अघिल्लो आर्थिक वर्ष (आव) सम्म ऋणात्मक वृद्धि वा सामान्य वृद्धि भइरहेको क्षेत्र सुध्रिएपछि चालू आवको दोस्रो त्रैमासमा देशको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार सार्वजनिक गरेको चालू आव २०८१/८२ को दोस्रो त्रैमासको कुल गार्हस्थ्य उत्पादनसम्बन्धी प्रतिवेदनअनुसार उक्त त्रैमासमा अघिल्लो आवको सोही अवधिको तुलनामा देशको अर्थतन्त्र ५ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ । अर्थतन्त्रमा सुधार नआउँदा निकै निराशा छाएको अवस्थामा तथ्यांकले केही राहत दिने काम गरेको छ तर केही वर्षअघि जति वृद्धिदर थियो त्यसअनुपातमा अहिले वृद्धि हुन भने सकेको छैन । त्यसैले सकारात्मक भनी दंग पर्नुपर्ने अवस्था देखिँदैन ।
चालू आवको दोस्रो त्रैमासमा अर्थतन्त्रका १८ ओटा औद्योगिक वर्गीकरणमध्ये सबैको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक छ । निर्माण र उत्पादनमूलक क्षेत्र विगत २ आवमा लगातार ऋणात्मक वृद्धि भएका थिए भने चालू आवको पहिलो त्रैमासमा केही सुधार भई दोस्रो त्रैमासमा थप सुधार भएको देखिन्छ । निर्माण क्षेत्रको वृद्धिदर ९ दशमलव १ र उत्पादनमूलक क्षेत्रको ७ दशमलव ४ प्रतिशत रहने प्रक्षेपण छ । अघिल्लो आवको सोही अवधिमा उत्पादनमूलक क्षेत्रको वृद्धिदर ४ प्रतिशतले ऋणात्मक थियो । अघिल्लो आवको सापेक्षतामा यो वृद्धि सकारात्मक भए पनि उद्योगहरूको क्षमता उपयोग न्यून नै रहेको छ ।
नेपाल राष्ट्र बैकको अध्ययनअनुसार विगत ९ वर्षमा उद्योगको क्षमता अभिवृद्धि ६० प्रतिशत पनि पुग्न सकेको छैन । गत २ आर्थिक वर्षमा उद्योगहरूको क्षमता अभिवृद्धि ५० प्रतिशतभन्दा तल रहेको छ ।
- निर्माण सामग्रीको आयात तथा घरेलु उत्पादनमा वृद्धि भएको छ ।
- चालू आवको तेस्रो त्रैमास सकिन लाग्दा पनि पूँजीगत खर्च २५ दशमलव १६ प्रतिशतमात्रै भएको छ ।
तथ्यांक कार्यालयका अनुसार अहिले निर्माण सामग्रीको आयात तथा घरेलु उत्पादनमा वृद्धि भएको छ । त्यस्तै खनिज क्षेत्रमा गत आवको यही अवधिमा ३ दशमलव ५ प्रतिशतले ऋणात्मक वृद्धिदर भएकामा अहिले यो शून्य दशमलव ९ प्रतिशत रहेको छ । गत आवको पहिलो र दोस्रो त्रैमासमा धनात्मक रहेको निर्माण क्षेत्र तेस्रो र चौथो त्रैमासमा ऋणात्मक भएको थियो । चालू आवको दोस्रो त्रैमासमा अघिल्लो आवको सही अवधिको दाँजोमा थोरै कम आर्थिक वृद्धिदर अंश हुने देखिन्छ । चौथो त्रैमासमा निर्माणका कामले बढी गति लिने अपेक्षा गरिए पनि अघिल्लो वर्ष त्यस्तो भएको देखिएन भने चालू आवमा पनि त्यस्तै नहोला भन्न सकिन्न किनभने सरकारको पुँजिगत खर्चमा ठूलो सुधार हुन सकको छैन भने घरजग्गाको कारोबारमा पनि त्यति सुधार हुन सकेको छैन ।
भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार आयात र निर्यात दुवैमा सुधार भएको छ । आयातित वस्तु नै धेरै व्यापारमा उपयोग हुन्छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आयात कर्जा केही महीनायता तुलनात्मक रूपमा धेरै बढेको छ ।
अर्थतन्त्रमा दोस्रो ठूलो योगदान रहेको थोक तथा खुद्रा व्यापारको क्षेत्रमा पनि सुधार भई वृद्धिदर ६ दशमलव १ प्रतिशत पुग्ने अनुमान छ । अघिल्ला आर्थिक वर्षहरूमा सुस्ताएको ब्यापार क्ष्ँेत्रमा अहिले केही सुधार हुँदा अर्थतन्त्रलाई केही राहात मिलेको हो ।
गत आवको दोस्रो त्रैमासिकको तुलनामा चालू आवको दोस्रो त्रैमासिकमा औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएको देखिन्छ । उत्पादनमूलक उद्योग क्षेत्रको वृद्धिमा उल्लेख्य सुधार आएको छ । यो त्रैमासमा सार्वजनिक प्रशासन तथा रक्षा, स्वास्थ्य, घरजग्गा कारोबारलगायत सेवाक्षेत्रका अन्य क्रियाकलापको वृद्धिदर सामान्य रहने अनुमान गरिएको छ ।
तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकका सूचकहरूले अर्थतन्त्रको गति सकारात्मक रहेको संकेत गरे पनि अर्थतन्त्रमा समस्या अझै धेरै नै छ भन्ने देखिन्छ । खासगरी लगानीकर्ताको मनोबल बढ्न सकेको छैन जसले गर्दा बैंकमा ७ खर्ब लगानीयोग्य रकम थुप्रिइरहेको छ । सरकारले पूँजीगत बजेटको ३० प्रतिशतसम्म पनि गर्न सकेको छैन । चालू आवको तेस्रो त्रैमास सकिन लाग्दा पनि पूँजीगत खर्च २५ दशमलव १६ प्रतिशतमात्रै भएको छ । अझ निर्माण व्यवसायीले अझै आफूले काम सम्पन्न गरेका आयोजनाको अर्बौं भुक्तानी लिन बाँकी रहेको बताइरहेका छन् । त्यसैले सूचकांकहरूले देखाएजस्तो अर्थतन्त्र सकारात्मक लयमा अघि बढेको छ भन्ने सकिँदैन । सरकारले गम्भीर भएर अर्थतन्त्रमा विद्यमान समस्याको समाधान गर्न लाग्नुपर्ने देखिन्छ । अन्यथा एकाध त्रैमासको आर्थिक वृद्धिको खासै अर्थ रहँदैन ।