धितोपत्र बजारमा छोटो अवधिमै जलविद्युत् समूह महत्त्वपूर्ण हिस्सा हासिल गर्न सफल भएको छ । हाल कुल बजार पूँजीकरणमा बैंकिङ समूहपछि जलविद्युत् समूहको सर्वाधिक अंंश रहेको छ ।
जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि अनिवार्य शेयर छुट्ट्याउनुपर्ने व्यवस्था र सर्वसाधारणमा शेयर जारी गर्नुपर्ने कानूनी व्यवस्थाका कारण जलविद्युत्को शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुन थालेको हो । यसरी शेयर जारी गरेर जलविद्युत् परियोजना बनाउन जलविद्युत् कम्पनीले वित्तीय स्रोत पनि जुटाउन सकेका छन् ।
२४५ कम्पनी सूचीकृत रहेको नेपालको धितोपत्रको दोस्रो बजारमा जलविद्युत् क्षेत्रका मात्र ९१ कम्पनी छन् । २०८१ साउन मसान्तसम्म ४७ खर्ब ६५ अर्ब ९० करोड ९८ लाख रुपैयाँ कुल बजार पूँजीकरण रहेकोमा जलविद्युत् समूहको अंश ७ खर्ब ३६ अर्ब १७ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
- आव २०८०/८१ मा सर्वाधिक रकमको शेयर कारोबार गर्ने कम्पनीको सूचीमा जलविद्युत् अग्रस्थानमा
- लाइसेन्स अवधि समाप्त भएपछि सरकारी स्वामित्वमा जाने व्यवस्था परिमार्जन गर्नुपर्ने लगानीकर्ताको माग
- १७ ओटा जलविद्युत् कम्पनी शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने पाइपलाइनमा
नेप्सेका अनुसार दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये वाणिज्य बैंकपछि जलविद्युत् समूहको पूँजीकरण बढी छ । सूचीकृत कम्पनी संख्यामा भने जलविद्युत् क्षेत्र अगाडि छ । पछिल्लो वर्ष मात्र ११ जलविद्युत् कम्पनी दोस्रो बजारमा थपिएको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिए ।
आर्थिक वर्ष (आव) २०७९/८० को अन्त्यसम्म ८० ओटा जलविद्युत् कम्पनी सूचीकृत रहेकामा आव २०८०/८१ को अन्त्यसम्म ९१ पुगेको पराजुलीको भनाइ छ । यस क्षेत्रका कम्पनीको शेयर कारोबारमा समेत लगानीकर्ता बढी सक्रिय रहेको उनी बताउँछन् । गत साउनको अन्तिम कारोबार दिन २९ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको धितोपत्र किनबेच हुँदा जलविद्युत् समूहका कम्पनीले नै सर्वाधिक अंश ओगटेका थिए । उक्त दिन जलविद्युत् समूहको १० अर्ब ३२ करोड ७८ लाख रुपैयाँभन्दा बढीको २ करोड ५४ लाख २९ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको पराजुलीले जानकारी दिए ।
गत आव २०८०/८१ मा सर्वाधिक रकमको शेयर कारोबार गर्ने कम्पनीको सूचीमा जलविद्युत्का नै अग्रस्थानमा देखिन्छन् । सूचना अधिकारी पराजुलीले दिएको जानकारीअनुसार गत आवमा हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक कित्ता शेयर कारोबार भएको छ । उक्त वर्ष यस कम्पनीको ४ करोड १९ लाख ५० हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको पराजुलीले बताए ।
बजारमा जलविद्युत् कम्पनीको संख्या थपिएसँगै कुल बजार पूँजीकरण पनि बढ्दो गतिमा छ । आव २०७९/८० मा ४ खर्ब ७ अर्ब ३८ करोड ९० लाख रुपैयाँ रहेको जलविद्युत् समूहका कम्पनीको कुल बजार पूँजीकरण आव २०८०/८१ सम्म ५ खर्ब ३६ अर्ब ६८ करोड ९९ लाख रुपैयाँ पुगेको थियो । एक आवमा जलविद्युत् समूहको पूँजीकरण १ खर्ब २९ अर्ब रुपैयाँभन्दा धेरैले वृद्धि भएको अवस्था छ । पछिल्लो १ महीनामै जलविद्युत् समूहको पूँजीकरण १ खर्ब ९९ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको अवस्था छ ।
जलविद्युत् कम्पनीहरूले बजारमा आफ्नो अंश बढाइरहेको बेला कम्पनीको लाइसेन्स अवधि समाप्त भएपछि सरकारी स्वामित्वमा जाने व्यवस्था परिमार्जन गर्नुपर्ने माग लगानीकर्ताको छ । साना लगानीकर्ताको रूपमा परिचित पुराना लगानीकर्ता डम्बरुवल्लभ घिमिरे आफूसँग जलविद्युत् समूहअन्तर्गतका अधिकांश कम्पनीको शेयर रहेको बताउँछन् । कम पूँजी भएका जलविद्युत् कम्पनीको शेयरमा पछिल्लो समय लगानीकर्तामा देखिएको आकर्षण हेर्दा उनीहरूको लगानी सुरक्षित गर्ने नीतिको आवश्यकता देखिएको उनले बताए । उनी हालको व्यवस्थामा रहेको ३५ वर्षसम्मको लाइसेन्स अवधि बढाएर ५० वर्ष पुर्याउनुपर्ने सुझाउँछन् ।
