काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको तीन महीना अर्थात् पहिलो त्रैमासमा रू. २२ करोड ५७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १२ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा बैंकले रू. २० करोड १५ लाख नाफा कमाएको थियो ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १९ पैसा रहेकोमा चालू आवमा १५ रुपैयाँ ९० पैसा कायम भएको छ । चालू आवमा बैंकको मूल्य आम्दानी अनुपात २९ दशलमव ५६ गुणा र प्रतिशेयर नेटवर्थ रू. १६२ दशमलव ०७ रहेको छ ।
चुक्ता पूँजी रू. ५ अर्ब ६८ करोड रहेको बैंकले चालू आवको पहिलो त्रैमासमा जगेडामा रू. २ अर्ब ८४ करोड र रिटेन्ड अर्निङमा रू. ६८ करोड ४४ लाख सञ्चिति गरेको छ ।