सरकारको आयभन्दा व्यय बढी भएर सार्वजनिक वित्त समस्यामा परे पनि सरकार आफ्नो वित्तीय दायित्व घटाउन भने गम्भीर बनेको पाइँदैन । नेपाल वायुसेवा निगमलाई मात्र न्यारोबडी र वाइडबडी जहाज किन्न ३४ अर्ब रुपैयाँको जमानी बसेको छ । कथंकदाचित् निगमले ऋण तिर्न सकेन भने त्यो ऋणको दायित्व सरकारकै हुन्छ । सरकारले यस्तो व्यावसायिक क्षेत्रमा लगानी गर्ने, जमानी बस्ने जस्ता काम गरेर वित्तीय दायित्व बढाउनु उपयुक्त होइन । वायुसेवा निगम व्यावसायिक रूपमा नचल्दा विमान किन्न लिएको ऋणको दायित्व बढेर झन्डै ५० अर्ब रुपैयाँ पुगेको छ । निगमले व्यावसायिक योजना बनाउन सकेको छैन र सरकार जमानीमा बसेर ल्याएको कर्जाको विगत वर्षका किस्तामा साँवा रकम तिरेको छैन । निगमले लगानीको अनुपातमा मुनाफा कमाउन सकेको छैन । त्यसैले सरकारको दायित्व बढिरहेको छ ।
निगममात्र होइन, सरकारले विभिन्न सार्वजनिक संस्थाका लागि खर्बौं रुपैयाँ लगानी गरेको छ । यसरी लगानी गरेका संस्थामध्ये कयौं वर्षौंदेखि घाटामा छन् । त्यस्तै कतिपय संस्था त पूर्ण रूपमा उत्पादन बन्द गरेका बसेका छन् । ती उद्योग पुन: सञ्चालनको सम्भावनै नभएको पनि पाइन्छ । यस्ता कम्पनीको दायित्व पनि सरकारकै टाउकोमा हुन्छ । त्यसैले सरकारले यस्ता कम्पनी निजीकरण गर्ने तयारीमा रहेको छ । तर, निजीकरण गर्ने भनेर सरकारले भने पनि जग्गामात्रै लिज अर्थात् भाडामा दिने बताइरहेको छ । बन्द उद्योगको जग्गा भाडामा दिनु भनेको उद्योगको निजीकरण होइन । वास्तवमा सरकारले यी जग्गा कुनै कम्पनीलाई विक्री गर्न नपाउने, घर बनाउन वा व्यापार गर्न नपाउने तर उत्पादनमूलक उद्योग सञ्चालन गर्न पाउने गरी भाडामा दिनु उपयुक्त हुन्छ । कतिपय उद्योगले जग्गा नपाएको गुनासो गरिरहेका छन् । यस्ता उद्योगलाई दीर्घकालका लागि जग्गा भाडामा दिन सकिन्छ । तर, जग्गा भाडामा दिने भनेर महँगो भाडा लिइयो र केही वर्ष वा दशकका लागि मात्रै दिइयो भने यो प्रक्रियाको कुनै अर्थ रहँदैन ।
सरकारले सार्वजनिक संस्थान, निकाय तथा अन्तरराष्ट्रिय संस्था गरी १५० ओटा संस्थामा शेयर र ऋण गरी कुल ८ खर्ब २७ अर्ब ५१ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार विभिन्न सरकारी संस्थामा लगानी भएको ७१ अर्ब ४३ करोड रुपैयाँ साँवाको भाखा नाघेको छ, जुन कुल ऋणको १६ दशमलव ८७ प्रतिशत हो । सरकारले लगानी गरेका कतिपय संस्थाले मुनाफा कमाए पनि सरकारको ऋण भने तिरेका छैनन् । नेपाल विद्युत् प्राधिकरण अहिले नाफामा छ तर उसले सरकारलाई तिर्नुपर्ने साँवा रकम तिरेको छैन । सरकारले सहयोगदाताबाट कर्जा लिएर पनि यस्ता संस्थामा कर्जा लगानी गरेको छ । त्यसो हुँदा सरकारका लागि यो ठूलो चिन्ताको विषय नभएको हुन सक्छ । तर, निजीक्षेत्रले गर्नुपर्ने र गरिरहेका काममा सरकारी लगानीका संस्था सञ्चालन गर्नु र त्यो पनि घाटामा चलाइरहनु भनेको सरकारको अक्षमता हो । सहयोगदाताको दृष्टिमा यो सरकारको गलत काम हो । त्यसैले सहयोगदाताको दृष्टिमा बेकम्मा नदेखिन र स्रोतको लापर्बाहपूर्ण प्रयोग गर्न रोक्नुपर्छ र सरकार यस्ता दायित्वबाट मुक्त हुनुपर्छ । सरकारको राजस्व वृद्धिदर कुल गार्हस्थ्य उत्पादनको तुलनामा घट्दो क्रममा रहेको र दायित्व बढ्दो क्रममा रहँदा नेपालले दीर्घकालमा यो धान्न सक्दैन । सार्वजनिक ऋण बढ्दो क्रममा छ र सामाजिक सुरक्षाको लागि खर्च पनि बढ्दो छ । संघीयता व्यवस्थापन गर्न पनि खर्च बढ्दो छ । तर, सरकारी आम्दानीको बाटो सीमित छ । त्यो भनेको आयातबाट प्राप्त राजस्व र अन्त:शुल्क, भ्याटलगायत हुन् । यी कर सरकारको आम्दानीका नियमित स्रोत हुन् । तर, सरकारको दायित्व थपिँदै जाँदा ऋणबाट खर्च जुटाउनुपर्ने बाध्यता छ । यस्तो बाध्यता हुँदा सरकारले आफ्नो दायित्व कम गर्दै लैजानुपर्छ । यसका लागि विभिन्न समिति तथा आयोगहरूले सुझाव पनि दिएका छन् । त्यसको कार्यान्वयन आवश्यक छ ।