काठमाडौं । एनएमबि बैंकले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले चालू आवको पहिलो त्रैमासमा रू. १ अर्ब १४ करोड भन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा १८ दशमलव ९३ प्रतिशत वृद्धि भएको हो ।
सो अवधिमा बैंकले रू. ९६ करोड ३२ लाख नाफा कमाएको थियो । चालू आवमा बैंकको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा बैंकको सञ्चालन नाफा २६ दशमलव ५३ प्रतिशत वृद्धि भएको छ । गत आवमा बैंकको सञ्चालन नाफा रू. १ अर्ब ३८ करोड रहेकोमा चालू आवमा रू.१ अर्ब ७४ करोड भन्दा बढी रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा चालू आवमा १० दशमलव ४२ प्रतिशत घटेको छ । गत आवमा बैंकको खुद ब्याज आम्दानी रू. २ अर्ब २३ करोड रहेकोमा चालू आवमा रू.१ अर्ब ९९ करोडमा सीमित रहेको छ ।
चालू आवमा बैंकको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा प्रतिशेयर आम्दानी २० रुपैयाँ ९८ पैसा रहेकोमा चालू आवमा बढेर २४ रुपैयाँ ९५ पैसा पुगेको छ ।
पहिलो त्रैमासमा बैंकको वितरण योग्य नाफा रू. १ अर्ब ६ करोड भन्दा बढी रहेको छ । चुक्ता पूँजी रू. १८ अर्ब ३६ करोड रहेको बैंकले पहिलो त्रैमासमा जगेडामा रू. १० अर्ब ८६ करोड र रिटेन्ड अर्निङमा रू. १ अर्ब ६ करोड भन्दा बढी सञ्चिती गरेको छ । सो अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव ९५ र मूल्य आम्दानी अनुपात ११ दशमलव २२ गुणा रहेको छ ।