काठमाडौं । आर्थिक गतिविधिमा सुधारसँगै बीमा कम्पनीहरूको बीमालेख नवीकरणमा पनि सुधार देखिन थालेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष (आव) २०८१/८२ को मङ्सिरसम्ममा लघुबाहेकका १४ ओटा जीवन बीमा कम्पनीले प्रथम बीमा शुल्कबाट १२ अर्ब ४७ करोड रुपैयाँ संकलन गर्दा नवीकरणबाट ५२ अर्ब ८ करोड १९ लाख रुपैयाँ उठाएका छन् । गत आव २०८०/८१ को मङ्सिरसम्ममा प्रथम बीमाशुल्क १० अर्ब ९७ करोड ३२ लाख रुपैयाँ संकलन हुदाँ नवीकरणबाट ५० अर्ब ७७ करोड ३८ लाख रुपैयाँ उठेको थियो ।
चालू आवको असोजसम्ममा बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क संकलन २१ दशमलव ४६ प्रतिशतले वृद्धि हुँदा नवीकरण बीमाशुल्क ३ दशमलव ४ प्रतिशतले घटेको थियो । कात्तिकबाट कम्पनीहरूको प्रथम बीमाशुल्कसँगै नवीकरण बीमाशुल्क वृद्धि पनि सकारात्मक भएको हो । यसअघि कम्पनीहरूको बीमालेख नवीकरण नहुँदा व्यवसायमा प्रभाव पर्दै आएको थियो । आर्थिक गतिविधिमा केही सुधार देखिएपछि बीमा कम्पनीको व्यवसायमा पनि त्यसको प्रभाव पर्ने जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले बताए । बैंक, वित्तीय संस्थाको कर्जा प्रवाह बढ्न थालेको, आयात–निर्यात बढेको र यसले आर्थिक गतिविधि बढाउने र बीमा कम्पनीहरूको व्यवसाय पनि बढ्ने उनले बताए ।
मङ्सिरसम्ममा जीवन बीमा कम्पनीहरूले कुल ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आवमा यसै अवधिमा कम्पनीहरूले ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा यस वर्ष ६ दशमलव ४७ प्रतिशतले बढेको प्राधिकरणले बताएको छ ।
मङ्सिरसम्ममा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले १८ अर्ब ७६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिको तुलनामा नेपाल लाइफको बीमाशुल्क संकलन करीब १२ प्रतिशतले वृद्धि भएको हो ।
लघुबीमाबाट ४० करोड
यसैगरी चालू आवको मङ्सिरसम्ममा लघु जीवन बीमा कम्पनीहरूले पनि ४० करोड ३४ लाख ८४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । हाल गार्डियन, क्रेष्ट र लिबर्टी लघु जीवन बीमा कम्पनीहरूले लघुुबीमाको कारोबार गर्दै आएका छन् । प्राधिकरणले ५० लाख रुपैयाँभन्दा कम रुपैयाँ बीमांकको बीमालेखलाई लघुबीमाको परिभाषामा समेटेको छ ।