काठमाडौं । बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनमा चरम ढिलासुस्ती भइरहेका बेला राजधानीमा बीआरआई श्वेतपत्र सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका कार्यक्रममा बहुचर्चित ‘बीआरआई’ कार्यान्वयन कार्ययोजनासम्बन्धी दुईपक्षीय समझदारी भए पनि अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन ।
फ्रेन्ड्स अफ सिल्कि रोड क्लव नेपालले मंगलवार सार्वजनिक गरेको उक्त श्वेतपत्रमा बीआरआईले विकाससँग सम्बन्धित समस्याको समाधान गर्ने, पूर्वाधार सम्पर्क संजालमा समेत व्यापकता ल्याउने, आर्थिक करिडोर र अन्तरराष्ट्रिय मार्गहरूको निर्माणमा महत्त्वपूर्ण रहने उल्लेख गरिएको छ ।
श्वेतपत्र सार्वजनिक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवम् कांग्रेस नेतृ सुजता कोइरालाले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) चीन सरकारले प्रस्तुत गरेको अत्यन्त महत्त्वाकांक्षी विकास रणनीति भएकाले यसको कार्यान्वयन गरि नेपालले लाभ उठाउनुपर्ने बताइन् । उनले ओलीको चीन भ्रमणका बेला भएको समझदारी तत्काल कार्यन्वयनका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिइन् । ‘नेपालले परियोजनाहरू समेत प्रस्ताव गरेको छ, तर अहिलेसम्म केही हुन सकेको छैन, यसका निम्ति पहलकदमी जरुरी छ,’ उनले भनिन् ।
फ्रेन्ड्स अफ सिल्कि रोड क्लव नेपालका महासचिव डा. कल्याण राज शर्माले बीआरआई विश्वव्यापी विकासको एक महत्त्वपूर्ण संरचना बनेकाले यसको कार्यान्वयन नेपालमा हुन जरुरी रहेको बताए । रेनमिक विश्वविद्यालयका चीनका सहप्रध्यापक सिया लु. ले पूर्वाधार, व्यापार, कुटनीतिक सम्बन्धमा समेत बीआरआई महत्त्वपूर्ण रहेको बताए ।
सन् २०१३ को सेप्टेम्बरमा कजाकस्तानस्थित नाजार्बाएव विश्वविद्यालयमा सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘सिल्क रोड इकोनोमिक बेल्ट’ निर्माण गर्ने प्रस्ताव गरेका थिए । त्यसको एक महीनापछि इन्डोनेसिया भ्रमणमा राष्ट्रपति सीले ‘ट्वेन्टी फस्र्ट सेन्चुरी म्यारिटाइमी सिल्क रोड’ निर्माणको प्रस्ताव गरेका थिए ।
यी दुवैलाई मिसाएर चिनियाँ राज्य परिषद्को योजनामा ‘वान बेल्ट वान रोड’ का रूपमा प्रस्तुत गरिएको थियो । अहिले यसलाई ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ भन्न थालिएको छ ।
विज्ञहरूका अनुसार बीआरआईमा उल्लिखित ‘रोड’ ले समुद्री मार्गलाई जनाउँछ भने ‘बेल्ट’ ले स्थलमार्गलाई जनाउँछ । बेल्टले चीनको पश्चिमी भागलाई मध्य एसिया, रूस, युरोप, भूमध्य सागर, अरब सागर, दक्षिणपूर्वी एसिया, दक्षिण एसिया र हिन्द महासागरसँग जोड्छ । त्यसैगरी ‘रोड’ ले समुद्री मार्गद्वारा चीनलाई युरोप र अफ्रिकासँग जोड्न थालिसकेको छ ।
काठमाडौंमा बीआरआई श्वेतपत्र नामक पुस्तक विमोचन गरिँदै । चीनको राज्य परिषद् सूचना कार्यालयले निकालेको पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी आज विमोचन गरिएको हो । पुस्तकलाई फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले प्रकाशन गरेको हो । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान