बदलिएको कक्षाकोठा
शकुन्तला जोशी
राजधानीको ओलम्पिया वर्ल्ड कलेज र क्याम्पियन एकेडेमीले शिक्षणमा 'स्माटक्लास' प्रविधि लागू गरेका छन् । कम्प्युटरको सहायताले विविध व्यावहारिक ज्ञान दिइने यो शिक्षण पद्धतिले विद्यार्थीलाई सरल तरीकाले कुरा बुझ्न मद्दत गर्ने ती कलेज बताउँछन् । धेरै निजी कलेजले नियमित रूपमा आफ्नो वेबसाइट अपडेट गर्ने गरेका छन् भने विद्यार्थीलाई हरेक दिनजसो इमेलमार्फत सूचना प्रवाह गर्छन् ।
काठमाडौंको महेन्द्ररत्न क्याम्पस, ताहचलका
उपप्राध्यापक केशव अधिकारी १ वर्षदेखि कक्षामा ह्वाइट बोर्ड र मार्करको प्रयोग गर्छन् । विश्वविद्यालय प्राध्यापनको २१वर्षको लामो अवधिमा यो नयाँ अनुभव भएको उनी बताउँछन् । केही वर्षअघिसम्म चितवनको एक स्कूलमा चकको धूलो खाँदै पढाएका बुद्धिराज शर्मा पनि अहिले ह्वाइट बोर्ड र मार्करको प्रयोग गर्छन् । काठमाडौंको कलङ्कीस्थित अर्बिट इण्टरनेशनल कलेजका अङ्ग्रेजी अध्यापक कम्प्युटर र प्रोजेक्टरको सहायताले पनि अध्ययन/अध्यापन गराउँछन् ।
रत्नराज्यलक्ष्मी (आरआर) र महेन्द्ररत्नजस्ता सरकारी क्याम्पसले पनि ह्वाइट बोर्ड र मार्कर प्रयोग गर्न थालेको ४ वर्ष भइसकेको छ । रत्नराज्यले अहिले इण्टरनेट सुविधासहितको ई-लाइब्रेरी सञ्चालनमा ल्याइएको छ । क्याम्पसले भूगोल विषयका लागि जोग्राफिकल इन्फर्मेशन सर्भिस (जीआईएस) पनि थपेको छ ।
नेपालको शिक्षा घोकन्ते पद्धतिबाट क्रमश: व्यावहारिक बन्दै गएको प्रमाण होयो । वर्षभरिमा एकसरो पढाएर पनि नसक्ने भद्दा पाठयक्रममा भइरहेको क्रमिक सुधारले शैक्षिक गुणस्तरमा पनि वृद्धि हुँदै गएको विभिन्न क्याम्पसका प्रमुखको भनाइ छ । पहिले गेसपेपर र कक्षामा शिक्षकले लेखाइदिने नोटमा भर पर्थे विद्यार्थीहरू । तर, पछिल्लो समय विकास भएका 'मल्टिमिडिया' को प्रयोगले उनीहरूलाई मेहनती मात्र होइन, इण्टरनेट तथा पुस्तकालयमा नयाँनयाँ कुराको खोजी गर्ने बनाएको छ ।
भौतिक पूर्वाधार
पछिल्लो समय निजी कलेजहरूबीच अत्याधुनिक सुविधा तथा पूर्वाधार थप्ने कुरामा होडबाजीजस्तै चलेको छ । हालसम्म भवन तथा गाडीजस्ता सुविधामा सीमित कलेजले अब तीव्र गतिको इण्टरनेट सुविधा भएको ल्याब, वाईफाई, गाडी पार्किङ, अत्याधुनिक क्याण्टिन, सीसीटीभीलगायत बिल्कुलै नयाँ पूर्वाधारमा ध्यान पुर्याउन थालेका छन् । केही वर्षहिले कक्षामा प्रवेश गरेको ओभरहेड प्रोजेक्टर (ओएचपी) त निकै पुरानो भइसक्यो । हालै प्रयोगमा ल्याउन