काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले साउन २७ गतेदेखि भदौ १६ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको १७ लाख ५० हजार २४८ कित्ता हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको हो ।
कम्पनीले असोज ११ गतेदेखि २० गतेसम्म अवितरित हकप्रद शेयर विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक २ गते खोलेर कम्पनीको सञ्चालक समितिको बैठकले यही कात्तिक ६ गते बाँडफाँट गरेको हो ।
प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा लिलामीमा विक्री खुला गरेको यी शेयर बाँडफाँटको अन्तिम मूल्य १७१ रुपैयाँ कायम भएको जानकारीसमेत कम्पनीले दिएको छ ।
यी शेयर बाँडफाँटमा नपरेको शेयर बापतको रकम कात्तिक ७ गतेदेखि आवेदकहरूको बैंक खातामै रकमान्तर गरिने कम्पनीको भनाइ छ । कम्पनीको विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छ ।
कम्पनीले १५० प्रतिशत दरको १ करोड २० लाख कित्ता हकप्रद शेयर असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि विक्री गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रुपैयाँको आधारमा विक्री गरेको १५० प्रतिशत हकप्रद शेयर पूर्णरूपमा विक्री तथा बाँडफाँटपछि चुक्तापूँजी २ अर्ब रुपैयाँ कायम भएको छ ।