काठमाडौं । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाले फागुन मसान्तसम्म ३७ लाख ४२ हजार रुपैयाँभन्दा बढी नाफा गरेको छ ।
माघ मसान्तसम्म ४० लाख ४९ हजार रुपैयाँभन्दा बढी नाफा गरेको योजनाले फागुनमा भने कम नाफा गरेको हो । यो महीना आम्दानी बढे पनि खर्चसमेत बढेकाले नाफामा कमी आएको हो ।
माघ मसान्तसम्म १ करोड ३५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले फागुन मसान्तसम्म १ करोड ७२ लाख २ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको हो । त्यस्तै माघ मसान्तसम्म ९४ लाख ९९ हजार रुपैयाँभन्दा बढी खर्च गरेको योजनाले फागुन मसान्तसम्म भने १ करोड ३४ लाख रुपैयाँभन्दा बढी खर्च गरेको हो ।
१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना २०८१ पुस १८ गतेदेखि सञ्चालनमा छ । योजना सञ्चालनका लागि योजना व्यवस्थापकले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । फागुन मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य १० रुपैयाँ ३ पैसा रहेको छ । प्रति इकाई खुद सम्पत्ति मूल्य भने स्थिर रहेको छ ।
धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले फागुन मसान्तसम्म ६४ करोड ५० लाख ९८ हजार रुपैयाँभन्दा बढी धितोपत्रमा लगानी गरेको छ । यो लगानीको बजार मूल्य भने ६४ करोड ५७ लाख ६८ हजार रुपैयाँभन्दा बढी छ । यस अवधिसम्म योजनाले बैंक मुद्दति निक्षेपमा १८ करोड रुपैयाँ लगानी गरेको छ ।