विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सार्वजनिक खरीद ऐन र कानूनी प्रक्रिया झन्झटिलो भएकाले कतिपय विकास निर्माणका कामलाई गति दिन नसकिएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया’ कार्यक्रममा मुख्यमन्त्री कार्कीले जनताले फास्ट ट्र्याकबाट काम चाहेको, तर खरीद ऐन र कानूनलाई सच्याउन नसक्दा समस्या भएको बताए ।
कतिपय कानून झन्झटिला रहेको चर्चा गर्दै उनले ऐन, कानून र प्रक्रिया सजिलो बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याए । समाजमा इमानदार मानिस धेरै रहेको, तर केही खराब मानिसले गरेको एउटा खराब कामलाई ठूलो रूपमा प्रचार गर्दा समस्या उत्पन्न भइरहेको उनले बताए । ‘नकारात्मक भावनाको विकास भएको छ, राम्रो काम देख्दै नदेख्ने, तर एउटा खराब कामलाई लिएर प्रचार गर्ने प्रवृत्ति छ,’उनले भने ।
अख्तियारले गरेका कामको समेत समीक्षा गर्ने बेला भएको उनले बताए । ‘हामी जनप्रतिनिधिको कामको समीक्षा गछौं, अब अख्तियारले पनि आफ्नो कामको समीक्षा गर्नुपर्छ,’ उनले भने । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू, नगरपालिकाका प्रमुख, उप्रमुखहरू, कर्मचारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा आयोगका पदाधिकारी तथा कर्मचारीले आयोगको काम कर्तव्यका बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सभापतित्व आयोगका आयुक्त डा. हरि पौडेलले गरेका थिए ।