मैले काम गरेको अन्य परिपक्व एवं विकसित बजारको तुलनामा नेपाली ई–कमर्सको बजार विकासको चरणमा छ । धेरै विक्रेता अझै पनि अनलाइन विक्रीमा नयाँ छन् । त्यसैले यसमा हाम्रो भूमिका ग्राहकलाई अनलाइन किनमेलमा उत्कृष्ट अनुभव सुनिश्चित गर्नु हो । यसका लागि विक्रेताले आफ्ना उत्पादनलाई राम्ररी प्रस्तुत गर्न अनलाइन पेज बनाउनेदेखि वितरणका लागि आकर्षक प्याकेजिङ गर्ने कामसम्ममा हामी मद्दत गर्छौैं । विक्रेता जस्तै धेरै ग्राहक अझै पनि अनलाइन किनमेलमा पूर्णरूपमा नयाँ छन् । त्यसैले यहाँ हाम्रो भूमिका भनेको उनीहरूलाई सजिलो किनमेल अनुभव दिलाउने, निरन्तर नयाँनयाँ अफर दिएर ग्राहकको ध्यान तान्ने र ग्राहकले चित्त नबुझाएको अवस्थामा सजिलैसँग सामान फिर्ता लिने नीति लागू गर्न हाम्रो भूमिका रहन्छ । इन्टरनेटको पहुँच बढ्दै गएको सन्दर्भमा अनलाइन किनमेलमा ग्राहकको विश्वास बढेपछि, भविष्यमा ग्राहक संख्या थपिँदै जाने हाम्रो अपेक्षा छ ।
हामीले केही वर्षदेखि मानिशहरूमा अनलाइन किनमेलसम्बन्धी चेतना र इच्छा दुवै बढेको देखेका छौं । इलेक्ट्रोनिक सामानका अतिरिक्त आमा र बच्चाका लागि चाहिने सामग्री, स्वास्थ्य र सौन्दर्य साधन, फर्निचर र सजावटजस्ता वस्तुमा अनलाइन किनमेल विगत २ वर्षमा बढेको छ । हाम्रो प्लेटफर्ममा विक्रेताको संख्या पनि विगत २ वर्षमा बढेको छ । हामीसँग यस्ता विक्रेता पनि छन् जसले अनलाइनबाट मात्रै बेच्छन् । उनीहरूसँग भौतिक पसल नै छैन । यसले पनि मानिशहरू विस्तारै अनलाइन किनमेलतिर ढल्किरहेको देखाउँछ ।
मानिसले अनलाइन किनमेल गर्न हिचकिचाउनुको प्रमुख कारण अनलाइन प्लेटफर्मप्रति पूर्ण विश्वस्त हुन नसक्नु हो । अधिकांश मानिस मेहनतको कमाइ खर्च गर्नुअघि आफूले किन्न लागेको सामान हेर्न र छुन रुचाउँछन् ।
इन्टरनेटको पहुँचमा भएको वृद्धिले गर्दा विगत केही वर्षदेखि नेपाली उपभोक्तामा ई–कमर्स अपनाउने प्रवृत्ति बढेको हामीले देखेका छौं । सन् २०२३ मा इन्टरनेटको विस्तार दर बढेर ५१ दशमलव ६ प्रतिशत पुग्यो, जुन २०१८ मा २९ प्रतिशत मात्र थियो । अचेल काठमाडौं उपत्यकाभित्र र बाहिर दुवैतिरबाट सामानको अर्डर आउने गरेको छ । हाम्रो तथ्यांकले काठमाडौं उपत्यकाबाट ५४ प्रतिशत र बाहिरबाट ४६ प्रतिशत अर्डर आएको देखाउँछ ।
अर्डरको ठूलो अंश १८ देखि २४ वर्ष उमेरसमूहका युवाबाट आउँछ । तथापि, हामीले धेरै युवाले आफ्ना आमाबुबा र हजुरबुबा हजुरआमाका लागि पनि सामान अर्डर गर्ने गरेको देखेका छौं । यस हिसाबमा हामीले सबै उमेरसमूहका ग्राहकलाई सेवा दिइरहेका छौं भन्न सकिन्छ ।
