केही दशकअघि चितवन आउने पर्यटकका लागि सौराहामात्र गन्तव्य थियो । सौराहाको विकल्प चितवनमा अन्य कुनै गन्तव्य खासै विकास भएको थिएन । पछिल्लो समय पटिहानी, मेघौली, देवघाट, माडीजस्ता क्षेत्र पनि पर्यटकीय केन्द्र बनेका छन् । पर्यटक आगमन बढेकै कारण विशेष गरी चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय नजिक पर्ने पटिहानीमा तारे होटेल खुल्ने क्रम बढ्दो छ ।
पर्यटन व्यवसाय शहरकेन्द्रित नभई ग्रामीण तथा पहाडी क्षेत्रमा समेत विस्तार भएको देख्न पाइन्छ । चितवनका कालिका, माडी र राप्ती नगरपालिकामा पनि पर्यटकीय होटेल, रिसोर्ट, पार्क निर्माण भइरहेका छन् । चितवन होटेल व्यवसायी संघका अध्यक्ष लोकनाथ भट्ट पछिल्लो समय शहरमा भन्दा ग्रामीण क्षेत्रमा होटेल, रिसोर्ट खुल्ने क्रम बढेको बताउँछन् । ‘पहिले शहर लक्षित पर्यटन व्यवसाय थियो, अहिले अग्र्यानिक परिकार, प्राकृतिक सुन्दरता र शान्त वातावरण मन पराउने पर्यटक छन् । चितवनमा भौगोलिक विविधता पनि छ । त्यसैले पनि यहाँ पर्यटकीय पूर्वाधार थपिने क्रम बढ्दो छ,’ अध्यक्ष भट्टले भने ।
त्यसो त चितवनमा स्थानीय सरकारले विकास गरेका गन्तव्य पनि पर्यटकको रोजाइमा छन् । स्थानीय सरकारले पनि पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आएका छन् ।
मेघौली, देवघाटधाम, पटिहानी, सोमेश्वरगढी, बीसहजारी ताल, चौकीडाँडा, जलवीरे झरना, सिन्ती झरना, परेवाकोट, गोद्धकधाम, वैकुण्ठधाम, सिराइचुली, उपरदाङगढी, इच्छाकामना, कुरिनटारजस्ता गन्तव्य पर्यटकको रोजाइमा परेका छन् । अहिले नारायणी नदीमा मिनी क्रुज सिप, नारायणी तिरमा बोटिङ, पटिहानीमा अम्रेला स्ट्रिट, जिप सफारी, विभिन्न फर्न पार्क आन्तरिक तथा विदेशी पर्यटकको रोजाइका गन्तव्य बनेका छन् ।
देशकै प्रमुख धार्मिक स्थलमध्ये एक देवघाट चितवनमै छ । तनहुँ, चितवन र नवलपुर जिल्लाको संगमस्थलमा त्रिशूली र कालिगण्डकी नदी मिसिएका छन् । यसले धार्मिक पर्यटकलाई आकर्षित गर्दै आएको छ । देवघाटधाममा विशेष गरी भारतीय पर्यटक बढी आउँछन् । मुक्तिनाथसँग जोडेर पर्यटक तान्न सकिने क्षेत्र पनि हो– देवघाट । त्यस्तै नेपाल सरकारले छानेका १०० पर्यटकीय गन्तव्यमा परेको माडीको सोमेश्वरगढी पनि धार्मिक दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो ।
प्रकृतिका मनोरम दृश्य तथा समथर भू–भाग अवलोकन गर्दै धार्मिक उद्देश्य पूरा गर्न कालिका मन्दिरमा भारतबाट समेत भक्तजन आउँछन् । पछिल्लो समय धार्मिक गन्तव्यमा पनि भक्तजनलाई लक्षित गरेर होटेल, रिसोर्ट खुल्ने क्रम बढेको भरतपुर महानगरपालिकाका पर्यटनविज्ञ डा. विश्व सुवेदी बताउँछन् ।
