काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले माघ ९ गतेदेखि निष्कासन गरेको ९ प्रतिशत ब्याजदर रहेको ऋणपत्रमा उच्च माग भएपछि छिटो अवधिभित्र मात्र निष्कासन गरिने भएको छ । कम्पनीले प्रतिऋणपत्र १००० रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये १८ करोड रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न संघसस्थाहरूमा विक्री हुनेछ भने १२ करोड रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता ऋणपत्र भने सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको हो । सार्वजनिक निष्कासनको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि छिटो अवधि माघ १३ गतेसम्म मात्र निष्कासन गर्न लागिएको जानकारी कम्पनीले दिएको छ ।
कम्पनीको ऋणपत्रमा माघ १३ गते १० बजेसम्म ९ हजार ४६७ जनाबाट ७ लाख ७ हजार ९११ कित्ता ऋणपत्र खरीद माग भएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जानकारी दिएको छ । यो ऋणपत्रमा आवेदन दिँदा न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले ७ वर्ष अवधिको ऋणपत्र निष्कासन गरेको हो ।
यो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । खरीदकर्ताहरूले विक्री प्रबन्धसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।