हामीले नेपालमा ई–कमर्सको निरन्तर वृद्धि हुने ठूलो अवसर देखेका छौं । आज २२ हजारभन्दा बढी विक्रेता दराज नेपालमा आबद्ध छन् । तीमध्ये ८५ प्रतिशत साना तथा मझौला व्यवसाय छन् । यसले नेपालका १०८ फरक ठाउँमा बसोवास गर्ने २४ लाख ग्राहकलाई आपसमा जोड्ने प्लेटफर्म प्रदान गर्छ । दराजमा नोभेम्बर ११ वा (११:११) को ठूलो अनलाइन सपिङ मेलामा हामीले १ लाख ५० हजार मानिसलाई एकै दिन सेवा दियौं, जसमा २० प्रतिशत ग्राहक पहिलोपटक खरीद गर्दै थिए । यसले पनि मानिसमा ई–कमर्सप्रति आकर्षण बढ्दै गएको स्पष्ट पार्छ । दराजले प्रविधि, लजिस्टिक र भुक्तानी पूर्वाधारमा भएको प्रगतिमार्फत यो क्षेत्रमा दिगो ई–कमर्स इकोसिस्टम निर्माण गर्न निरन्तर लगानी गरिरहेको छ । अलिबाबा इकोसिस्टमको एक अंगको रूपमा दराजले विशेष गरी साना तथा मझौला व्यवसायीलाई आफ्ना वस्तु बजारमा जाने, बेच्ने र कारोबार सञ्चालन गर्ने तरीकामा रूपान्तरण गरेर सहजता प्रदान गर्छ । उनीहरूलाई देशभरका उपभोक्तासँग जोडेर दिगो जीविकोपार्जन गर्न सक्षम पार्ने हाम्रो उद्देश्य रहेको छ ।
अनलाइन किनमेल शहरमा मात्र सीमित ?
कतिपयलाई लाग्छ– ई–कमर्स शहरी क्षेत्र केन्द्रित छ । तर, उक्त अनुमानविपरीत हाम्रो तथ्यांकले वास्तविकता अर्कै रहेको देखाउँछ । विगत वर्षहरूमा दराज नेपालले देशभर आफ्नो पहुँच उल्लेखनीय रूपमा विस्तार गरेको छ । प्रारम्भमा हाम्रो सञ्चालन प्रमुख शहरहरूमा सीमित थियो । हामीले २७ ठाउँमा मात्र सेवा विस्तार गरेका थियौं । आज हामी देशका सातओटै प्रदेशका गरी १०८ स्थानमा सामान पुर्याउँछौं । हाम्रा लागि उत्साहजनक कुरा भनेको काठमाडौं उपत्यकाबाहिर पनि अनलाइन सपिङ गर्ने ग्राहक बढ्दै गएको अवस्था हो । अहिले जम्मा व्यवसायको ४६ प्रतिशत काठमाडौं उपत्यका बाहिरबाट हुन्छ । स्थानीय डेलिभरी कम्पनीसँगको रणनीतिक साझेदारीबाट यो विस्तार सम्भव भएको हो । हामी यी साना, स्थानीय कम्पनीहरूलाई नि:शुल्क प्राविधिक र प्रणालीगत सहयोग गर्छौं, जसले उनीहरूलाई स्थानीय क्षेत्रमा पहुँच विस्तार गर्न सक्षम बनाउँछ । हाम्रा धेरैजसो डेलिभरी साझेदारहरूले यो सहायताबाट फाइदा उठाउँछन् । यसबाट उनीहरूको क्षमता र कभरेजलाई उल्लेखनीय रूपमा वृद्धि गर्न मद्दत पुगेको छ । नेपालमा अन्तर्निहित भौगोलिक चुनौती र कनेक्टिभिटी समस्या हुँदाहुँदै पनि हामी हाम्रो सेवा थप विस्तार गर्न प्रतिबद्ध छौं । हामी निरन्तर बजार सूचनाका आधारमा नयाँ ठाउँमा कारोबार विस्तार गर्न खोजिरहेका छौं ।
कसरी तान्ने पसल जाने ग्राहकलाई ?
