दशमलव २२ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २१ दशमलव १४ प्रतिशत बढेको छ ।
गत आवमा बैंकको सञ्चालन नाफा रू. १ अर्ब ७९ करोड रहेकोमा चालू आवमा बढेर रू. २ अर्ब १४ करोड भन्दा बढी पुगेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ७१ पैसा रहेकोमा चालू आवमा बढेर १६ रुपैयाँ ७४ पैसा पुगेको छ ।
बैंकको चुक्ता पूँजी रू. ३६ अर्ब १२ करोडभन्दा बढी छ । चालू आवको पहिलो त्रैमाससम्ममा बैंकले जगेडामा रू. २४ अर्ब ८९ करोड र रिटेन्ड अर्निङमा रू. १ अर्ब ९१ करोड सञ्चिति गरेको छ । सो अवधिमा बैंकको मूल्य आम्दानी अनुपात १५ दशमलव ७१ गुणा र प्रतिशेयर नेटवर्थ रू. १७४ दशमलव २० रहेको छ ।