माननीय सदस्यज्यूहरू !
शान्त रहनुहोस् । हामी विश्वास दिलाउँछौं कि सरकार किन गर्मी बढिरहेको भनेर छानबिन गर्न संसदीय छानबिन समिति बनाउन तयार छ । अहिले देशमा संसद्भित्र र बाहिर रवि र सूर्य हावी भएर जुन गर्मी बढिरहेको छ, त्यो किन र कसरी बढिरहेको छ ? यो घण्टी धेरै बजाउँदा सूर्य हामीतिर धेरै फर्केकाले हो कि रुखका हाँगा जम्मै उल्टोतिर सर्केकाले हो ? वा यसमा कुनै छिमेकीको हात छ कि कोही विदेशीको साथ छ ? कि सबैलाई माथ दिने गाथगद्दीको फसाद छ ?
पहिले हामीले यो पत्ता लगाउन जरुरी छ कि देशमा साँच्चै गर्मी बढेको हो वा सहकारीका विधर्मीहरूले बढाएको हो ? कि हाम्रा माननीय सदस्यहरूलाई कुनै भ्रम परेको हो ? आखिरमा हाम्रा माननीय सदस्यहरू गर्मीको सम्पर्कमा आए त कसरी आए ? जब कि हामीले संसद्देखि मन्त्री क्वार्टरसम्म, कारदेखि कारागारसम्म जम्मै ठाउँमा एसी फिट गद्र्या छौं, ता कि हाम्रा माननीय सदस्यहरूको आँतमा सूर्यको ताप अर्थात् गर्मीको राप नपरोस् । यसको बिजुलीको बिल पनि सर्खारले नै तिदिर्ने गरेकै छ । माननीय सदस्यज्यूहरूको खल्तीलाई सरकारले र सदनले कहिले पनि खतरामा पार्ने गरेको छैन । यदि माननीय सदस्यहरूलाई कुनै कुरा थाहा पाउनुपर्यो भने पत्रपत्रिका पढेर थाहा पाइ नै हाल्नुहुनेछ । मिडियाको पनि यो कर्तव्य हुन आउँछ कि शेयर बजार, राशीफल, ३५ दिने घरजग्गा लिलामीको सूचना आदि कुरा छाप्ने बाहेक मौसम पर्यावरणजस्ता विषयमा पनि लेखिदिएर हाम्रा राज्यका दुई महत्त्वपूर्ण अंग व्यवस्थापिका र कार्यपालिकाका माननीयज्यूहरूलाई खतरा पर्ने कुराबाट जोगाउनुपर्छ ।
फेरि यो ग्लोबल वार्मिङको मौसममा सूर्यसँगै अर्को चर्को रवि थपिएपछि देशमा गर्मी त बढ्ने नै भयो, सबैको पारो चढ्ने नै भयो । तर यो पारो सूर्यको राप हो वा सहकारी ठगहरूले ल्याएको ताप हो भन्ने बारेमा हामी छानबिनका लागि पनि एउटा आयोग गठन गर्ने प्रतिबद्धता जनाउँछौं । आयोगले सके सुनपानी छर्कनेछ । अरू केही गर्न नसके पनि कुनै पनि मुद्दालाई पछाडि धकेल्न सकेको मद्दत गर्ने नै छ ।
आयोगमा सबै दलका सदस्यहरू चुनिनेछन्, जसका लागि विशेष भत्ताको व्यवस्था त हुन्छ नै । र, सहकारीको भन्दा पनि सूर्यको ताप जाँच पड्ताल गर्नका लागि यदि कुनै सदस्य कहीँ यात्रा गर्न चाहन्छ भने उसका लागि त्यसको समेत अनुमति दिइनेछ । उनीहरूले चाहे भने एसी रकेटमा सूर्यसम्म नै पुग्न सक्छन् । भलै अहिलेसम्म मानिस केवल चन्द्रमासम्म मात्र पुग्न सकेको छ । मानिस कहिले सूर्यसम्म पुग्न सक्छ, अहिले नै भन्न सकिन्न । हाम्रा आयोगहरूको कार्यकाल अनन्तकालसम्म रहने हुँदा सूर्यमा पुग्नका लागि कार्यकालको वा समयको अभाव रहनेछैन । स्रोतको पनि कमी छैन । किनकि हाम्रो प्रशासन यन्त्रले आयोगहरूलाई तलबभत्ता बाहेक यात्रा र जात्राहरूका लागि आम्दानीका अनेक आयाम दिने गरेकै छ ।
