काठमाडौं । कर्जाको ब्याजदर घट्दो क्रममा देखिए पनि बैंक, वित्तीय संस्थाबाट कर्जा प्रवाहको वृद्धि भने सुस्त देखिएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा पछिल्लो एक वर्षमा कर्जाको औशत ब्याजदर करिव तीन प्रतिशत विन्दुले घटेको उल्लेख छ । एक वर्षअघि २०८० पुसमा बैंकहरूमा कर्जाको औशत ब्याजदर ११ दशमलव ३८ प्रतिशत रहेकोमा २०८१ पुससम्ममा झरेर ८ दशमलव ६९ प्रतिशत कायम भएको छ ।
लगानीयोग्य पूँजी बढ्दै गएपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाएपछि लागत कम हुँदा कर्जा सस्तो भएको हो । तर, बजारमा कर्जाको माग नभएको बैंकरहरू बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकमा लगेर पैसा थन्क्याउनुपरेको बताउँछन् । ‘नयाँ कर्जाको माग नै छैन, बैंकहरूले ठूलो रकम राष्ट्र बैंकमा लगेर पार्क गर्नुपरेको छ ।’
चालू आर्थिक वर्ष (आव) को पुससम्ममा मात्र बजारको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट १४० खर्ब ८० करोड रुपैयाँ तानेको छ । यसमध्ये निक्षेप संकलन बोलकबोल उपकरणमार्फत १४ खर्ब ८६ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत १२५ खर्ब १४ अर्ब १५ करोड रुपैयाँ संकलन गरेको हो । यसमध्ये अझै २ खर्ब ७० अर्ब रुपैयाँ राष्ट्र बैंकमा छ ।
बैंक, वित्तीय संस्थामा अधिक तरलता भएपछि राष्ट्र बैंकले विभिन्न उपकरणबाट बजारबाट रकम तान्ने गर्छ । यसैगरी तरलता कम भयो भने बजारमा पठाउने गर्छ । राष्ट्र बैंकका अनुसार चालू आवको असारदेखि पुससम्मको अवधिमा बैंक, वित्तीय संस्थाहरूको निक्षेप २ खर्ब ३९ अर्ब ६ करोड (३ दशमलव ७ प्रतिशत) ले बढ्दा निजीक्षेत्रमा प्रवाह हुने कर्जा २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ (५ दशमलव २ प्रतिशत) मात्र बढेको छ ।
पूर्वबैंकर अनलराज भट्टराई आन्तरिक आर्थिक गतिविधि चलायमान नभएको र राष्ट्र बैंकका निर्देशनहरू कसिलो हुँदा कर्जा प्रवाह बढ्न नसकेको बताउँछन् । चालू पूँजी कर्जा मागदर्शनमार्फत कारोबारका आधारमा मात्र कर्जा लिन पाउने प्रावधान ल्याइएका कारण व्यवसायीको ऋण लिने क्षमता कमजोर भएको उनले उल्लेख गरे ।
आन्तरिक अर्थतन्त्र चलायमान हुन नसके पनि बाह्य क्षेत्रका सूचकहरू भने थप बलियो भएको प्रतिवेदनमा उल्लेख छ । पुससम्ममा विप्रेषण आप्रवाह ४ दशमलव १ प्रतिशतले वृद्धि भई ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । विप्रेषण रकम बढे पनि वृद्धिदर भने घटेको छ ।
यस्तै पुसमा चालू खाता १ खर्ब ४८ अर्ब १७ करोडले बचतमा हुँदा शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोडले बचतमा छ । विदेशी मुद्रा सञ्चिति पनि २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ बराबर पुगेपछि चालू आवको ६ महीनाको अनुपातमा आयात भइरहेका १७ दशमलव ३ महीनाको वस्तु र १४ दशमलव ४ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले बताएको छ ।
चालू आवको पुसमा मूल्य वृद्धिदर भने सामान्य बढेको छ । २०८१ पुसमा उपभोक्ता मूल्य वृद्धिदर ५ दशमलव ४१ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको पुसमा उपभोक्ता मूल्य वृद्धिदर ५ दशमलव २६ प्रतिशत थियो ।
प्रिन्ट संस्करणमा कर्जा र निक्षेपको ब्याजदरको तथ्यांक फरक पर्न गएकाले सच्याइएको छ*