काठमाडौं। एनसेल फाउन्डेसनले ‘पेरिस पारालिम्पिक्स २०२४’मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशका लागि अहिलेसम्मकै ठूलो पदक दिलाउन सफल पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रू. १० लाख पुरस्कारसहित सम्मान गरेको छ ।
राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवको अवसरमा बुधवार आयोजित एक कार्यक्रममा एनसेलले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशासहित सहभागी ५ सदस्यीय टोलीलाई संस्थाले पुरस्कृत गरेको हो । आफ्नो संस्थागत सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत एनसेल फाउन्डेसनले उनीहरूलाई सम्मान गरेको हो ।
पलेशाका पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले रू. ३ लाख पुरस्कार पाएका छन् । त्यसैगरी तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही रू. १ लाख पुरस्कार प्राप्त गरेका छन् । ‘यो सम्मानले हामी पारा खेलाडीको हौसला झनै बढाएको छ र अब देशका लागि स्वर्ण पदक नै ल्याउने मेरो उद्देश्य छ । ओझेलमा परेको पारा खेलकुदको विकासमा योगदान पुर्याई दिएकोमा एनसेलप्रति आभारी छु,’ पलेशाले भनिन् ।
पारा खेलाडीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एनसेलका प्रमुख नियामक मामिला अधिकृत विशालमणि उपाध्याय, एनपीसीकी अध्यक्ष राधा घले र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखालक्ष्मी खड्काले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।
एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड खड्काले एनपीसीसँगको सहकार्यमा आफूहरू राष्ट्रिय पारा खेलाडीलाई बलियो साथ दिन प्रतिबद्ध रहेको बताइन् । एनसेलले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने पारालिम्पिक राष्ट्रिय खेलाडीको समग्र तालीम, विकास तथा प्रशिक्षणका लागि ‘हामी तपाईंकै लागि’ थिमअन्तर्गत सहयोग गर्दै आएको छ ।