माडी क्षेत्रमै पर्ने वाल्मिकी आश्रम पनि धार्मिक दृष्टिले महत्त्वपूर्ण छ । भारतसँग जोडिएको यस क्षेत्र ऐतिहासिक धार्मिक केन्द्र हो । यहाँ वाल्मिकी, लव, कुश, सीता, हरिहरनाथका मन्दिर, मन्दिरको भित्री पर्खालमा शिवलिंग, वराह अवतार, नवग्रह, विष्णु, लक्ष्मीनारायण, वामन अवतार, हनुमान आदिका प्रस्तर मूर्ति सजाएर राखिएका छन् । पहाडी क्षेत्रमा सिराइचुली, उपरदाङगढी प्रमुख स्थल हुन् । सिराइचुली चितवन जिल्लाको सबैभन्दा अग्लो डाँडो हो । यो समुद्री सतहबाट १९४७ मीटर उचाइमा छ । सिराइचुलीमा प्याराग्लाइडिङको समेत सम्भावना रहेको बताउँछन् डा. सुवेदी । ‘सिराइचुली, चौकीडाँडालगायत स्थानमा भ्युटावर राखेर हामीले चितवन निकुञ्ज, माडी क्षेत्रका समथर भागको अवलोकन गर्न सक्छौं,’ उनले भने । चितवनको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढी ऐतिहासिक गढी हो । पर्यटनविद् सुवेदीका अनुसार चितवनमा ८० ओटा गन्तव्य बनिसकेका छन् । कतिपय नयाँ गन्तव्यमा पर्यटकको चाप बढिसकेको छ भने कतिपयमा पूर्वाधार थपिने क्रम बढ्दो छ ।
भरतपुर भ्रमण वर्षको अवसरमा महानगरपालिकाले १० भन्दा बढी नयाँ गन्तव्यको प्रचारप्रसार गरी प्रवर्द्धन गरिरहेको छ । केही वर्षअघि ४० ओटामात्र गन्तव्य भएको चितवनमा अहिले ८० भन्दा बढी पर्यटकीय गन्तव्य विकास भएको र ती स्थानमा होटेल, रिसोर्ट बन्ने क्रम बढेको होटेल व्यवसायी महासंघका अध्यक्ष दिनेशकुमार चुके बताउँछन् । पछिल्लो समय तत्कालीन राजा महेन्द्रले देहत्याग गरेको दियालो दरबारमै मासिक १० हजारभन्दा बढी पर्यटक अवलोकनको लागि पुगेको तथ्यांक छ ।
भरतपुर महानगरपालिकाको नारायणगढ बजारबाट १८ किलोमीटर पूर्वमा रहेको भोर्लेबाट करीब आधा घण्टा उकालो पैदल यात्रापछि समुद्री सतहबाट ११०० मीटरको उचाइमा रहेको चौकीडाँडा पुगिन्छ । पछिल्लो समय चौकीडाँडा नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । चौकीडाँडामा लालीगुँरास, सुनाखरी, सुनगाभा फुल्छन् । विशेष गरी गर्मीको समयमा यहाँ धेरै आन्तरिक पर्यटक उक्लिन्छन् ।
गतवर्षदेखि साहसी खेल प्याराग्लाइडिङ र भ्युटावर निर्माण शुरू भएपछि चौकीडाँडामा पर्यटकीय गतिविधि बढेको छ । नयाँ मध्यस्तरका होटेल, होम स्टे समेत खुल्ने क्रम बढेको छ । त्यहाँका अग्र्यानिक उत्पादन, लोकल कुखुरा, हाँस, कालिज र खसीका परिकारले पर्यटकलाई लोभ्याउने गरेको छ ।
होटेल पूर्वाधारमा बढ्दो लगानी
नयाँनयाँ पर्यटकीय गन्तव्यको विकाससँगै चितवनमा पर्यटकलक्षित सुविधासम्पन्न होटेल खोल्ने क्रम बढेको छ । भरतपुर महानगरपालिकाभित्र २५० होटेल छन् । ती होटेलले ६ हजार पर्यटक धान्न सक्ने होटेल व्यवसायी महासंघका अध्यक्ष चुके बताउँछन् । सौराहा, गैंडाकोटलगायत ठाउँमा पनि २०० हाराहारी सुविधासम्पन्न होटेल रहेको उनले बताए । चितवनका होटेलले दैनिक १५ हजारभन्दा बढी पर्यटक धान्न सक्ने उनको भनाइ छ । अहिले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि भरतपुर महानगरपालिकाले उच्च प्राथमिकता दिएर भ्रमण वर्ष मनाइरहेको छ ।
पर्यटकीय पूर्वाधार निर्माणसँगै पर्यटन व्यवसायमा लगानी र रोजगारीको संख्या बढेको छ । विशेष गरी काठमाडौंका चेन होटेल सोल्टी, एभरेस्ट, सांग्रिलालगायतले चितवनमा पूर्वाधारको काम अघि बढाएका छन् ।
