चितवन । धानको बालामा दाना नलागेपछि चितवनका किसान चिन्तित भएका छन् । अघिल्ला वर्षमा जस्तै राम्रो उत्पादन हुने आशामा सावित्री र मुकाबिला जातको धान लगाएका किसान बालामा दाना नलागेपछि निराश बनेका हुन् । धानको जोन क्षेत्र समेत रहेको पूर्वी चितवनमा सावित्री र पश्चिम चितवनमा मुकाबिला जातको धानका बालामा दाना नलागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, चितवनका सूचना अधिकारी इन्द्र ढुंगानाले जानकारी दिए ।
मुकाबिला जातको धान पश्चिम चितवनका किसानले पहिलोपटक लगाएका हुन् । यो जातको धान खेतीका लागि नेपाल सरकारले सिफारिस नगरे पनि किसानले बढी फल्ने आशामा लगाएका थिए । सावित्री धान भने पहिलादेखि रोप्दै आएका छन् ।
भरतपुर महानगरपालिका–२५ स्थित अमृतनगरका रामबहादुर बोटेले राम्रो उत्पादन हुने भन्दै १३ कठ्ठामा मुकाबिला जातको धान रोपेको भए पनि पाक्ने बेलासम्म दाना नदेखिएको बताए । ‘पसाउने बेलासम्म बाला राम्रै देखिएको थियो,’ उनले भने, ‘तर काट्ने बेला भइसक्यो, बालामा दाना नै छैन ।’ आफूले नजिकैको एग्रोभेटबाट धानको बीउ ल्याएर रोपेको उनले बताए ।
सोही ठाउँका विजय घलेले लगाएको मुकाबिला जातको धानको बालामा पनि दाना लागेको छैन । नयाँ जातको धानको बालामा दाना नलागेपछि आफू चिन्तामा परेको उनले बताए । ‘मैले १० कठ्ठामा लगाएको मुकाबिला जातको धानको बालामा दाना लागेको छैन, अरू किसानको पनि मेरो जस्तै समस्या छ,’ घलेले भने ।
बाली काट्ने बेलामा बालामा दाना नदेखिएपछि कृषि प्राविधिकलाई समेत देखाएको, तर हालसम्म पनि समस्या समाधान हुन नसकेको उनले बताए । ‘रोग पनि केही छैन, बाला पनि राम्रै देखिन्छ,’ उनले भने, ‘तर छाम्दा दाना नै छैन ।’ मुकाबिला जातको धानमा दाना नलागेपछि र समस्या समाधान नभएपछि यसलाई काटेर अन्य बाली लगाउने तयारीमा लागेको उनले बताए । ‘धानखेत पहेँलो देखिन थालेको छ । टाढाबाट हेर्दा जो कोहीलाई पनि धान राम्रोसँग पाकेको जस्तो लाग्छ । तर बालामा दाना नै छैन,’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, चितवनका प्रमुख महेश रेग्मीले भने । विशेषगरी पूर्वी चितवनका कुमरोज, कठारमा सावित्री र सावा मन्सुली तथा पश्चिम चितवनमा मुकाबिला जातको धानको बालामा दाना नलागेको उनले जानकारी दिए ।