काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार चालू आवको तीन महीना अर्थात् पहिलो त्रैमासमा कम्पनी रू. ४१ लाख ५१ हजार नाफा कमाउन सफल भएको छ । गत आवको पहिलो त्रैमासमा भने कम्पनीले रू. २ लाख ९१ हजार मात्रै नाफा कमाएको थियो । यस आधारमा कम्पनीको नाफा गत आवको तुलनामा चालू आवमा उल्लेख्य वृद्धि भएको छ ।
चालू आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी वृद्धि भएकाले नाफा बढेको हो । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. ४ लाख १५ हजार रहेकोमा चालू आवमा बढेर रू. ५९ लाख ३० हजार पुगेको छ । त्यस्तै खुद ब्याज आम्दानी गत आवमा रू. ५ करोड ६८ लाख रहेकोमा चालू आवमा बढेर रू. ८ करोड २८ लाख पुगेको छ ।
गत आवमा १२ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी चालू आवमा १ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै चालू आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७७ छ ।
कम्पनीको निष्क्रिय कर्जा भने गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा वृद्धि भएको छ । गत आवमा १ दशमलव २० प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा चालू आवमा बढेर ३ दशमलव १९ प्रतिशत पुगेको हो ।
चालू आवमा कम्पनीको वितरणयोग्य नाफा रू. ९१ लाख १५ हजार ऋणात्मक छ । चुक्ता पूँजी रू. ९८ करोड १६ लाख रहेको कम्पनीले पहिलो त्रैमासमा जगेडामा रू. ३८ करोड ९६ लाख सञ्चिति गरेको छ ।