काठमाडौं । विवादबीच लामो समयदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि तीन उम्मेदवारको नाम सिफारिश भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार बोर्ड अध्यक्ष नियुक्ति सिफारिश समितिले सन्तोष श्रेष्ठ, मुक्तिनारायण श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिश गरेको हो । मन्त्रिपरिषद्को अर्को बैठकले यी तीनमध्ये एक जनालाई अध्यक्ष नियुक्त गर्ने सम्भावना रहेको स्रोतले बतायो ।
यससँगै झन्डै ११ महीनापछि बोर्डमा अध्यक्ष नियुक्त हुने सम्भावना बढेको छ । बोर्डमा अध्यक्ष नियुक्त नहुँदा लामो समयदखि सबैजसो सार्वजनिक निष्कासन (आईपीओ) का स्वीकृति प्रक्रिया अवरुद्ध भएका छन् ।विगतमा दुई व्यावसायिक समूहले आफ्नो स्वार्थअनुरूप अध्यक्ष नियुक्तिमा प्रभाव पार्न खोजेको भन्ने चर्चाबीच संक्षिप्त सूचीमा रहेका पाँच जनामध्ये तीन जना व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी नभएका कारण नियुक्ति प्रक्रिया अवरुद्ध भएको थियो ।
- ११ महीनादेखि बोर्ड अध्यक्षविहीन
- अध्यक्ष नहुँदा आईपीओ स्वीकृति प्रक्रिया अवरुद्ध
- व्यावसायिक स्वार्थको आधारमा अध्यक्ष नियुक्त गर्न खोज्दा नियुक्ति प्रक्रिया विवादमा
तर, आइतवार विगतमा अनुपस्थित तीनमध्ये दुई जना कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी भएपछि अध्यक्ष पदका लागि उम्मेदवार सिफारिश गर्ने बाटो खुलेको हो । डा. नवराज अधिकारी र कृष्णबहादुर कार्की आइतवार कार्ययोजना प्रस्तुतीकरण तथा अन्तरवार्तामा सहभागी भएका हुन् ।
अधिकारी बोर्डकै एक कार्यकारी निर्देशक हुन् भने कार्की नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत हुन् । अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले अर्का उम्मेदवार चिरञ्जीवी चापागाईं भने यसपल्ट पनि अन्तरवार्तामा सहभागी नभएको बताए ।
संक्षिप्त सूचीमा परेका मुुक्तिनारायण श्रेष्ठ र सन्तोष श्रेष्ठले शुरूमै प्रस्तुतीकरण र अन्तरवार्ता दिएका थिए । विगतमा अन्तिम छनोटमा परेका पाँच जना उम्मेदवारको अन्तरवार्ता हुनुअगावै सन्तोष श्रेष्ठलाई अध्यक्ष बनाउने तयारी भइरहेको चर्चा बाहिरिएसँगै पहिलोपटकको अन्तरवार्तामा यी दुई जना मात्र सहभागी भएका थिए । पर्याप्त उम्मेदवार अन्तरवार्तामा सहभागी नभएको भन्दै अघिल्लो पुष्पकमल दाहाल सरकारले बनाएको सिफारिश समितिले नियुक्ति प्रक्रिया खारेज गरेको थियो । त्यसविरुद्ध सन्तोष श्रेष्ठले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका थिए । अदालतले नियुक्ति प्रक्रिया नरोक्ने आदेश दिएसँगै विगतमा अन्तरवार्तामा सहभागी नभएकालाई पुन: सहभागी हुन अनुरोध गरिएको थियो ।
दुई व्यावसायिक समूहले नयाँ स्टक एक्सचेन्जको अनुमतिपत्र पाउन आफूअनुकूल अध्यक्ष नियुक्त होऊन् भन्ने उद्देश्यले राजनीतिक लबिङ गरिरहेको र त्यसको प्रभाव नियुक्ति प्रक्रियामा देखिएको चर्चा त्यसबेला थियो । नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेड गरी तीन कम्पनीको आवेदन परिसकेको छ । यीमध्ये योग्य एक कम्पनीले नयाँ स्टक एक्सचेन्जको अनुमतिपत्र पाउनेछ । यो विवादमा तत्कालीन दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको मतान्तर छताछुल्ल भएको थियो । माओवादी निकट मानिएका उम्मेदवारहरू अन्तरवार्तामा सहभागी भएका थिएनन् ।
गतवर्ष पुस २० गतेदेखि बोर्ड अध्यक्ष पद रिक्त छ । हाल बोर्डमा नेतृत्वदायी भूमिका अर्थ मन्त्रालयका प्रतिनिधि सञ्चालकले निर्वाह गर्दै आएका छन् । गत चैतमा धितोपत्र ऐन संशोधन भएपछिको नयाँ व्यवस्थाअनुसार अर्थ मन्त्रालयबाट बोर्ड सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सहसचिवले नै बोर्ड अध्यक्षको जिम्मेवारी पाएका हुन् । बोर्डमा अध्यक्ष पद रिक्त भएसँगै अर्थ मन्त्रालयका प्रतिनिधि तीनपटक फेरिइसकेका छन् । गत साउन ३ गतेदेखि अर्थ मन्त्रालयका सहसचिव महेश बराल बोर्ड सञ्चालकमा प्रतिनिधिसँगै अध्यक्षको समेत जिम्मेवारीमा छन् । त्यसअघि सहसचिव रीतेशकुमार शाक्य हटेपछि जेठ ८ गतेदेखि सहसचिव नरेन्द्रकुमार रानाले बोर्ड सञ्चालकसँगै बोर्ड अध्यक्षको जिम्मेवारी पाएका थिए ।