नेपाली चियाको गुणस्तर उत्कृष्ट प्रमाणित भए पनि यसको निर्यात भारतबाहेक तेस्रो मुलुकमा ज्यादै कम भइरहेको छ । तेस्रो मुलकमा निर्यात गर्दा भारतमा भन्दा निकै बढी मूल्य पाइने भए पनि तेस्रो मुलुकको बजारमा प्रवेश गर्न नसक्दा नेपाल आफूले पाउने लाभबाट समेत वञ्चित हुनु परेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार अग्र्यानिक सर्टिफाइड चियामध्ये ६३ प्रतिशत भारत निर्यात हुने गरेको छ भने २२ प्रतिशत भारतबाहेक तेस्रो मुलुक र १५ दशमलव ४३ प्रतिशत स्वदेशमै खपत हुने गरेको छ । भारतको दार्जलिङ चिया निकै प्रख्यात छ । त्यस्तै भूगोल र हावापानी भएको इलामको नेपाली चियाको गुणस्तर राम्रो मानिन्छ । अझ दार्जलिङको चियाबारी निकै पुरानो भएकाले र नेपालका चियाबारी नयाँ भएकाले राम्रो चिया उत्पादन हुने विश्वास गरिन्छ । गतवर्ष चीनमा भएको प्रतियोगितामा नेपाली चियालाई उत्कृष्ट भनी पुरस्कृत गरिएको थियो । तर, नेपाली चियाले विश्व बजारमा पर्याप्त प्रचार पाउन सकेको छैन । चिया निर्यातमा केही समस्या भएकाले पनि तेस्रो बजार पाउन नसकेको देखिन्छ ।
नेपाली चिया भारतमा अत्यधिक निर्यात भए पनि त्यहाँ मूल्य सबैभन्दा कम छ । अध्ययन प्रतिवेदनअनुसार यस्तो चियाको बजार मूल्य भारतमा प्रतिकिलो औसत ५८४ रुपैयाँ ८० पैसा छ जबकि तेस्रो मुलुकमा औसत प्रतिकिलो १ हजार ४३२ रुपैयाँ १० पैसा मूल्य छ । नेपालमै पनि प्रतिकिलो औसत ९४१ रुपैयाँ ६० पैसा मूल्य छ । सबै खाले चियाको औसत हिसाब गर्दा र भारतमा प्रतिकेजी निर्यात मूल्य २८१ रुपैयाँ मात्रै छ । त्यसैले चियाका लागि तेस्रो बजार खोजी गरिनुपर्छ ।
- चियाको बजार मूल्य भारतमा प्रतिकिलो औसत ५८४ रुपैयाँ ८० पैसा छ जबकि तेस्रो मुलुकमा औसत प्रतिकिलो १ हजार ४३२ रुपैयाँ १० पैसा मूल्य छ ।
- नेपालले अन्तरराष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला नबनाउँदा चीनतर्फ निर्यात गर्न सकिने कृषि उत्पादनको निर्यातमा समस्या आएको छ ।
- नेपालका राजदूतले नेपाली चियाको बजार खोजीका लागि काम गरेको देखिँदैन ।
नेपाली चियाले बजार पाउन सक्ने देखिए पनि सरकारले पर्याप्त पहल नगरिदिँदा नेपाली चिया निर्यात हुन सकेको छैन । यसो हुनुको एउटा कारण प्रचारकै कमी हो । अर्कोचाहिँ चियाखेतीमा विषादी वा रासानिक मलको प्रयोग बढ्नु हो । यसमा रोक लगाउन सकिएन भने नेपाली चिया तेस्रो मुलुकमात्र होइन भारतमै पनि निर्यात गर्न समस्या हुन्छ ।
कृषि उत्पादनमा सेनेटरी र फाइटोसेनेटरी प्रमाणपत्र आवश्यक हुन्छ । यस्तो प्रमाणपत्र प्रदान गर्दा कृषि उत्पादनको परीक्षण गरिन्छ र प्रमाणपत्र दिइन्छ । यो विश्वव्यापी मान्यता हो । भारतमै पनि निर्यातका लागि यस्तो प्रमाणपत्र चाहिन्छ । तर, नेपालमा यस्ता प्रयोग गर्ने र तिनले दिएको प्रमाणपत्रलाई विश्वव्यापी मान्यता पाउने खालको प्रयोगशाला नै छैन । नेपालले अन्तरराष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला नबनाउँदा चीनतर्फ निर्यात गर्न सकिने कृषि उत्पादनको निर्यातमा समस्या आएको छ । भारतले अहिले पनि नेपालको तयारी चिया कोलकातास्थित सेन्ट्रल फुड ल्याब (सीएफएल) को परीक्षण पास भएपछि मात्रै आयात गर्छ । तर यो परीक्षण गराउन निकै झन्झटिलो र महँगो परिरहेको निर्यातकर्ताको गुनासो छ । प्रयोगशालाको रिपोर्ट कुर्न साता–१० दिन लाग्ने र कुनै न कुनै बहानामा नेपाली चिया भारत लैजान भारतीय भन्सारमै अवरोध पुर्याउने गरिएको छ । त्यसैले नेपालल भारतको विकल्पमा अर्को बजार खोज्न ढिला भइसकेको छ ।
गतवर्ष चिनियाँ व्यापारीहरू आएर नेपाली चिया मन पराएको र चिया खरीद गर्न तयार भएको समाचार आएको थियो तर त्यसतर्फ चिया निर्यात कति बढेको छ भन्ने तथ्यांक आएको देखिँदैन । त्यस्तै पाकिस्तान पनि नेपाली चियाको बजार हुन सक्ने देखिन्छ । तर, यी दुवै बजारमा भारतमा भन्दा केही बढी मूल्य पाइए पनि यूरोप र अमेरिकी बजारजस्तो बढी भने छैन । त्यसैले नेपालले यूरोप र अमेरिकी बजारतर्फ आँखा लगाउन आवश्यक छ ।
यसका लागि आर्थिक कूटनीति प्रभावकारी हुनुपर्छ । नेपालका राजदूतले नेपाली चियाको बजार खोजीका लागि काम गरेको देखिँदैन । सरकारले पहल नगर्ने हो र व्यवसायीलाई सहयोग नगर्ने हो भने तेस्रो मुलुकमा चिया निर्यात गर्न गाह्रो पर्न सक्छ र सधैं भारतको मुख ताक्नुपर्ने अवस्था रहिरहन्छ ।