यो ग्लोबल वार्मिङको मौसममा सूर्यसँगै अर्को चर्को रवि थपिएपछि देशमा गर्मी त बढ्ने नै भयो, सबैको पारो चढ्ने नै भयो । तर यो पारो सूर्यको राप हो वा सहकारी ठगहरूले ल्याएको ताप हो भन्ने बारेमा हामी छानबिनका लागि पनि एउटा आयोग गठन गर्ने प्रतिबद्धता जनाउँछौं । आयोगले सके सुनपानी छर्कनेछ । अरू केही गर्न नसके पनि कुनै पनि मुद्दालाई पछाडि धकेल्न सकेको मद्दत गर्ने नै छ ।
हाम्रो संसद्मा, शासन, प्रशासनमा कामभन्दा कुरा धेरै महत्त्वपूर्ण हुन्छन् अर्थात् प्रश्नहरू धेरै महत्त्वपूर्ण हुन्छन् । तर प्रश्नहरूभन्दा पनि महत्त्वपूर्ण त जवाफ हुन्छन् । तर हाम्रो परम्परा यो रहिआएको छ कि प्रश्न सोध्न पाइँदैन, तर जवाफ भने दिन पाइन्छ । यदि जवाफ पनि चाहिने हो भने फेरि प्रश्न सोध्न पाइन्न । यो हाम्रो संसदीय मौलिक परम्परा हो । यसमा कुनै दलले वा कुनै माननीय सांसदले रातो तातो वा गर्मी देखाएर खासै केही उपलब्धि हुनेवाला छैन । त्यसैले विपक्षीले सदनमा जतिसुकै गर्मी देखाए पनि कसैलाई रोस्टममा जानबाट रोके पनि नतीजा केही निस्कनेवाला छैन । सत्ता जोगाउने, भत्ता पचाउने, उमेर पकाउने, युवा थकाउने, बूढाखाडा झकाउने काम सनातन चलिरहनेछ ।
माननीय सदस्यहरू !
हामी जनताका प्रतिनिधि हौं र उनीहरूको हितप्रति हामी सधैं सजग हुनुपर्छ, चाहे संसदभित्र होस् या सडक बाहिर । सदनभित्र त सदस्यज्यूहरूका हितका खातिर थुप्रै सुविधाको व्यवस्था गरिएकै छ । सडक र शहरप्रति पनि हामी त्यत्तिकै जिम्मेवार छौं । गाउँमा त खासै जनता पनि बस्दैनन् र त्यहाँ त्यत्ति समस्या पनि छैनन् । त्यसैले हामीले सरकारी संयन्त्रलाई यो आदेश दिएका छौं कि यो गर्मीमा देशैभरिका गाउँगाउँका कुनाकुनासम्म प्रत्येक पसलमा पानीका बोटल, कोक, फन्टा, पेप्सी, जुस आदिको विनाअवरोध सहज आपूर्ति होस्, गुणस्तर–सुणस्तरको कुराले कुनै अवरोध नगरोस् । त्यसैका लागि त देशैभर प्राय: ठाउँहरूमा सडक सञ्जाल बिछ्याइसकिएको छ । गरीबीका रेखामुनि रहेका केही सीमित जनताका लागि धारा पधेंराहरू धेरै नभए पनि प्राय: गाउँमा खोला, नाला, नहर, कुलो, कुलेसा आदि त छँदै छन् पानीका लागि । काठमाडौं जस्ता शहरमा समेत पानीको व्यवस्था सहज गर्न मेलम्ची खानेपानी आयोजनालाई कम्तीमा चार पाँचपटक त शिलान्यास, उद्घाटन आदि गरिसकिएकै छ ।
यसरी सरकारले यति गम्भीर ढंगले काम गरिरहेको परिप्रेक्ष्यमा पनि यदि कसैले मौनता तोडेर, सरकारलाई सहकारीसँग जोडेर प्रश्न मात्र उठाइरहन्छ भने कसैले हामीमाथि षड्यन्त्र रचिरहेको छ र विनाकाममा देशमा गर्मी बढाउने दुष्प्रयास गरिरहेको छ । यसको सरकारले सघन छानबिन गर्नेछ र त्यसको प्रतिवेदन सदनको रोष्टममा ल्याएर बजार्नेेछ । त्यस प्रतिवेदनका आधारमा सरकारले सम्बन्धित विपक्षीहरूलाई गम्भीर कारबाही गर्नेछ । किनकि देशैभरि गर्मी बढेको रहेछ भने पनि त्यो सहकारी ठगहरूका श्राप वा सूर्यको तापले नभै देशैभरि जताततै सबै क्षेत्रमा डँढेलोका कारण रुख सखाप भएर नै हो भन्ने माननीय सदस्यहरूलगायत सम्बन्धित सबैलाई जानकारी गराउँछौं ।