काठमाडौं । ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल चेम्बर अफ कमर्सले भन्सार विभागका शाखा अधिकृत गोपालप्रसाद भट्टराईलाई सम्मान गरेको छ । उत्कृष्ट भन्सार सेवा तथा व्यापार प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै चेम्बर अफ कमर्सले उनलाई सम्मान गरेको हो ।
सम्मान समारोहमा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले भन्सार प्रशासन सुधार गर्दै व्यापार सहज बनाउनु आवश्यक रहेको बताए । उनले भन्सारमा प्रचलित सन्दर्भ मूल्यांकन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कारोबार मूल्यांकन प्रणालीमा रूपान्तरण गर्नुपर्ने र कर निर्धारणको स्पष्टता बढाउन हर्मोनिक कोडको पुनरावलोकन आवश्यक रहेको उल्लेख गरेका छन् ।
चेम्बरका पूर्वअध्यक्ष राजेन्द्र मल्लले भन्सार व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै अवैध व्यापार नियन्त्रण गर्न जोड दिए । वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले भन्सारको मूल्यांकन प्रक्रियामा देखिएका समस्याहरू औंल्याउँदै कारोबार मूल्यलाई प्राथमिकता दिँदा राजस्व संकलन वृद्धि गर्न सकिने धारणा राखेका थिए ।
अर्थसचिव रामप्रसाद घिमिरेले सरकार र निजी क्षेत्रको सहकार्यद्वारा नीति सुधारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै वर्तमान नीति तथा कानूनी चुनौतीहरू समाधान र व्यापारमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।