काठमाडौं। सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत तेस्रो प्रतियोगिता ‘सूर्य नेपाल इस्टर्न ओपन’को दोस्रो दिन निरज तामाङले सात स्ट्रोकको फराकिलो अग्रता बनाएका छन् । घरेलु कोर्समा निरज बिहीवार ४ अन्डर ६६ को कार्ड बनाउँदै कुल १२ अन्डर १२८ को आकर्षक नतीजासहित शीर्षस्थानमा कायमै रहेका छन् ।
प्रतियोगितामा विष्णु शर्मा समग्रमा ५ अन्डर १३५ सहित दोस्रो स्थानमा उक्लिएका छन् । घरेलु प्रो बलभद्र राई र भुवनकुमार रोक्काले ४ अन्डर १३६ को स्कोरमा संयुक्त रूपमा तेस्रो स्थान बाँडेका छन् । समग्रमा १ अन्डर १३९ सहित धनबहादुर थापा पाँचांै, रवि खड्का र रामे मगर इभन–पार १४० को स्कोरमा छैटौं स्थानमा छन् ।
५४ होलको प्रतियोगितामा कुल ८ लाख ८२ हजार नगद पुरस्कार राशी रहेको बताइएको छ । विजेताले उपाधिसँगै १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने र दोस्रो तथा तेस्रो हुने खेलाडीले क्रमश: १ लाख र ७५ हजार नगद प्राप्त गर्नेछन् ।