थालिएको मल्टिमिडिया प्रोजेक्टरभन्दा अघि बढेर कलेजहरूले स्माटक्लास प्रविधि थालेका छन् । स्माट क्लासरूममा ग्राफिक्स, चाट, एनिमेशन, थ्रीडी र श्रव्य दृश्यजस्ता डिजिटल प्रविधि प्रयोग गरी अध्यापन गराइन्छ । यो प्रविधिमा शिक्षक र विद्यार्थी सशरीर एकै ठाउँ उपस्थित हुनुपर्छ भन्ने छैन । नोट कपीभन्दा इलेक्ट्रोनिक कपीको प्रयोग बढ्दै गएको छ । पछिल्लो समय नोटकपीको ठाउँ ल्यापटप, टयावलेट पीसी, वेबसाइट, इमेल, पेन ड्राइभ, सीडी, ह्याण्ड आउटस्ले लिएको छ । यो सबै परिवर्तन शिक्षामा निजी लगानी र व्यवसायीकरणले सम्भव भएकोमा सहमत छन् प्राय: सबै ।
सरकारी कलेजहरू भने भौतिक पूर्वाधारको हिसाबले अझै पनि निकै दयनीय हालतमा छन् । महेन्द्ररत्न क्याम्पस, ताहाचलका प्रमुख नेत्र धिताल भन्छन्, 'जीर्ण भवनहरू भत्किएर कति बेला समाचार बन्ने हो, थाहा छैन । टाउको गनेर कर्मचारी र प्राध्यापकलाई तलब दिँदैमा शिक्षाको गुणस्तर बन्छ र ?'
विद्यार्थीलाई सुविधा
विद्यार्थीहरूको सुविधाका लागि आरआर क्याम्पसमा मल्टिमिडिया ल्याब स्थापना गरेको क्याम्पस प्रमुख गोपालचन्द्र पोखरेल बताउँछन् । पत्रकारिताका विद्यार्थीका लागि स्थापित यो ल्याबमा १० ओटा कम्प्युटर, प्रोजेक्टर, रेकर्डर, क्यामेरालगायत साधन उपलब्ध हुने छन् । अबको ब्याचदेखि सञ्चालनमा आउने यो ल्याबका लागि ७ लाख रुपैयाँ खर्च भएको छ ।
विगत १३ वर्षदेखि उच्च शिक्षाको कक्षा सञ्चालन गर्दै आइरहेको नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीले पुराना डेस्क, बेञ्च फालिसकेको छ । नोबेलका संस्थापक तथा निर्देशक उत्तम भौकाजी भन्छन्, 'पाँच जनासम्म कोचाकोच गरेर बस्नुपर्ने बाध्यताबाट यहाँका विद्यार्थीहरू मुक्त भएका छन् । दुईजना मात्र बस्न मिल्ने सुविधायुक्त फर्निचर राखिएपछि कक्षामा पढ्न सहज भएको छ । जाँचमा पनि विद्यार्थीले चोरी गर्न मिल्दैन ।' कलेजले विद्यार्थीहरूका लागि इण्टरनेट सुविधा दिएको छ । ह्वाइट बोर्ड, मार्कर, प्रोजेक्टरको प्रयोग गर्न थालेको वर्षौं भइसकेको छ ।
१६ वर्षअघि स्थापित काठमाडौं कलेज अफ म्यानेजमेण्ट (केसीएम)मा अन्तरराष्ट्रिय मापदण्डको कक्षाकोठा भएको क्याम्पस प्रमुख विष्णुराज अधिकारी बताउँछन् । उनी भन्छन्, 'यो मापदण्डअनुसार प्रतिविद्यार्थी ६ वर्ग फिट स्पेस हुनुपर्छ । तर, हामीकहाँ ११ वर्ग फिट क्षेत्रफल एकजना विद्यार्थीले प्रयोग गर्न पाउँछ ।' उनका अनुसार विद्यार्थीहरूलाई