काठमाडौं । लुम्बिनी विकास बैंकले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार चालू आवको तीन महीना अर्थात् पहिलो त्रैमासमा रू. २० करोड १९ लाख नाफा कमाएको हो । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १६ दशमलव ५६ प्रतिशत बढी हो । गत आवमा बैंकले रू. १७ करोड ३२ लाख नाफा कमाएको थियो ।
चालू आवमा बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा १६ दशमलव २० प्रतिशत र खुद ब्याज आम्दानी ६ दशमलव ४६ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा बैंकको सञ्चालन नाफा रू. २५ करोड २६ लाख रहेकोमा चालू आवमा रू. २९ करोड ३५ लाख रहेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवमा रू. ४३ करोड १८ लाख रहेकोमा चालू आवमा रू. ४५ करोड ९८ लाख रहेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ४९ पैसा रहेकोमा चालू आवमा २२ रुपैयाँ ९७ पैसा रहेको छ ।
पहिलो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू. ३० करोड ९६ लाख छ । बैंकको चुक्ता पूँजी रू. ३ अर्ब ५१ करोड छ । बैंकले पहिलो त्रैमासमा जगेडामा रू. ३ अर्ब ८ करोड र रिटेन्ड अर्निङमा रू. ३० करोड ९६ लाख सञ्चिति गरेको छ । सो अवधिमा बैंकको मूल्य आम्दानी अनुपात २१ दशमलव ८१ गुणा र प्रतिशेयर नेटवर्थ रू. १९६ दशमलव ७९ रहेको छ ।