काठमाडौं। सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्याएबापत वन्दना शर्मालाई यो वर्षको ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ प्रदान गरिएको छ । हालै सम्पन्न आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले कार्यक्रममा उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले संयुक्तरूपमा शर्मालाई अवार्ड प्रदान गरेका थिए । नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले अवार्डसँगै ३ लाख रूपैयाँ नगद पुरस्कार समेत पाएकी छिन् । यो वर्षको एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता शर्मा सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशील महिला हुन् ।
यसअघि सन् २०२३ मा सुनैना घिमिरे पाण्डे, २०२२ शीला कंसाकार कार्की, २०२१ मा गुणकेशरी प्रधान र २०२० मा तिमिला यमी ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’बाट सम्मानित भएकी थिइन् । यो अवार्डबाहेक एनसेल फाउन्डेशनले सूचना प्रविधिको पाटोमा विशेष गरी शिक्षा, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्य गर्दै आएको बताइएको छ ।
‘महिलालाई सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन र यस क्षेत्रमा उनीहरूको योगदानको कदर गर्न यो सहकार्यलाई निरन्तरता दिन पाएकोमा हामी खुशी छौं, विजेता शर्मा लगायत सम्मानित भएका उत्कृष्ट संस्था, स्टार्टअप र व्यक्तित्व सबैलाई बधाई छ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।