काठमाडौं। ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी)ले लन्डनमा आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाले डा. कपिल रिजाललाई पुन: संस्थाको अध्यक्ष चयन गरेको बताइएको छ । नेपालमा द्विपक्षीय व्यापार र लगानी प्रवर्द्धन गर्न तथा नेपाल र ब्रिटेनका व्यवसायीको आपसी लाभका लागि काम गर्न बीएनसीसीको स्थापना भएको बताइएको छ । विभिन्न गतिविधि आयोजना गर्दै संस्थाले आफ्नो लक्ष्य हासिल गर्न मद्दत पुर्याउने, व्यापार तथा व्यवसायका बारे जानकारी गराउने र ब्रिटेन–नेपाल सम्बन्धित व्यापार समुदायसँग आफ्नो हित प्रवर्द्धन गर्दै आएको बताइएको छ ।
साधारण सभाले विराज भट्ट र इन्द्र गिरीलाई उपाध्यक्ष तथा राजेन्द्र श्रेष्ठलाई सचिवमा चयन गरेको बताइएको छ । संस्थाको कार्यसमिति सदस्यमा नदिया विलियम्स, सन्तोष मण्डल, कमल पौडेल, अन्जनी फुयाल, बीपी खनाल, वसन्त नेपाल, अनिल न्यौपाने, प्रभु न्यौपाने, दीपक श्रेष्ठ, मिचेल क्याम्पबेल, कृष्ण भट्ट, मसूद अंगिज, विकास नेपाल र प्रकाश ढुंगाना चयन भएका छन् । त्यस्तै संस्थाको मानार्थ प्रमुख कार्यकारी अधिकृतमा स्टिभ बक्ली चयन भएका छन् ।
संस्थाका अध्यक्ष रिजाल र उपाध्यक्ष भट्टले विगतका गतिविधि र उपलब्धिको संक्षिप्त मूल्यांकन प्रस्तुत गर्दै भविष्यका योजना सार्वजनिक गरेका थिए । नव निर्वाचित प्रमुख कार्यकारी अधिकृत बक्लीले यूके र नेपालबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्न आफ्नो अनुभव र विशेषज्ञता प्रयोग गर्ने आशा व्यक्त गरे ।