अन्तरराष्ट्रिय स्तरका चेन होटेल मेघौली सेराई, भिभान्ता, रिजेन्टा लगायतले पनि सेवा विस्तार गरेका छन् । पर्यटनविज्ञ डा. सुवेदी नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी चितवनमा ठूला तथा मध्यमस्तरीय होटेल खुल्ने क्रम बढेको बताउँछन् । भ्रमण वर्षलाई लक्ष्य गरी धेरै चेन होटेल पनि आए, नयाँ पनि बने । तर, कोरोनाका कारण कतिपयको निर्माण कार्य रोकिएको थियो । अहिले फेरि निर्माण र सञ्चालन शुरू भएको छ ।
चितवनका होटेलहरूमा जग्गाबाहेक नै २० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको र १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको डा. सुवेदीको भनाइ छ । उनका अनुसार पछिल्लो चार वर्षमा साना ठूला गरी ३०० होटेल, रिसोर्ट, रेस्टुराँ तथा ३०० भन्दा बढी होमस्टे र साना होटेल खुलेका छन् । यो अवधिमा पर्यटन व्यवसायकै लागि ६०० बिगाहाभन्दा बढी जग्गा किनबेच भएको उनले बताए । हाल चितवनका होटेल र रिसोर्टसँग २० हजार हाराहारी पर्यटक धान्न सक्ने क्षमता रहेको उनको भनाइ छ । तीव्र गतिमा पर्यटकीय पूर्वाधार थपिए पनि यातायात पूर्वाधार गुणस्तरी नहुँदा छिमेकीलगायत अन्य देशका पर्यटक आउन नसकेको व्यवसायीको गुनासो छ ।
सौराहालाई चितवनको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने अधिकांश पर्यटक सौराहा क्षेत्रबाटै प्रवेश गर्छन् । क्षेत्रीय होटेल संघ सौराहाका अध्यक्ष गंगा गिरी पनि नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी चितवनमा धमाधम पर्यटकीय पूर्वाधार थपिएको बताउँछन् । ‘यसबीचमा झन्डै १५ ओटा पर्यटकीय होटेल थपिएका छन् । कतिपय व्यवसायीले रिनोभेशन पनि गरे,’ अध्यक्ष गिरीले भने, ‘कोरानामा निर्माण गर्न रोकिएका कतिपय होटेल अहिले पुन: निर्माणको चरणमा छन् । कोरोनाकालमा होटेल व्यवसायमा ठूलो घाटा भए पनि त्यसपछि सुध्रिँदै आएको उनले बताए ।
‘गतवर्ष सौराहामा मात्रै २ लाख पर्यटक भित्रिएका थिए, यो वर्ष हामीले साढे २ लाख भित्त्याउने लक्ष्य राखेका छौं,’ अध्यक्ष गिरीले भने । सौराहामा चेन, पर्यटकीय स्तरका र विदेशी लगानीका होटेलहरू थपिएको उनले जानकारी दिए । चितवन देशकै केन्द्र बिन्दु र भौगोलिक, सांस्कृतिक विविधतायुक्त भएकाले पनि ठूला होटेल आउने क्रम बढेको हो । विशेष गरी यहाँ जंगल सफारी, होम स्टे, धार्मिक पर्यटन, जलपर्यटनलगायत प्रशस्त पूर्वाधार थपिएका छन् ।
उद्योग वाणिज्य संघ चितवनका सुमनकुमार श्रेष्ठ नेपाल भ्रमण वर्ष २०२० पछि चितवनमा ६ प्रतिशत हाराहारी होटेल र रिसोर्ट थपिएको बताउँछन् । ‘भिजिट २०२० सँगै चितवनमा चेन, फ्रेन्चाइज होटेलहरू खुल्ने क्रम बढ्यो,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘किनकि चितवनमा केही समयको दूरीमा तराईदेखि हिमालसम्मको आनन्द लिन सकिन्छ ।’