काठमाडौं। ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलमा बाँसका सामग्री निर्माणसम्बन्धी शीप विकास तालीम शुरू भएको छ । चैत २० गतेसम्म चल्ने तालीमको बुधवार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र चिनियाँ दूतावासका कन्सुलर ची वाङले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । तालीममा गोदावरी नगरपालिकाका विभिन्न वडाबाट छानिएका २२ जना प्रशिक्षार्थी सहभागी छन् । विशेषगरी यस क्षेत्रमा पहरी र नगरकोटी समुदायका व्यक्ति बाँसका सामग्री बनाएर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । उनीहरूको थप शीप विकास गर्न र व्यावसायिक बनाउन तालीमको आयोजना गरिएको बताइएको छ ।
सोसल डेभलपमेन्ट भिजन ललितपुरको आयोजनामा शुरू भएको तालीमलाई चीनको सिजाङ (तिब्बत)मा मुख्यालय रहेको गुडविल फाउण्डेसन र काठमाडौंमा रहेको नेपाल–चाइना कैलाश कल्चर प्रमोशन डेभलपमेन्ट एसोसिएसनले सहयोग गरेका छन् । स्थानीय साझेदारको रूपमा गोदावरी नगरपालिका र गोदावरी उद्योग वाणिज्य संघ रहेका छन् । ग्रीन ब्याम्बो क्रियशनले तालीम सञ्चालनका लागि प्राविधिक सहयोग गरेको बताइएको छ ।
गोदावरी नगरपालिकाका प्रमुख महर्जनले गोदावरीले यो तालीमलाई अवसरको रूपमा लिएको बताए । महर्जनले बाँसका सामग्री निर्माणसम्बन्धी शीप विकासले यस क्षेत्रका जनताको आम्दानीमा वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । गुडविल फाउण्डेसन तिब्बतका अध्यक्ष जेजियानले तालीममा बाँसको चोयाबाट विभिन्न सामग्री निर्माण गर्न सिकाइने बताए । उनले चोयाको माध्यमबाट जीवन कसरी आर्थिक रूपमा समृद्ध बनाउने भन्ने तालीममा सिकाइने भन्दै यसबाट नेपाल र चीनका बीचमा शीप आदानप्रदान पनि हुने उल्लेख गरे ।