काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक यही चैत २७ गते १२ औं वार्षिक साधारण सभा बोलाएको छ । गत मंगलवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल पिस प्यालेस, बाग्लुङमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।
यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ८७ लाख २२ हजार रुपैयाँका आधारमा ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३०२७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । बोनस शेयर वितरणपछि कायम हुने ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँको आधारमा १ बराबर १ दशमलव १०७१ को अनुपातमा हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा चैत १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।