काठमाडौं। नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंको हालै सम्पन्न छैठौं वार्षिक साधारणसभाले मलिका श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा किरण कुमार डंगोल र रमेशलाल श्रेष्ठ, महासचिवमा अनन्त गुप्ता, सचिवमा दिव्यचन्द्र आचार्य, कोषाध्यक्षमा अनु श्रेष्ठ चयन भएका छन् । समितिको सदस्यमा रत्नेश्वरी गोर्खाली श्रेष्ठ, नूरा श्रेष्ठ र नविना शाक्य निर्विरोध निर्वाचित भएको बताइएको छ ।
सभाको काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेकी थिइन् । सोअवसरमा उपप्रमुख डंगोलले हस्तकलाले नेपाली सभ्यता र संस्कृतिको जगेर्नामा महŒवपूर्ण भूमिका निर्वाह गरेको बताइन् । काठमाडौंले एक वडा एक नमुना उद्यमशीलता उत्पादन कार्यक्रमलाई अगाडि ल्याएको र उत्साहजनक उत्पादन हुन थालेकाले त्यसलाई बजारसँग जोड्ने काम पनि गरिरहेको उनले बताइन् ।
नेपाल हस्तकला महासंघका नव निर्वाचित अध्यक्ष रविन्द्र शाक्यले परम्परागत कलाको जगेर्ना गर्दै विश्वमा नेपाललाई चिनाउने कलाकारलाई राज्यले सम्मान गर्नुपर्ने बताए । संघकी अध्यक्ष मीरा भट्टराईले संघमा आबद्ध सदस्यसँग हातेमालो गर्दै व्यावसायिक समृद्धिका लागि विभिन्न कार्यक्रम गरेको संस्मरण गरिन् ।
संघका उपाध्यक्ष किरणकुमार डंगोलले संस्थाले हस्तकलाको शीप विकास तालीम, वस्तु विकास बजार विस्तार लगायतका लागि स्थानीय निकाय, विदेशी दातृ निकायसँग सहकार्य गर्न सकिने बताए । सो अवसरमा नेपाली हस्तकलाको संरक्षण र सम्वद्र्धनमा विशिष्ट योगदान गरेको भन्दै ९४ वर्षीय कलाकार सानुभाइ शाक्यलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।