प्रधानमन्त्री बाबुराम भट्टराईले आफू अर्थमन्त्री हुँदा एउटा महत्त्वपूर्ण वाचा गरेका थिए, जुन अहिले आएर पूरा हुँदैछ । उनले भनेका थिए– ‘माओवादी नेतृत्वमा सरकार आएपछि देशको विकास सर्पजस्तो घस्रिएर होइन, भ्यागुताजस्तो उफ्रिएर हुन्छ ।’ नभन्दै यो असार–साउनभरि देशैभरि, खेतैभरि जताततै थुप्रै भ्यागुता उफ्रिरहेको देख्नुभएकै होला । यी भ्यागुताहरू हाम्रा प्रधानमन्त्रीका आदेशमा देशको विकास गर्न भनेर उफ्रिरहेका हुन् । त्यसैले त देशभरि विकासै विकास उफ्रिरहेको छ ।
तर, माओवादी र मधेशवादीइतर अर्थात् काङ्ग्रेस, एमाले समर्थक अर्थशास्त्रीहरू भने माओ र मधेशवादी दलहरूका कारण देशको अर्थतन्त्र ध्वस्त भइसकेको भनिरहेका छन् । तर, त्यो उनीहरूको अर्घेलो हो । राम्रोसँग हेर्दै जानुभयो भने तपाईंले देशमा जताततै विकासै विकास र अर्थतन्त्रमा चमत्कारहरू हुँदै गएको देख्नुहुनेछ । नेपालको आर्थिक विकास अहिले कहाँ पुगेको छ भन्ने कुरा तलका केही उदाहरणले नै पुष्टि गर्नेछन् । अहिले विश्वमा आर्थिक मन्दी चलिरहेको र बेरोजगारी बढेको बेलामा पनि नेपालमा केही मानिशहरूले जागीर खाई नै रहेका छन् । देशमा बीबीएस, एमबीए, एमबीबीएस, इञ्जिनीयर आदि पढेका थुप्रै शिक्षित बेरोजगार बनेका छन् । तर, तीमध्ये केहीले अझै पनि जागीर पाई नै रहेका छन् । तर, जागीर नपाएकाहरूले पनि अहिलेसम्म आफूले पढेका कलेज वा युनिभर्सिटीसमक्ष पैसा फिर्ता माग्न गएका छैनन् ।
(तीतोमीठोबाट) वर्ष ७, अंक ३३६, शुक्रवार १ भदौ २०६९