‘जलविद्युत् क्षेत्रमा आयोजना प्रभावित स्थानीयदेखि सर्वसाधारण लगानीकर्तासम्मले लामो समय पर्खेर प्रतिफल प्राप्त गर्ने आश गरेका हुन्छन्,’ घिमिरेले भने, ‘कम्पनीले राम्रो आम्दानी गर्न पाउँदा नपाउँदै सरकारी स्वामित्वमा जाने हालको व्यवस्थाले आम लगानीकर्ताको प्रतिफल के हुन्छ भन्ने प्रश्न उठेको छ ।’
आयोजना निर्माण अवधिबाहेक ५० वर्षपछि मात्र सरकारलाई जलविद्युत् आयोजनाहरू हस्तान्तरण गर्नुपर्ने व्यवस्था लागू गर्न घिमिरेले माग गरे । अहिले निजीक्षेत्रबाट निर्माण भएका आयोजना ३५ वर्षपछि सरकारमा हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्थाअनुसार ३५ वर्षपछि जलविद्युत् कम्पनीमा शेयर लगानी गरेका व्यक्तिको अवस्था के हुन्छ भन्ने प्रश्न उठेको छ ।
जलविद्युत् कम्पनीका सञ्चालकहरू पछिल्लो समय यस क्षेत्रका लागि आवश्यक पूँजी सहज रूपमा जुट्ने भएसँगै कम्पनीहरू धितोपत्र बजारमा प्रवेश गर्ने क्रम बढेको बताउँछन् । कुथेली बुखरी स्मल हाइ्रोपावर लिमिटेडका सञ्चालक लक्ष्मणबहादुर श्रेष्ठ आयोजना निर्माणका लागि सर्वसाधारणमा शेयर विक्री गरेर पूँजी जुटाउने माध्यमलाई धेरै जलविद्युत् कम्पनीले सहज रूपमा लिएको बताउँछन् । सर्वसाधारणमा शेयर विक्रीपछि ऋण रकम भुक्तानीका लागि पनि हकप्रदमार्फत थप पूँजी जुटाउन सकिने व्यवस्थाले जलविद्युत् कम्पनीहरू यो क्षेत्रप्रति बढी आकर्षित भएको उनको भनाइ छ । जलविद्युत् कम्पनीप्रति लगानीकर्ताको आकर्षण देख्दा सम्पूर्ण जलविद्युत् कम्पनीलाई पनि आफ्नो दायित्वबोध हुनुपर्ने अवस्था आएको उनी बताउँछन् ।
२ हजार ७२६ रुपैयाँसम्म पुग्यो शेयरमूल्य
९१ सूचीकृत जलविद्युत् कम्पनीमध्ये एउटाको प्रतिकित्ता शेयरमूल्य दोस्रो बजारमा २ हजार ७२६ रुपैयाँसम्म पुग्यो । कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्यले उक्त बिन्दु छोएको हो । अर्को माण्डु हाइड्रोपावरको प्रतिकित्ता शेयरमूल्य १ हजार ४९३ रुपैयाँसम्म पुगेको देखिन्छ । भगवती हाइड्रोपावरको शेयर पनि प्रतिकित्ता १ हजार ३६१ रुपैयाँसम्ममा दोस्रो बजारमा कारोबार भएको देखिन्छ । शुभम पावरको प्रतिकित्ता १ हजार १०९ रुपैयाँ र सुपर माई हाइड्रोपावरको १ हजार ८४ रुपैयाँसम्म पुगेको अभिलेख छ । जलविद्युत् कम्पनीमध्ये सर्वाधिक शेयरमूल्य रहेका पाँचमध्ये तीन कम्पनीले हालसम्म लाभांश वितरण गरेका छैनन् । हालसम्म लाभांश वितरण नगर्नेमा सर्वाधिक शेयरमूल्य भएको कुथेली बुखरी स्मल हाइड्रोपावर, शुभम पावर र सुपरमाई हाइड्रोपावर छन् । माण्डु र भगवती हाइड्रोपावरले भने लाभांश वितरण गर्न थालिसकेका छन् । माण्डु हाइड्रोपावरले आर्थिक वर्ष २०७९/८० देखि लाभांश वितरण गर्न थालेको छ । सो वर्ष माण्डुले १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । भगवती हाइड्रोपावरले पनि आर्थिक वर्ष २०७९/८० देखि नै लाभांश वितरण गर्न थालेको छ । यस कम्पनीले १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सार्वजनिक निष्कासनको तयारीमा पनि जलविद्युत् कम्पनी नै अगाडि
धितोपत्रको दोस्रो बजारमा वर्चस्व कायम रहेको जलविद्युत् कम्पनीहरूले सार्वजनिक निष्कासनमा समेत वर्चस्व कायम गरेका छन् । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) र हकप्रद शेयर निष्कासनको लागि आवेदन दिएका कम्पनीमध्ये जलविद्युत् कम्पनीको संख्या बढी देखिन्छ ।
नेपाल धितोपत्र बोर्डमा परेको आवेदन हेर्दा ३४ कम्पनी आईपीओको पाइपलाइनमा छन् । त्यसमा जलविद्युत्तर्फका मात्र १७ कम्पनी छन् । बोर्डका अनुसार १७ करोड ३ लाख ३४ हजार ४७ कित्ता शेयर निष्कासनका लागि आवेदन प्राप्त भएकोमा जलविद्युत्तर्फको मात्र ७ करोड ४६ लाख ४७ हजार ५३७ कित्ता छ । त्यस्तै २२ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएकोमा जलविद्युत्का १४ छन् । १९ करोड ४० लाख २५ हजार २२९ दशमलव २३ कित्ता हकप्रद शेयर निष्कासनको तयारी भएकोमा जलविद्युत् कम्पनीको अंश १० करोड ८६ लाख ८९ हजार २०२ दशमलव २३ कित्ता छ । आईपीओको तथ्यांक हेर्दा आगामी दिनमा बजारमा जलविद्युत्का धेरै कम्पनी थपिने देखिन्छ ।