काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक २२ दशमलव २३ अंक घटेको छ । नेप्से २ हजार ६१० दशमलव २१ विन्दुमा झरेको हो । आजसँगै नेप्से लगातार ६ कारोबार दिन घटेको हो । ६ कारोबार दिनमा नेप्से २१९ दशमलव ९७ अंक घटेको छ ।
करिब रू. ३० अर्ब बराबरको कारोबार भएकोमा रू. ६ अर्ब ८५ करोडमा झरेको छ । नेप्से ३ हजार विन्दुबाट घटेर अहिले २६ सयको मनोवैज्ञानिक बिन्दुनजिक आएको छ । यसरी बजार निरन्तर ओरालो लाग्दा कम्पनीहरूको शेयर मूल्य निकै सस्तो भइसकेको छ । शेयर मूल्य घटेर सस्तो भएकाले अत्यावश्यक अवस्थामा बाहेक शेयर बिक्री गर्न चाहनेहरूका संख्यामा कमी आएको ब्रोकरहरूको भनाई छ ।
यसोत बजार घटिरहदा तल्लो मूल्यमा विक्री गर्न नचाहेको ,खरीदकर्ता पनि अन्योलको कारण अहिलेको मूल्यमा खरीद गर्न राजी नभएकाले र लगानीकर्ताको सक्रियता कम भएकोले पनि कारोबार केही घटेको देखियो ।
प्रोफिट बुक गरेकाहरु अझै बजार प्रवेश नगरेकाले नेप्से सुस्त भएको देखियो । यसअघि छोटो समयमै नेप्से ४६ प्रतिशतभन्दा बढीको वृद्धि भएको थियो । यसरी बढेको बजारबाट नाफा बुक गरेकाहरु पुनः प्रवेश नगरिसकेकोले पनि सुस्त भएको अनुमान लगाउन सकिन्छ ।
बुधवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९२ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७३ प्रतिशत घटेको छ । यस दिन ३१७ धितोपत्रको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता शेयर ८७ हजार ३६ पटकमा रू. ६ अर्ब ८५ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ४०३ दशमलव ५० पुगेको छ । त्यस्तै दोस्रोमा थ्रि स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ४८ प्रतिशत बढेर रू. १ हजार १५५ कायम भएको छ ।
बुधवार एसियन हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ६ दशमलव ८८ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.६१७ मा झरेको छ । त्यस्तै दोस्रोमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ५ दशमलव २६ प्रतिशत घटेर रू. ९ सय कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ३४ करोड ७३ लाख बराबरको शेयर कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. २ हजार २५४ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनएलजी इन्स्योरेन्स कम्पनीको रू. २१ करोड १० बराबरको भएको हो ।
कारोबारमा आएका १३ समूहगत सूचकमध्ये तीन समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको हो । सबैभन्दा बढी वित्त समूहको सूचक शून्य दशमलव ४३ प्रतिशत वृद्धि भएको छभ ने जीवन बीमा समूहको सूचक १ दशमलव ८५ प्रतिशत घटेको छ ।