काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई–लोन सेवा शुरू गरेको छ । मंगलवार कम्पनी सञ्चालक समिति तथा उच्च व्यवस्थापनको उपस्थितिमा अध्यक्ष डा. रामहरी अर्यालले सेवाको उद्घाटन गरेका हुन् ।
यो सेवाले घरबाटै बीमितले ऋणको लागि आवेदन दिन र ऋण प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएको बताइएको छ । बीमितले घरबाटै आईएमई लाइफ मोबाइल एप र कम्पनीको वेबसाइटका माध्यमबाट ५ हजारदेखि १ लाख रुपैयाँसम्म ई–लोनका लागि आवेदन दिन सक्नेछन् ।
बीमितले कम्पनीको वेबसाइटमार्फत आफू बसेकै स्थानबाट चौबिसै घण्टा कर्जाका लागि आवेदन दिनसक्ने र कार्यालय खुलेको समयमा तुरुन्तै कर्जा प्राप्त गर्न सक्ने बताइएको छ । यसरी कर्जा लिँदा कुनै पनि अतिरिक्त सेवा शुल्क नलाग्ने बताइएको छ । कर्जा पाउन केवाईसी प्रमाणीकरण पूरा भएका साथै बीमा शुल्क भुक्तानी गरेको कम्तिमा ३ वर्ष पूरा भइसकेको हुनुपर्ने बताइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काज्यूले ई–लोन सेवाले कम्पनीका बीमितलाई सरल र सहज कर्जासेवा प्रदान गर्ने विश्वास लिएको बताए । डिजिटाइजेसन, अटोमेसन र द्रुतसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिँदै ग्राहकसेवा र अनुभवलाई थप परिष्कृत र उत्कृष्ट बनाउन यो सेवा ल्याइएको उनको भनाइ छ ।