काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकको नाफा गत आर्थिक वर्ष (आव)को पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २९ प्रतिशत वृद्धि भएको छ ।
बैंकहरूले बुधवार प्रकाशित चालू आव २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । राष्ट्रिय स्तरका आठ विकास बैंकले गत आवको पहिलो त्रैमासमा कुल रू. १ अर्ब १० करोड ७५ करोड नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. १ अर्ब ४२ करोड ९५ लाख पुगेको हो ।
आठ विकास बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक छ । यस बैंकले चालू आवको तीन महीनामा रू. २८ करोड १८ लाख नाफा कमाएको हो । पहिलो त्रैमासमा सर्वाधिक नाफा कमाउनेको सूचीमा दोस्रोमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक छ । कम्पनीले पहिलो त्रैमासमा रू. २३ करोड ९३ लाख नाफा कमाएको छ ।
यो सूचीमा तेस्रोमा गरिमा विकास बैंक छ । कम्पनीले रू. २२ करोड ५७ लाख नाफा कमाएको छ । यी आठ बैंकमध्ये सबैभन्दा कम नाफा कमाउनेमा सांग्रिला डेभलपमेन्ट बैंक छ । कम्पनीले रू. ६ करोड १ लाख नाफा कमाएको छ ।
त्यस्तै महालक्ष्मी विकास बैंकले पहिलो त्रैमासमा रू. ९ करोड ४२ लाख, ज्योति विकास बैंकले रू. १५ करोड ११ लाख, कामना सेवा विकास बैंक रू. १७ करोड ४९ लाख र लुम्बिनी विकास बैंकले रू. २० करोड १९ लाख नाफा कमाएको छ ।
बैंकको नाम | चालू आवको पहिलो त्रैमास खुद नाफा रू. हजारमा | गत आवको पहिलो त्रैमास खुद नाफा रू. हजारमा | घटबढ प्रतिशत |
मुक्तिनाथ विकास बैंक | 281,819 | 228,807 | 23.17 |
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक | 239,363 | 191,654 | 24.89 |
गरिमा विकास बैंक | 225,743 | 201,554 | 12 |
लुम्बिनी विकास बैंक | 201,985 | 173,280 | 16.57 |
कामना सेवा विकास बैंक | 174,979 | 119,521 | 46.4 |
ज्योति विकास बैंक | 151,190 | 50,802 | 197.61 |
महालक्ष्मी विकास बैंक | 94,289 | 95,378 | -1.14 |
सांग्रिला डेभलपमेन्ट बैंक | 60,179 | 46,591 | 29.16 |
कुल | 1,429,547 | 1,107,587 | 29.07 |
स्रोत : कम्पनीले प्रकाशित गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण ।