काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८९ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १० करोड ५१ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा रू. १९ करोड ८८ लाख कमाउन सफल भएको छ । आर्थिक मन्दी तथा व्यापारमा सुस्तताका कारण अघिल्लो वर्षमा घटेको कम्पनीको व्यापार तथा त्यसबाट हुने आम्दानीमा समेत यस वर्ष सुधार देखिएको छ । कम्पनीको आम्दानी गत आवको तुलनामा चालू आवमा ५२ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीको आम्दानी रू. ९७ करोड १८ लाख रहेकोमा चालू आवमा रू. १ अर्ब ४८ करोडभन्दा बढी छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७५ पैसा रहेकोमा चालू आवमा २९ रुपैयाँ ७७ पैसा रहेको छ ।
चालू आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ४५ दशमलव ८६ गुणा र प्रतिशेयर नेटवर्थ रू. १३३ दशमलव २९ रहेको छ । कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ६७ करोडभन्दा बढी छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा रू. ८८ करोड ९६ लाख सञ्चिति गरेको छ ।