मानिसले अनलाइन किनमेल गर्न हिचकिचाउनुको प्रमुख कारण अनलाइन प्लेटफर्मप्रति पूर्ण विश्वस्त हुन नसक्नु हो । अधिकांश मानिस मेहनतको कमाइ खर्च गर्नुअघि आफूले किन्न लागेको सामान हेर्न र छुन रुचाउँछन् । हामीले विक्रेताहरूलाई तालीम दिएर र ग्राहकलाई दराज एपमार्फत विक्रेतासँग कुराकानी गर्न प्रोत्साहित गरेर अझ राम्रो अनलाइन किनमेल अनुभव प्रदान गर्न निरन्तर काम गरिरहेका छौं । ग्राहकले खोजेजस्तो सामान डेलिभरी भएन भने सजिलोसँग फिर्ता लिने प्रणाली विकास गरेर ग्राहकको विश्वास जित्न सकिन्छ । यी कुरामा हाम्रो ध्यान गएको पनि छ । अर्को चुनौती नेपालको भूगोल हो । हामी हाम्रो प्लेटफर्ममा दैनिक रूपमा नयाँ ग्राहक जोडिइरहेको देख्छौं । जति युवा, अधिक शिक्षित पुस्ता बजारमा प्रवेश गर्छ र स्मार्टफोन प्रयोग बढ्छ, त्यत्ति नै हामी अनलाइनमार्फत किनमेल गर्ने ग्राहक संख्या वृद्धि हुने सम्भावना देख्छौं ।
ग्राहकका गुनासा
ग्राहकले अर्डर गरेको सामानको स्वरूप आफूले प्राप्त गरेको सामानसँग मेल नखाने गुनासो संसारभरिको साझा हो । कहिलेकहीँ प्रकाशको कारण वा अनलाइनमा वस्तु राम्रो देखाउन त्यसको फोटो सम्पादन गर्दा बेच्न राखिएको वस्तु अनलाइनमा वास्तविकभन्दा राम्रो देखिन सक्छ । कहिलेकहीँ मानवीय त्रुटिले पनि अर्डर गरेअनुसारको सामान नपाइन सक्छ ।
यस्तो स्थिति न्यूनीकरण गर्न हामीले कदम चालेका छौं । हामी हाम्रा प्लेटफर्ममा आउने विक्रेतालाई सामानका तस्वीरसहित भिडियो अपलोड गर्न र सामानको तस्वीर खिच्ने विषयमा सुझाव दिन्छौं । हाम्रो एपमा लाइभस्ट्रिम सुविधा पनि छ, जहाँ विक्रेता र कन्टेन्ट उत्पादकहरू प्रत्यक्ष छलफलमा हुन्छन् ।
ग्राहकले अर्डर गरेको सामानको स्वरूप आफूले प्राप्त गरेको सामानसँग मेल नखाने गुनासो संसारभरिको साझा हो । कहिलेकहीँ प्रकाशको कारण वा अनलाइनमा वस्तु राम्रो देखाउन त्यसको फोटो सम्पादन गर्दा बेच्न राखिएको वस्तु अनलाइनमा वास्तविकभन्दा राम्रो देखिन सक्छ ।
लाइभस्ट्रिमको समयमा ग्राहकले उत्पादनहरू हेर्न र त्यही बेला प्रश्न सोध्न सक्छन् । हामी ग्राहकलाई उत्पादन विवरणहरू ध्यानपूर्वक पढ्न र खरीद गर्नुअघि समीक्षाहरू पढ्न प्रोत्साहित गर्छौं, ता कि उनीहरूले केके पाउँदै छन् भन्ने कुरा पनि थाहा पाउन् । ग्राहकले अझै पनि विज्ञापन गरिएको जस्तो सामान पाएन भने उक्त सामान फिर्ता गर्न सक्छन् । हामी लगभग सबै सामान १४ दिनभित्र नि:शुल्क र सजिलोसँग फिर्ता गर्ने सुविधा पनि दिन्छौं ।
सरकारको भूमिका
पछिल्लो समय सरकारी पक्षबाट ई–कमर्सको प्रवर्द्धनका लागि ठूलो सहयोग गरेको हामीले देखेका छौं । ई–कमर्स ऐनको विधेयक तयार भइसकेको छ र अहिले स्वीकृतिका लागि विभिन्न तहमा छलफल भइरहेको छ । यसबाट सरकारले यस क्षेत्रको सम्भावना महसूस गरी ई–कमर्सलाई प्राथमिकतामा राखेको स्पष्ट हुन्छ ।