पढ्नका लागि उपयुक्त वातावरण दिनुपर्छ । कलेजका सबै कक्षा कोठामा मल्टिमिडिया र सीसीटीभी जडान गरिएको छ । यस्तो मल्टिमिडियाको प्रयोगले विद्यार्थीहरूलाई गृहकार्य दिन, जाँच गर्न, अन्य प्रशासनिक रेकर्ड राख्नसमेत सहयोग पुग्ने उनको भनाइ छ । स्थापना कालमै एपेक्स कलेजले भौतिक सुविधा, प्रविधिमा विशेष ध्यान दिएको व्यवस्थापनको भनाइ छ । तर, गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधारभन्दा महत्त्वपूर्ण शैक्षिक वातावरण र पाठयक्रममा सुधार हुनुपर्ने कलेज प्रमुख एलपी भानु शर्मा बताउँछन् ।
उसो त, इञ्जिनीयरिङ अध्ययन संस्थान, पुल्चोकले अध्यापनका लागि १०/१२ वर्षअघिदेखि नै मल्टिमिडिया प्रयोग गर्दै आएको बताएको छ । २०३४ सालदेखि 'ब्याचलर अफ इञ्जिनीयरिङ (बिई)को पढाइ शुरू गरेको यस संस्थानले विद्यार्थीलाई चाहिने पाठयसामग्री, जर्नलहरू आफ्नो वेबसाइटमा अपडेट गर्ने गरेको सहायक प्रमुख महेन्द्रचन्द्र लुइँटेल बताउँछन् ।
शिक्षण विधिमा परिवर्तन
शिक्षकले लेखाइदिएको नोट घोक्ने र गेस पेपर सार्ने शिक्षण संस्कारमा पछिल्लो समय परिवर्तन आउन थालेको छ । व्यावहारिक र अनुसन्धानात्मक पाठयक्रमको विकासले विद्यार्थीलाई बढी सृजनात्मक हुन प्रेरित गरेको शिक्षाविद्हरूको भनाइ छ । एपेक्स कलेजका प्रमुख एलपी भानु शर्मा भन्छन्, 'पहिले पढाउनका लागि मात्र पाठयक्रम तयार हुन्थ्यो । अब बजारको गतिशीलताको आधारमा यसमा परिवर्तन आइरहेको छ । यसले गर्दा व्यवस्थापन विषयमा नेपाली विद्यार्थी अन्तरराष्ट्रिय तहमा नै प्रतिस्पर्धा गर्न सक्छन् ।' अहिले विद्यार्थीहरू शिक्षकले दिने ज्ञानमा मात्र सीमित छैनन् । इण्टरनेटको माध्यमले नयाँनयाँ विषयवस्तुको खोज, अनुसन्धानमा जुट्छन् । नोबेल एकेडेमीकी व्यवस्थापन कार्यक्रम संयोजक यशोधरा प्रसाईं भन्छिन्, 'पाठयपुस्तकको पृष्ठ गनेर पढाउने दिन गए, पाठयक्रमलाई नाघेर धेरै अघि पुगिसकेको ज्ञानको फैलावटलाई पक्रन नसक्ने शिक्षक अब आउटडटेड हुन्छ ।'
नेपालमै पहिलोपटक स्माटक्लास प्रविधि भित्र्याउने ओलाम्पिया वर्ल्ड कलेजले रटाउने शैक्षिक प्रणालीबाट अब मुक्त हुनुपर्ने बताएको छ । कलेजका निर्देशक शिरीष खड्का भन्छन्, 'इण्टरयाक्टिभ डिजिटल ल्याबको उपयोगबाट विद्यार्थीले रिमोटमार्फत् प्रश्न सोध्न सक्छ । पढाएको विषय विद्यार्थीले बुझयो वा बुझेन तत्काल थाहा पाउन सकिन्छ । नबुझेको भए उसलाई दोहोर्याएर बुझाउने मौका मिल्छ ।'
Admin 2011-07-09